२९ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु मा पपुवा न्युगिनी (पीएनजी) ले नेपाललाई ९६ रनको लक्ष्य दिएको छ । सोमबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले निर्धारित ३२ ओभरमा अलआउट हुँदै ९५ रन बनाएको हो ।
नेपालका सन्दीप लामिछानेले १० ओभरमा २५ रन खर्चिएर सर्वाधिक ५ विकेट लिए भने ललित राजवंशी र कुशल मल्लले २र२ विकेट लिएका छन् । त्यस्तै सोमपाल कामीले १ विकेट लिए ।
पीनएनजीका लागि कप्तान असद भालाले बनाएको २० रन नै व्यक्तिगत उच्च स्कोर रह्यो । सेस बाउ १८, चार्ल्स अमिनी १६ र हिरी हिरी १४ रन बनाएर आउट भए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
ललित राजवंशीले चौथो ओभरमा किपलिन डोरिगालाई बोल्ड गर्दै नेपाललाई सफलता दिलाएका थिए ।
अर्को ओपनर हिरी हिरीलाई सोमपाल कामीले छैटौं ओभरमा करण केसीबाट क्याचआउट गराएपछि पीएनजी १७-२ को स्थितीमा पुग्यो ।
कप्तान भाला र सेसे बाउले इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । तर २०औं ओभरमा सन्दीप लामिछानेले भालाई ललित राजवंशीबाट क्याचआउट गराउदै ३२ रनको साझेदारी तोडे ।
त्यसपछि ललितले रिले हेकुरेलाई कट एन्ड बोल्ड गरे । त्यसपछि पीएनजीले लगातार विकेट गुमायो । सन्दीपले चार्ल्स अमिनीलाई फेरि ललितबाट क्याचआउट गराए ।
नर्मन भानुअलाई कुशल मल्लले दीपेन्द्र ऐरीबाट क्याचआउट गराए । भानुअले खातासमेत खोलेनन् । सन्दीपले हिला भारेलाई ७ रनमै बोल्ड गरे । त्यसपछि कुशलले बकुअ मोरेअलाई भिम शार्कीबाट क्याचआउट गराए ।
पीएनजीलाई अलआउट गर्न नेपालका लागि सन्दीप लामिछाने १० ओभरमा १ मेडन राख्दै २५ रन खर्चेर सर्वाधिक ५ विकेट लिए ।
ललितले ७ ओभरमा १ मेडन राख्दै १३ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले ३ ओभरमा १ मेडन राख्दै ६ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ५ ओभरमा २ मेडन राख्दै २२ रन खर्चेर १ विकेट लिए ।
आइतबार भएको यूएईसँगको खेलमा नेपालले १७७ रनको फराकिलो जित हात पारेको थियो । उक्त जितसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम गरेको छ । गत बिहीबार नेपालले पपुवा न्यु गिनीलाई ५२ रनले पराजित गरेको थियो ।नेपालले बिहीबार यूएईसँग खेल्दै छ ।