१४ फागुन, नुवाकोट । पुरातत्व विभागले नुवाकोटको विदुर नगरपालिका–२ महामण्डलमा अवस्थित प्रसिद्ध विहार स्वयम्भू चैत्यको अध्ययन थालेको छ ।
प्राप्त इतिहास अनुसार करिब चौध सय वर्षअघि लिच्छवीकालीन समयमा निर्माण गरिएको उक्त विहार जीर्ण भएसँगै उत्खनन, अध्ययन, अन्वेषणसहित पुरातात्विक स्वरुपमा पुनःनिर्माणका लागि पुरातत्व विभागले अध्ययन सुरु गरेको हो ।
विभागमा प्रवक्ता रामबहादुर कुँवरका अनुसार अध्ययनका लागि बेलायतको दुराम विश्वविद्यालयबाट आएका पुरातत्वविद्ले अत्याधुनिक उपकरणको प्रयोगबाट जमिनमुनि रहेका संरचनाको जानकारी सङ्कलन सुरु गरेको छ ।
अहिले देखिएका स्वयम्भू चैत्यको संरचना निकै पुरानो पाइएकोले विद्यमान अवस्थामा रहेका संरचनाको पुरातात्विक स्वरुपसमेत नमिलेको पाइएकाले जमिनमुनिको भागबाट अध्ययन सुरु भएको हो । “अध्ययनको प्रतिवेदन प्राप्त गर्न केही दिन लाग्नेछ”, प्रवक्ता कुँवरले भने, “जमिनमुनिको भागमा पाइएको तथा देखिएका तथ्यका आधारमा अर्को चरण ९जमिनमाथि०को अध्ययन सुरु हुनेछ ।”
स्वयम्भू (चैत्य)को अध्ययनका लागि शनिबार उक्त स्थानमा पुगेका बेलायतको दुराम विश्वविद्यालयका दुई सदस्य पुरातत्वविद्ले अत्याधुनिक उपकरणको सहायताले सङ्कलन गर्नुपर्ने विवरण लिएर आइतबार फर्किएका छन् ।
छरिएका ढुङ्गाका स–साना चैत्यहरूको बीचमा फराकिलो पीठको बीचमा थप अर्को (पूर्णता पाउन बाँकी रहेको) मूल चैत्य अवस्थित छ । चैत्यको पूर्वी मोहडामा दायाँ–बायाँ दुईवटा सिंहको मूर्ति राखेर प्रवेशद्वार बनाइएको छ भने चैत्यको अगाडि बायाँ भागमा गणेशको मूर्ति देखिएकाले त्यसको दायाँ भागमा भैरवको मूर्ति नहुनुले जमिनमुनिको उत्खननको आवश्यकता पहिचानका लागि नगरपालिकाले अनुरोध गरेर अध्ययनको माग गरेको विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठले बताए ।
उनका अनुसार यत्रतत्र (पुरातात्विक संरचनाअनुसार नमिलेको अवस्थामा) गणेश, भीमसेन, गरुडासन विष्णु, सरस्वतीलगायतका मूर्ति पाइएका छन् । मूल स्तूप र यस आसपासमा पुरातात्विक संरचनाअनुसार भैरवलगायतका मूर्ति हुनुपर्ने स्थानको संरचना खलबलिएको पाइएकाले उत्खननका लागि गरिएको अध्ययनको प्रतिवेदनले थप तथ्य बाहिर आउने अनुमान छ ।