फागुण १७ काठमाण्डौँ । प्रधानमन्त्री प्रचण्डको प्रस्तावमा अब सार्वजनिक विदाको दिन पनि अत्यावस्यक सरकारी सेवा कार्यलयहरु खुल्ने भएका छन् ।
सरकारले अत्यावश्यक सेवा प्रदान गर्ने निकाय बिदाका दिन पनि खोल्ने गरी मोडालिटी नै टुंग्याएको छ ।
नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, कन्सुलर, अध्यागमन, भन्सार तथा राजस्वका सेवा (राजस्व अनुसन्धानबाहेक) बिदामा पनि खुल्नेछन् । त्यस्तै, क्वारेन्टिन, सवारी अनुमतिपत्र दर्ता, नवीकरण लगायत यातायात व्यवस्थापनका सेवा पनि खुल्नेछन् । अस्पताल, खानेपानी, विद्युत्, सडक, ढललगायत सेवालाई पनि सार्वजनिक बिदाले प्रभाव पार्ने छैन । बिदामा खुल्नेमा उद्योग, वाणिज्य र कम्पनी प्रशासनका सेवा, वैदेशिक रोजगार सेवा, खाद्य गुणस्तर सेवा, भेटेरिनरी लगायत पनि छन् । स्थानीय तहले प्रदान गर्ने सेवादेखि नापी र मालपोतका काम पनि बिदाका दिन सञ्चालनमा रहनेछन् ।
सोमबारको मन्त्रिपरिषद् बैठकले यसबारे गरेको निर्णयको सूचना राजपत्रमा प्रकाशित गर्ने गृह मन्त्रालयको तयारी छ । शनिबार तथा दसैँ, तिहार, छठ र फागु पूर्णिमाबाहेकका राष्ट्रिय पर्व बिदामा यस्ता सबै सेवा निर्वाध सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्णय छ ।
क्षेत्रीय बिदाका हकमा पनि अत्यावश्यक कार्यालय खुल्ने सरकारी निर्णयमा उल्लेख छ ।
सार्वजनिक बिदामा पनि काम गर्ने कर्मचारीलाई सट्टा बिदा दिने सरकारको निर्णय छ । बिदामा काम गरेको अभिलेख राखेर सोबराबर अन्य दिनमा बिदा दिने सरकारी ढाँचा बनेको छ । अतिरिक्त भत्ताको व्यवस्था गरिएको छैन ।
नेपालमा विभिन्न नाममा सार्वजनिक विदा धेरै भएको भन्दै यसलाई सच्याउन पहल गर्ने प्रधानमन्त्रीले बताउदै आएका थिए ।