बैशाख ५ काठमाण्डौँ । नेपालमा एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा मलेशियाले नेपाललाई २३६ रनको चूनौती दिएको छ । टस जितेर ब्याटिङ गरेको मलेशियाले नेपाललाई पुरै ५० ओभरमा ९ विकेटको क्षतिमा २३५ रन जोडेर उक्त चूनौती दिएको हो ।
नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले समान तीन तीन विकेट लिँदा ललित राजवंशीले २ विकेट लिए । त्यसै गरी गुल्सन झाले एक विकेट लिए ।
मलेशियाका लागि अहमद फैजले सर्वाधिक ७६ रन जोडे भने भिरान्दीप सिंहले ४६ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले उल्लेख्य रन बटुल्न सकेनन् ।
अब नेपालले केही बेरमा जवाफी व्याटिङ गर्नेछ ।
यो प्रतियोगिता वैशाख ५ देखि वैशाख १८ सम्म कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदानमा हुनेछ । जसमा नेपाल समूह ‘ए’ मा परेको छ। नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन्। समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्।
नेपालले दोस्रो खेल ओमानसँग वैशाख ८ मा त्रिविमा, तेस्रो खेल मुलपानी मैदानमा साउदी अरेबियासँग वैशाख ११ गते र अन्तिम खेल वैशाख १४ गते कतारसँग त्रिवि मैदानमा खेल्नेछ।
समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल वैशाख १६ र फाइनल वैशाख १८ गते हुनेछ। प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ।
एसिया कपमा एसियाका ५ टेस्ट राष्ट्र र एसिसी प्रिमियर कपको विजेताबीच प्रतिस्पर्धा हुनेछ। एसिया कपको समूह ‘ए’ मा भारत, पाकिस्तान र प्रिमियर कप विजेता तथा समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ।