चैत्र २४ सुर्खेत । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले माओवादीको एजेण्डामा देश हिँडे पनि पार्टी कमजोर भएको विषयमा गंभीरतापूर्वक सोच्नु पर्ने बेला आएको बताएका छन् ।
आज बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै शर्माले सबैभन्दा पहिला माओवादीभित्रको बेरोजगारी अन्त्य गर्नुपर्ने बताए ।
‘पहिले माओवादी भित्रको बेरोजगारीलाई अन्त्य गरेर मात्रै हाम्रो समग्र देशको बेरोजगारीको अन्त्य गर्न सक्छौँ,’ उनले भने, ‘पार्टीभित्रको बेरोजगारी अन्त्य गर्नका लागि सबै नेता, कार्यकर्ता उत्पादनमा जोडिनुपर्ने हुन्छ । यो बाहेक माओवादीसँग अर्को विकल्प छैन ।’ शर्माले माओवादी कुनै सेल कमिटी नरहेकाले अब उत्पादनको सेल कमिटी हुनुपर्ने बताए । उनले थपे,‘कुनै पालिका कमिटी होइन माओवादी, पालिकाको उत्पादन कमिटी हुनुपर्छ भन्ने बुझाइलाई आत्मसात् गर्नुपर्ने छ ।’
कर्णाली प्रदेश सरकार पनि केन्द्रको समीकरण अनुसार हुने शर्माको भनाई छ । कर्णालीमा अहिले माओवादी र एमालेको सरकार रहेको छ ।
अब एमाले हटेर काँग्रेससँग मिलेर सरकार बन्न सक्ने शर्माले संकेत दिएका छन् ।