चैत्र २८ काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको अर्को अडिओ सार्वजनिक भएको छ।
यसअघि आइतबार उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएको थियो। लगत्तै भोलिपल्ट सोमबार उनले सोही प्रसंगमा कुराकानी गरेको अर्को भिडिओ टेप सार्वजनिक भएको हो।
दोस्रो अडिओ पनि कपुरबोट डटकमले सार्वजनिक गरेको हो।
जसमा ढाकाकुमारले दुर्गा प्रसाईंको समूहमा रहेका यदु गौतमलाई फोन गरी आफूलाई बचाइदिन अनुरोध गरेका छन्।
‘दुर्गाजीले मेरो अडिओको बारेमा बोलिदिनुभयो भने सकारात्मक सन्देश जान्थ्यो, केही सहज हुन्थ्यो कि भन्ने कुरा हो। तपाईंले मध्यस्थता गरिदिनुहुन्थ्यो कि भन्ने कुरा क्या सर’, अडिओमा ढाकाकुमारले भनेका छन्, ‘अब यो नहुने कुरालाई बढाएर के फाइदा ? ’
उनीसँग फोनमा बोल्ने व्यक्तिले भने अहिले आफू गाडीमा भएको र यस विषयमा पछि कुरा गरौँला भन्दै फोन राख्छन्।
सार्वजनिक अडिओमा ढाकाकुमारका भाइ भन्ने व्यक्तिले दुर्गा प्रसाईंलाई फोन गरेको कुराकानी पनि छ।
ढाकाकुमारका भाइ भन्ने व्यक्तिले दुर्गा प्रसाईंलाई भनेका छन्, ‘दाइलाई अब पार्टीले कारबाही गर्ने भयो, सांसद पद जाने भयो ’
यसपछि प्रसाईंले भनेका छन्, ‘यसमा मैले के गर्नुपर्छ त भन्नु न ? प्रसाईंले अगाडि भनेका छन्, ‘मैले अघि एउटा अन्तर्वार्तामा पनि भनेँ, माग्ने ढाकाकुमार श्रेष्ठको गल्ती होइन। माग्न लाउनेको पो गल्ती हो त। बरु मैले कसरी सहयोग गर्न सक्छु भन्नु न ’
ढाकाकुमारका भाइ भन्ने व्यक्ति भन्छन्, ‘जे भए पनि दाइले बीचमा पारे क्यार लाटोसोझो मान्छेलाई बीचमा पारे। हजुरले बुझिदिनुपर्यो। दाइले एकपटक भेट्ने भन्नुभएको छ।’
यो दोस्रो अडियो पनि सार्वजनिक भएपछि रास्वपाका सांसदको बचाउ प्रयास लगभग असफल हुने देखिएको छ । उनलाई अख्तियारले पनि अनुसन्धान गर्ने बुझिएको छ ।