धनुषाका दिलीप महतो हत्यामा संलग्न दुई जनालाई २५ वर्ष कैद सजाय

धनुषाका दिलीप महतो हत्यामा संलग्न दुई जनालाई २५ वर्ष कैद सजाय

  • शुक्रबार, फाल्गुन १२, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

काठमाडौँ, १२ फागुन । जिल्ला अदालत धनुषाले दिलीप महतोको हत्यामा संलग्न विपिन महतो र मुनिन्द्र महतोलाई २५ वर्षको कैद सजाय सुनाइएको छ ।
अवैध उत्खननको विरोध गर्दा मनसायपूर्वक धनुषाका दिलीपको हत्या गरेको कसुरमा जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले विपिन र मुनिन्द्रलाई उक्त सजाय सुनाइएको हो ।

त्यस्तै हत्यामा संलग्न जितेन्द्र महतोलाई भने १२ वर्ष कैद सजाय सुनाइएको छ । गत फागुन २ गते अदालतले विपिन र मुनीन्द्रलाई दिलीपको मनसायपूर्वक हत्या गरेकामा दोषी ठहराइएको हो भने जितेन्द्रलाई हत्याको मतियार भएकामा कसुरदार ठहराए पनि शुक्रबार मात्र फैसला निर्धारण भएको हो ।
अभियुक्त विपिन र मुनिन्द्रलाई अदालतले ५र५ लाख जरिवाना पनि तोकेको छ । जितेन्द्रलाई भने साढे २ लाख क्षतिपूर्ति तोकिएको हो । जिल्ला अदालतका श्रेस्तेदार विकास बस्नेतका अनुसार अभियुक्तहरूले आर्थिक अभावका कारण क्षतिपूर्ति दिन नसक्ने अवस्थामा पीडित राहत कोषबाट भए पनि क्षतिपूर्ति भराउने अदालतको फैसला छ ।

हत्याको अभियोग लागेका उद्योग सञ्चालक विनोद महतो र कामदारहरू सत्यनारायण महतो, शत्रुघन महतो र रोशनकुमार महतोले भने सफाइ पाएका छन् । घर अगाडिको औरही खोलाबाट भइरहेको ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खननको विरोध गर्दा दिलीप भनिने ओमप्रकाश महतोले २०७६ पुस २५ मा ज्यान गुमाएका थिए । अनियन्त्रित उत्खननविरुद्ध आवाज उठाइरहेका दिलीपको चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक र कामदारले हत्या गरेको अभियोग लागेको थियो । क्रसर उद्योग सञ्चालक विपिनकुमारले अवैध एवं अनियमित रूपमा बालुवा–गिट्टी उत्खनन गरेको भन्दै विरोध गर्न बिहान ४ बजे खोलामा पुगेका बखत दिलीपको हत्या भएको थियो ।

उद्योग सञ्चालक विपिन तथा उनका कामदारहरू मुनीन्द्र र जितेन्द्रसहितका सात जनाले दिलीपलाई फलामको लिभर र पेचकसले शरीरका विभिन्न भागमा क्रूरतापूर्वक प्रहार गरेर हत्या गरेको सरकारी वकिलको दाबी छ । जिल्ला अदालतमा दायर गरिएको अभियोगपत्रमा आक्रमणपश्चात् बेहोस भएर ढलेका दिलीपलाई ना७ख ६४१३ नम्बरको टिपरको पछाडि चक्काले टाउकोमा किचेर सडक दुर्घटनाको रूप दिने प्रयास गरिएको उल्लेख छ । त्यसरी क्रूरतापूर्वक हत्या गर्ने व्यक्तिलाई आजीवन कारावासको सजाय हुने कानुनी व्यवस्था छ । सरकारी वकिलले उनीहरू सातै जनालाई आजीवन कारावासको सजाय माग गरेका छन् ।

