काठमाडौं, १४ फागुन ।
काठमाडौं उपत्यकामा करिब साढे ४ महिनापछि मेघगर्जन सहित वर्षा भएको छ । केही समय वर्षा जारी रहने र राति वर्षा नहुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यसअघि गत अक्टोबर १४ तारिखमा उपत्यकामा ०.५ एमएम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका पूर्वानुमान महाशाखाका मौसमविद् सन्जिव अधिकारीका अनुसार आइतबार र सोमबार काठमाडौंसहित देशका केही स्थानमा सामान्य वर्षा हुने छ ।
आज आइतबार दिउँसो गण्डककी प्रदेश, वाग्मतीका थोरै स्थान र प्रदेश नम्बर १ को एकरदुई स्थानमा वर्षा भइरहेको छ । ‘यी स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ,’ अधिकारीले भने, ‘वर्षासँगै मेघ गर्जन र चट्याङ पनि परिरहेको छ । ’
विभागले बिहानको मौसम बुलेटिनमा पनि वर्षा हुने अनुमान गर्दै दिउँसो यी प्रदेशमा बद्ली हुने प्रक्षेपण गरेको थियो । आइतबार दिउँसो काठमाडौं उपत्यकाको उत्तरपूर्वी स्थानमा वर्षा भइरहेको छ । केही समय वर्षा जारी रहने र राति वर्षा नहुने प्रक्षेपण विभागले जनाएको छ । हिउँद सकिन लाग्दा मुलुकका विभिन्न स्थानमा पश्चिमी वायुको सामान्य प्रभाव देखिएको छ ।
विभागकी प्रवक्ता एवं वरिष्ठ मौसमविद् विभूति पोखरेलले नेपालमा प्रि–मनसुन सुरु हुन लागेको बताइन् । प्रि–मनसुन मार्चबाट सुरु हुने उनले बताइन् ।
फेब्रुअरी महिनाका लागि काठमाडौं उपत्याकामा औसत वर्षा १८.७ एमएम रहेको छ । यो वर्ष सुक्खा हिउँद हुने र सामान्य वर्षा हुने अनुमान गरेको थियो । विभागले १० एमएमभन्दा कम वर्षालाई सामन्य वर्षाको रुपमा लिने गरेको छ ।
नेपालमा यस वर्ष हिउँदमा औसतभन्दा कम वर्षा भएको विभागले जनाइसकेको छ । विभागको पछिल्ला प्रतिवेदनले बितेका १७ वर्षमा ११ हिउँद सुक्खा भएको देखाएको छ । यो वर्ष हिउँदे वर्षा कम हुँदा यसले कृषि प्रणाली र उत्पादनमा समेत केही प्रतिशतले असर पुर्याउने विज्ञहरुले बताएका छन् ।
आज काठमाडौंको न्यूनतम तापक्रम १० र अधिकतम तापक्रम २३ डिग्री सेल्सियस रहेको छ ।
पोखरामा भने आइतबार कालो बादलसहित पानी पर्दा दिउँसै अँध्यारो भयो ।
दिउँसो १ बजेदेखि असिनासहित ठूलो वर्षा भएको हो। यसअघि पोखरामा बिहीबार हिउँदे वर्षा भएको थियो। त्यसपछि आइतबार ठूलो वर्षा भएको हो।
लामो हिउँदे खडेरीपछि परेको पानीले हिउँदे खेतीलाई केही राहात मिले पनि यहाँको कुनै क्षेत्रमा असिना समेत पर्दा तोरी, गहुँ, फापर र तरकारीबालीलाई क्षति पुर्याएको छ।
बिहीबार परेको असिनाले पोखरा(३० गगनगौडा, पोखरा( ३२ मालमुलफाँट र भरतपोखरी लगायत क्षेत्रमा पाक्न लागेको हिउँदे खेतीलाई नोक्सान पुर्याएको थियो।