चैत्र १ काठमाण्डौँ । पछिल्लो समय नेपाली राष्ट्रिय क्रिकेट टोलीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालको बरियतामा उल्लेख्य सुधार भएको छ । नेपाल आईसीसीको शीर्ष १६ स्थानमा उक्लिएको छ । यस अघि नेपाल १९ औँ स्थानमा रहेको थियो ।
आइसिसी पुरुष विश्वकप लिग– २ अन्तर्गत स्कटल्यान्ड र नामिबियाविरुद्धको सिरिजअघिसम्म नेपाल १९औँ स्थानमा थियो।
नेपालले सो सिरिज क्लिनस्विप गरेको थियो भने लगत्तै युएईमा युएई र पपुवा न्युगिनी सम्मिलित सिरिजका चारमध्ये तीन खेल जितेको थियो। नेपालमै अहिले चलिरहेको सिरिजका तीनमध्ये तीनै म्याच नेपालले जितिसकेको छ।
स्कटल्यान्ड र नामिबिया सम्मिलित सिरिजपछि नेपाल १७औँ स्थानमा उक्लिएको थियो । त्यसमा थप सुधार गर्दै नेपाल १६औँ स्थानमा उक्लिएको छ। लिग– २ मा नेपालले पछिल्लोपटक उत्कृष्ट प्रदर्शन गरिरहेको छ। पछिल्ला ११ खेल खेल्दा १० मा जित निकालेको छ।
एसोसिएट राष्ट्रहरूमध्ये सबैभन्दा राम्रो अवस्था स्कटल्यान्डको छ। स्कटल्यान्ड १२औँ स्थानमा छ । नेदरल्यान्ड्स १४औँ र ओमान १५औँ स्थानमा छन् । ओडिआई वरीयतामा भारत शीर्ष स्थानमा छ । इंग्ल्यान्ड दोस्रो, पाकिस्तान तेस्रो, दक्षिण अफ्रिका चौथो तथा न्युजिल्यान्ड पाँचौँ स्थानमा छन्।