फागुण १९ काठमाण्डौँ । आशिफ शेखको नायकी व्याटीङका कारण नेपालले संघर्षपूर्ण खेलमा पपुवा न्युगिनीलाई तीन विकेटले पराजित गरेको छ । पपुवा न्युगिनीले दिएको १८० रनको लक्ष्य नेपालले ४८ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो ।
आशिफ शेखले अविजीत ८६ रन र सन्दीप लामिछानेले ३५ रन जोडदा मात्र नेपालको जीत संभव भएको हो । उनीहरु बाहेक कुसल मल्लले २३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन बटुल्न सकेनन् । आसिफले १३० बलमा २ चौका र १ छक्कासहित ८६ रन बनाएका हुन् । त्यस्तै ५० बल खेलेका सन्दीपले ३ चौकासहित ३५ रन बनाएका हुन् । नेपाललाई १०५/७ को अवस्थाबाट जित दिलाउन आसिफ शेख र सन्दीप लामिछानेको साझेदारी महत्त्वपूर्ण रह्यो ।
पपुवा न्युगिनी बिरुद्ध पहिलो बलमै ओपनर कुसल भुर्तेलको विकेट पतन पछि संकटमा परेको नेपालको एक पछि अर्को ब्याट्सम्यानहरु निरन्तर रन बनाउन नसकी आउट हुँदै गएका थिए ।
त्यसपछि आएका ज्ञानेन्द्र मल्ल केवल ६ रनमै पेभिलियन फर्कदा अर्का ब्याटर भीम सार्की ८ रनमै आउट भए । त्यसपछि आशा गरिएका रोहित पौडेल १ रनमै पेभिलियन फर्किदा नेपालले पूर्ण दबाब महसुस गरेको थियो । त्यसै गरी आरिफ शेख १ र दिपेन्द्र सिंह ऐरी पनि ८ रनमै आउट भए पछि नेपालले लगभग खेलमा जीतको आशा गर्न मुस्किल बन्दै गएको थियो । तर आशिफले धैर्यतापूर्ण प्रदर्शन गर्दै टिमलाई महत्वपूर्ण खेलमा जित दिलाए ।
यस अघिको खेलमा पनि नेपालले पपुवा न्युगिनीलाई पराजित गरेको थियो ।
नेपालले यो श्रृखलाको अन्तिम खेल युएई बिरुद्ध खेल्नेछ ।