चैत २, काठमाडौँ । उपराष्ट्रपति निर्वाचनबारे समझदारी कायम गर्न १० दलको बैठक आज पुनः बस्दै छ । बुधवार साझ बसेको बैठकमा सहमती कायम हुन नसकेपछि आज फेरी बस्न लागेको नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले जानकारी दिए ।
बैठकमा उपराष्ट्रपति निर्वाचनमा १० दलबीच समझदारी कायम गर्ने विषयमा छलफल हुनेछ । बुधवारको छलफल सकारात्मक भएको र आज यो विषयमा बसेर एउटा धारणा बनाइने नेता बस्नेतले बताए । छुट्टाछुट्टै छलफल गरेर आवश्यकताअनुसार समूह समूहमा पनि छलफल गर्ने सहमती भएको थियो ।
शुक्रबार हुने उपराष्ट्रपति निर्वाचनका लागि गठबन्धनबाट ३ र एमाले तर्फबाट १ उम्मेदवार छन् । सत्ता साझेदार दल जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव, प्रमिलाकुमारी यादव, जनमतबाट ममता झा र एमालेबाट अष्टलक्ष्मी शाक्य उपराष्ट्रपतिका उम्मेदवार छन् । उपराष्ट्रपतिको निर्वाचन भोलि शुक्रबार हुँदैछ ।
शुक्रबार हुने उपराष्ट्रपतिको निर्वाचनमा राष्ट्रपतिको निर्वाचनमा जस्तै संघीय संसदका ३३४ र प्रदेश सभाका ५५० सांसदहरुले मतदान गर्नेछन् तर केन्द्र र प्रदेशका सांसदले दिएको मतभार भने बराबरी हुने छैन ।
दुई तहका सांसदहरुको मतभार छुट्टाछुट्टै निर्धारण गरिएको छ । संघीय संसदको एक जना सांसदले दिएको एक मतलाई ७९ मत र प्रदेशसभाका एक सांसदले दिएको मतलाई ४८ मत गणना गरिने छ । प्रतिनिधि सभाका २ सय ७५ र राष्ट्रियसभाका ५९ गरी संघीय संसदमा ३ सय ३४ सदस्य छन् ।
नेपाली कांग्रेसका सांसद रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि अघिल्लो चुनावभन्दा मतभार कम हुने छ । सोही दलका सांसद टेकबहादुर गुरुङ निलम्बित हुनुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको सांसद पद पनि खारेज हुँदा प्रतिनिधिसभाको २ सिट रिक्त छ ।
निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि ८ सय ८२ जना मतदाताको नाम सार्वजनिक गरेको छ । प्रतिनिधि सभाका हाल भएका २७३ र राष्ट्रिय सभाका ५९ सदस्य गरी कुल ३ सय ३२ संघीय संसदका सदस्य रहने छन् । प्रतिसांसद ७९ मतले हिसाब गर्दा केन्द्रीय संसदबाट उपराष्ट्रपतिलाई खस्ने कुल मत २६ हजार २ सय २८ हुन्छ । यस्तै प्रदेश सभाबाट ५९ सासंदलाई प्रति सांसद ४८ ले हिसाब गर्दा उपराष्ट्रपतिलाई खस्ने मत २६ हजार ४ सय छ ।
प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी संघीय संसद्का ३ सय ३२ र प्रदेश सभाका ५ सय ५० जना मतदाताहरूको सबै मत भार जोड्दा ५२ हजार ६ सय २८ हुन्छ । उपराष्ट्रपतिमा निर्वाचित हुन कुल योग्य मतदाताको मतभारको बहुमत आवश्यक हुने कानूनी व्यवस्था छ ।
उपराष्ट्रपति पदमा निर्वाचित हुन २६ हजार ३ सय १५ मत आवश्यक पर्छ । तर कुनै पनि उम्मेदवारले बहुमत नल्याएको अवस्थामा बढी मत ल्याउने दुई उम्मेदवारबीच पुनः मतदान गर्नुपर्ने हुन्छ ।