चैत्र २४ काठमाण्डौँ । विदेशमा ज्यान गुमाएका नेपालीहरूका परिवारलाई बिमावापतको रकम उपलब्ध गराइदिन्छु भन्दै आधाभन्दा बढी रकम आफैं खाने गिरोहका ६ जना पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा सर्लाहीका रूद्रमान गोले, प्रकाशबहादुर गोले, रवीन्द्र मोक्तान, विनोदकुमार लामा, डिकबहादुर मल्ल र काभ्रेका रामबहादुर तामाङ छन्।
आफूहरू ठगिएको भन्दै दुई जनाले प्रहरीमा उजुरी गरेपछि कार्यालयले अनुसन्धान सुरू गरेको थियो। अभियुक्तहरूलाई काठमाडौंको गोंगबुबाट पक्राउ गरिएको हो।
उनीहरूले वैदेशिक रोजगारीमा ज्यान गुमाएका वा विदामा नेपाल आउँदा ज्यान गुमाएका व्यक्तिको परिवारलाई भेटी बिमा रकमका लागि प्रक्रिया सुरू गर्थे।
कार्यालयका प्रमुख एसएसपी मनोज केसीका अनुसार गिरोहका सदस्यहरू विदेशमा मृत्यु भएका व्यक्तिको शव आउने दिन विमानस्थलसम्म पुग्थे र बिमाको रकम उपलब्ध गराइदिने आश्वासन दिन्थे।
परिवारका सदस्यलाई उनीहरूले काठमाडौंका होटलमा राख्थे र सबै कागजात आफैंसँग लिएर बिमाको प्रक्रिया अघि बढाउँथे।
‘बीमा बापत आउने रकमको आधा भन्दा बढी पैसा उनीहरुले आफै खाने गरेका थिए ।
यो गिरोहसँग वैदेशिक रोजगार विभागका कर्मचारीको समेत मिलेमतो हुने गरेको देखिएको छ ।
विभागका सुब्बा पशुपति अधिकारीले कसको शव कहिले आउँदैछ भन्ने जानकारी गिरोहका सदस्यहरूलाई दिन्थे।
त्योबापत् यो गिरोहले एक जनाको शव आउँदा अधिकारीलाई २५ हजार रुपैयाँसम्म पैसा दिने गरेको खुलेको छ ।
अधिकारीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।