काठमाडौँ चैत्र ३ । युएईलाई अन्तिम खेलमा पराजित गर्दै विश्वकपमा छनौट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी तथा प्रशिक्षकलाई प्रधानमन्त्रीले सम्मान गरेका छन् । हिजो क्रिकेट हेर्न कीर्तिपुर मैदान पुगेका प्रधानमन्त्रीले आज निवासमै बोलाएर सम्मान गरेका हुन् ।
सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रङ्गशाला निर्माण कार्य तीव्र पार्ने प्रतिबद्धता जनाएका छन् ।
‘कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लडलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशित गर्दछु,’ विजेता खेलाडीहरूलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले भने, ‘यस सन्दर्भमा मूलपानी, चितवन लगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रङ्गशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्दछु।’
प्रधानमन्त्री प्रचण्डले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरूलाई जनही तीन लाख राशिको पुरस्कार घोषणा समेत गरेका छन्।
खेलाडीहरूलाई सम्मान गर्दै प्रधानमन्त्रीले भने, “मलाई अत्यन्त खुसी लागेको छ। हिजो तपाईंहरूले जसरी प्रदर्शन गर्नुभयो, त्यसबाट तपाईंहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ। देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ। आगामी दिनमा समेत तपाईंहरूको प्रदर्शन थप राम्रो होस्, म अग्रिम शुभकामना व्यक्त गर्दछु।”