चैत्र १४ काठमाण्डौँ । नेपालले तुलनात्मक रुपमा कमजोर मानिएको र सँधै बिजय हाँसिल गर्दै आएको भुटानसँग आज मुस्किलले हार टारेको छ । प्रधानमन्त्री थ्री नेसन्स कपको लिग चरणको दशरथ रंगशालामा भएको अन्तिम खेलमा नेपालले भुटानसँग १–१ को बराबरी खेलेको हो । हारको संघारमा रहेको नेपालका लागि दीपकराज सिंह ठकुरीले ९० औं मिनेटमा गोल गरे ।
निशान खड्काको कर्नरमा अनन्त तामाङले सिर्जना गरेको अवसरमा दीपकराजले गोल गरे । यसअघि नेपाल र भुटानबीच १२ खेल भएका थिए । ती सबै खेलमा नेपाल विजयी रहेको थियो । लिग चरणका तीनै खेलको समाप्तीमा नेपाल ४ अंकमा शीर्ष स्थानमा रह्यो । यस नतिजाका कारण भुटान प्रतियोगिताबाट बाहिरिएको छ भने लाओस फाइनल पुगेको छ । लाओसको ३ अंक भयो भने भुटान एकै अंकमा सीमित रह्यो ।
भुटानले १९ औं मिनेटमा अग्रता लिएको हो । दावा छिरिङको कर्नरमा तेन्जिङ नोर्बुले गोल गरे ।
अञ्जन ५१ औं मिनेटमा घाइते हुँदै मैदान छाड्न बाध्य रहे । उनी पहिलो खेल पनि खेल्न असमर्थ रहेका थिए ।
अब बिहिबार नेपालले उपाधीका लागि लाओस बिरुद्ध खेल्नेछ ।