चैत्र १६ काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विषयमा दुई हप्ता भित्र निर्णय हुने बताएका छन्।
भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यासपछि बोल्दै प्रधानमन्त्री प्रचण्डले तत्कालै नयाँ निर्णय गरेर रंगशाला बनाउन थाल्ने बताए ।
कलाकार सीताराम कट्टेल ‘धुर्मुस’को नेतृत्वमा धुर्मुस–सुन्तली फाउण्डेशनले बनाएको रंगशालाको काम २०७८ सालको साउन देखि रोकिएको छ। करिब १८ करोड रुपैयाँ उधारो तिर्न नसकेपछि कट्टेलले भरतपुर महानगरपालिकालाई रंगशालाको स्वामित्व हस्तान्तरण गरेका थिए।
तर उक्त उधारो कसरी तिर्ने भन्ने विषयमा अन्यौल हुँदा निर्माणको काम अघि बढ्न सकेको छैन ।
उनले खेलप्रतिको बढ्दो आकर्षण र नेपाली खेलाडीहरूले देखाएको स्तरीय प्रदर्शनका कारण पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला छिट्टै निर्माण गर्न दबाब परेको बताइन्।