फागुन १८, काठमाडौं । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले बिहिवार भक्तपुरको कमलविनायकदेखि नगरकोटसम्म स्थलगत सडक अनुगमन गरेका छन् । २०७० सालबाट दुई वर्षमा पूरा गर्ने भनि सुरु भएको १७ किलोमिटर सडक विस्तार र स्तरोन्नतिको काम नौ वर्ष बितिसक्दा पनि सकिएको छैन।
बेलैमा निर्माण सम्पन्न नभएपछि स्थानीयस्तरबाट आएको गुनासो सम्बोधन तथा स्थलगत अनुगमनमा गएका उपप्रधानमन्त्री श्रेष्ठले अब तोकिएको समयभित्र काम नसक्ने कम्पनीसँग सम्झौता तोड्ने चेतावनी दिए। भक्तपुर नगरकोट सडक विस्तारको कामप्रति आफू सन्तुष्ट नरहेको भन्दै मन्त्री श्रेष्ठले समयमा नै काम सम्पन्न नगर्ने कम्पनीसँग सम्झौता तोड्ने चेतावनी दिका हुन् ।
उनले अबको एक महिनाभित्र गुणस्तरीय सडक निर्माण सम्पन्न गरेर हस्तान्तरण नगरे ठेक्का सम्झौता खारेज गर्ने बताए। उक्त सडकखण्ड निर्माणको काम शैलुङ कन्स्ट्रक्सनले गरिरहेको छ। निर्माण कम्पनीले भक्तपुर नगरकोट सडकको निर्माणमा उपेक्षा गरेको भन्दै उनले काम सम्पन्न नगर्ने र समयमै गुणस्तरीय काम गरेर हस्तान्तरण नगरे अब थप समय नदिने स्पष्ट पारे।
उनले निर्माण व्यवसायीले नयाँ सडक थप्दै जाने र पुराना सम्झौता भएका सडक अलपत्र पार्दै जाने कार्य अब दोहरिन नदिने स्पष्ट पारे। त्यस्तै शैलुङ कन्स्ट्रक्सनका प्रतिनिधि अनुप अधिकारीले बीचमा रुख कटान, विद्युतको पोल सार्न समस्या आएको र भूकम्पका कारण पनि केही ढिलाइ भए पनि अबको एक महिनामा आयोजना सम्पन्न गरेर हस्तान्तरण गरिने बताए।

उपप्रधानमन्त्री श्रेष्ठसँगै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक लगायतले सडक निर्माणको अवस्थाबारे जानकारी लिएका थिए।
मन्त्रीको अनुगमनका कममा स्थानीयले जुनसुकै मन्त्री फेरिए पनि सडकको हालत नफेरिएको भन्दै आक्रोश पोखेका थिए । नौ वर्ष भइसक्दा पनि काम नसकिएकोले स्थानीयलाई सास्ती भएको र धुलोको कारण मानव स्वास्थ्य माथि ठूलो असर गरिरहेको गुनासो समेत गरेका थिए ।

स्थानीयको गुनासो सम्बोधन गर्दै मन्त्री श्रेष्ठले दुई वर्षमा सक्नुपर्ने सडक नौ वर्षसम्म नसकिनु लज्जास्पद भएको भन्दै काम नगर्ने ठेकेदारलाई संरक्षण नगर्ने पनि प्रतिबद्धता जनाए ।
सो क्रममा भारतीय राजदूत श्रीवास्तवले गुणस्तरीय निर्माण गरेर मात्रै सडक हस्तान्तरण गर्न आग्रह गरे। एक्जिम बैंक इन्डियाको सहयोगमा विस्तार गर्न थालिएको यो सडकको लागत २८ लाख रूपैयाँ छ।

शैलुङ कन्स्ट्रक्सनले सन् २०१४ मा सडक निर्माणको ठेक्का पाएयता पटक–पटक म्याद थप्दै आएको छ। ठेकेदारको लापरबाहीकै कारण सडक किनार लगाइएको नालीको पर्खाल भत्किएको छ भने यसअघि गरिएको कालोपत्रे ठाउँठाउँमा उक्किएका छन्।

निर्माण कम्पनीका अनुसार कमलविनायक(नगरकोट सडक खण्डको काम अहिलेसम्म ९० प्रतिशत सकिएको छ। वर्षौंदेखि अलपत्र यो सडकको अवस्थाले नगरकोटको पर्यटन प्रवर्द्धनमा समेत असर परेको स्थानीयको गुनासो छ।
काठमाडौं नजिकै रहेको पर्यटन स्थल नगरकोटमा हिमालका दृश्य नियाल्न तथा सूर्योदय र सूर्यास्त हेर्न ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटक जाने गर्छन्। सडकका कारण त्यहाँ पुग्ने पर्यटकले सास्ती झेल्नुपरेको व्यवसायीहरूको भनाइ छ।
