बिराटनगर, फागुन २१ गते । १ नम्बर प्रदेशका सुनसरी, उदयपुर र धनकुटा जिल्ला तिन छुट्टाछुट्टै स्थानबाट ठुलो परिणाममा नियन्त्रीत लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरी पक्राउ गरेको छ । उदयपुरको कटारी नगरपालिका-१ कालिखोला एरियामा लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले मिर्चैया नगरपालिका-४ सिराहाका २२ बर्षीय ललित सिंहलाई गाँजा सहित शनिवार दिउँसो पक्राउ गरेको हो । प्रदेश २-०१-००१ प १५२६ नम्बरको स्कुटरमा सवार रहेका सिंहलाई रोकेर चेकजाँच गर्ने क्रममा सिंहको साथबाट प्रहरी २२ केजी लागुऔषध गाँजा बरामद गरेको हो ।
यसैगरी वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका-१३ बाट साँढे ४१ केजी गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । गाँजाको ओसार भईरहेको भन्ने सूचना पाए संगै तत्काल खटिएको प्रहरी टोलीले धनकुटाबाट धरान तर्फ आउँदै गरेको बा १३ च २६८ नम्बरक कारलाई रोकेर चेकजाँच गर्ने क्रममा कार भित्र लुकाई छिपाई राखिएको अवस्थामा गाँजा बरामद भएको थियो । कारबाट गाँजा बरामद भएसंगै कार चालक धरान-१६ का ४० बर्षीय सुकेन्द्र लिम्बु र कारमा सवार रहेका पाख्रिवास ९ धनकुटा घर भई धरान १७ बस्दै आएका २८ बर्षीय नविन राईलाई समेत पक्राउ गरेको हो । गाँजा सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यसैगरी धनकुटाको साँगुरी गढी गाँउपालिका-८ बाट १०६ केजी गाँजा बरामद भएको छ । ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले सडकमा रोकी राखेको को १ ज १८११ नम्बरको पिकअपलाई चेकजाँच गर्ने क्रममा उक्त पिकअपबाट १०६ केजी गाँजा बरामद भएको थियो । उक्त पिकअपमा चालक नभएको हुँदा खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
लागुऔषध ब्राउन सुगर सहित ५ जना पक्राउ
झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका साढे ५ बजे मोरङको पथरीशनिश्चरे नगरपालिका- ९ शनिश्चरे बजार स्थितमा प्रहरी चौकी कुशेचौरीबाट खटिएको प्रहरी टोलीले सोही स्थान बस्ने २७ बर्षीय आशिष लिम्बुलाई शंकास्पद अवस्थामा फेला पारी उनको घरमा चेकजाँच गर्दा घरको कोठाबाट लुकाई छिपाई राखेको अवस्थामा १० मिलिग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो ।
त्यसै गरी झापाको अर्जुनधारा नगरपालिका- ११ नयाँ बसपार्क स्थितमा अस्थाई प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले नयाँ बसपार्क स्थित रहेको एक लजमा बस्दै आएका शिवसताक्षी-९ का २१ बर्षीय प्रेम सागर सावा, मेचिनगर- १२ का २० बर्षीय मनिस बराल र मोरङ मिक्लाजुङ- ४ का १९ बर्षीया तिलु राईलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट २ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर फेला पारी प्रहरीले पक्राउ गरेका थियो भने सोहि दिन ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका- ६ पुरानो मेचीपुल स्थितबाट भारतबाट नेपाल तर्फ आउदै गरेको पैदल यात्री विर्तामोड- १ का २१ बर्षीय विशाल धिमालको साथबाट १ ग्राम लागुऔषध ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो ।