फागुन १८ , काठमाडौँ । पाँच खेलमा लगातार उत्कृष्ट ब्याटिङ गरेर जित्दै आएको नेपाली क्रिकेट टोलीका ब्याट्सम्यानले आज भने खराब प्रदर्शन गर्दा युएईसँग पराजीत हुन पुगेको छ ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज भएको खेलमा नेपाल यूएईसँग ६८ रनले पराजित भएको छ।
५० ओभरको खेलमा सुरुमा ब्याटिङ गरेको यूएईले ८ विकेट क्षतिमा २०७ रनमात्र बनाएको थियो । २०८ रनको लक्ष्य पाएको नेपालले ३१.५ ओभरमा १३९ रनमात्र बनाउँदै सबै विकेट गुमाएको हो ।
आज कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी जस्ता ब्याटरले लयमा खेल्न नसक्दा टोलीले खेल गुमाउन बाध्य भयो ।
कुशल भुर्तेलले ६ बलमा ५ रनमात्र बनाए भने आसिफ शेखले १६ बलमा १७ रन जोडेका थिए।
त्यसपछि आएका ज्ञानेन्द्र मल्ल ६ बलमा शून्य रनमै आउट हुँदा कप्तान रोहित पौडेलले २ बल खेल्दै मैदान छाडे।
त्यसपछि आएका कुशल मल्लले भने ५३ बलमा ६० रनको योगदान गरे। उनीपछि आएका आरिफ शेख १० बल खेलेर शून्य रनमा आउट हुँदा दीपेन्द्र सिंह ऐरीले २३ बलमा ७ रनमात्रै जोडे।
नेपालका लागि गुल्सन झा र सोमपाल कामीले ४÷४ रनको योगदान गरे। करण केसी २० बलमा ५ रन बटुल्दा सन्दीप लामिछाने २४ बलमा २६ रन बनाउँदै नटआउट रहे।
आज जित निकाल्न सकेको भए नेपाल लिगको पाँचौ स्थानमा उक्लिने थियो । पाँचौ स्थानमा यथावत रहेको युएईले नेपालसँगको अक दुरी ३ बनाएको छ । नेपालले अब दोस्रो खेलमा युएईलाई जित्न सके र पपुवा न्युगिनीले युएईलाई फेरी पराजित गरेमा मात्रै नेपाल पाँचौ स्थानमा उक्लने छ । अन्यथा बाँकी खेल जित्नु पर्नेछ ।
नेपाली प्रशिक्षक मोन्टी देशाई नेपालको एक दिवसीय मान्यता जोगाउन कसरत गरीरहेका छन् । त्यसका लागि नेपालले अझै कम्तीमा ४ खेल जित्नु पर्नेछ । नेपालले अब जम्मा ६ खेल मात्र खेल्न बाँकी छ ।