भारतको भोपालमा इन्जिनियरिङ पढ्दै गरेका दिलीप अन्तिम सेमेस्टरको परीक्षा दिएर घर आएका थिए । हत्या भएको केही महिनापछि उनी अन्तिम वर्षको अन्तिम सेमेस्टरको परीक्षामा पनि उत्तीर्ण भएको खबर आएको थियो । स्थानीयस्तरमा पहिलेदेखि वातावरण संरक्षण र प्राकृतिक स्रोतको गैरकानुनी रूपमा अनियन्त्रित दोहनविरुद्ध त्रियाशील उनलाई २०७६ को पुसमा निसाना बनाइएको थियो । दिलीपको हत्यापछि उनको परिवारले न्यायका लागि संघर्ष गर्दै आएकामा बुधबारको फैसलाले आफूहरूलाई आंशिक रूपमा भए पनि न्याय दिएको महसुस भएको दिलीपकी बहिनी लक्ष्मी महतोले बताइन् ।

जिल्ला अदालतमा दर्ता भएका मुद्दा अधिकतम साढे एक वर्षमा सकिसक्नुपर्ने न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजनाको लक्ष्य भए पनि दिलीपको परिवारले भने न्यायका लागि ३ वर्षभन्दा बढी अवधि प्रतीक्षा गर्नुपर्‍यो । जिल्ला अदालतले दोषी ठहर गरेका तीनै जना पुर्पक्षका लागि थुनामा थिए भने सफाइ पाएका ४ जना धरौटीमा तारिखमा छुटेका थिए । समयमा न्याय नपाएको भन्दै दिलीपका परिवारले बारम्बार काठमाडौंसमेत आएर न्यायिक नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

उद्योग सञ्चालक विनोदले तारिखमा छुटेपछि उल्टै दिलीपको परिवारविरुद्ध नै जनकपुर उच्च अदालतमा मुद्दा हालेका थिए । उनले दिलीपको परिवारले चुरियामाई बालुवा प्रशोधन उद्योगमा हस्तक्षेप गरेको भन्दै दिलीपका बुबा रामजीवन, आमा चन्द्रकलादेवी र दुई बहिनी संगमकुमारी र लक्ष्मीविरुद्ध मुद्दा हालेका थिए ।

घरेलु तथा साना उद्योग कार्यालय धनुषामा विनोदका भाइ विपिनका नाममा दर्ता भएको उक्त उद्योग दिलीपको हत्यापछि सञ्चालन हुन सकेको थिएन । हत्या अभियोगमा विपिन जेल परेका थिए भने विनोद फरार थिए । अवैध बालुवा, गिट्टी उत्खननलाई रोक्न दिलीपले चलाएको अभियानलाई सफल पार्न भन्दै गाउँका अधिकांश परिवारबाट कम्तीमा एक जना जम्मा भएर २ सय ३२ जनाको भेलाले २०७६ फागुन १० मा औरही खोलामा अवैध उत्खनन रोक्ने निर्णय गरेको थियो । उक्त भेलाले दिलीपलाई पर्यावरण सहिदसमेत घोषणा गरेको थियो ।

त्यस्तै मिथिला नगरपालिकाले नगरभित्र सञ्चालित उद्योगहरूको व्यवस्थापनका लागि गठन गरेको अध्ययन टोलीले स्थलगत अनुगमन र निरीक्षणका आधारमा तयार पारेको ‘औरही, जलाद र जगधर खोलाबाट ढुंगा, गिट्टी र बालुवा संकलन एवं उत्खनन कार्यको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन २०७५’ मा पनि चुरियामाई बालुवा प्रशोधन उद्योगले न्यूनतम मापदण्ड पालना नगरेको उल्लेख छ । उक्त उद्योगले तोकिएभन्दा बढी परिमाणमा र गहिरो गरी उत्खनन गरेको तथा निषेध गरिएको क्षेत्रबाट पनि ढुंगा, गिट्टी, बालुवा झिकेको थियो । यस्ता प्रमाणका आधारमा उक्त उद्योगलाई तत्काल सञ्चालन गर्न दिन नहुने राय राखेका दिलीपका परिवारले त्यसपछि मुद्दा मामिला खेप्नुपरेको थियो ।

दिलीपको हत्याविरुद्ध दायर भएको अभियोगपत्रमा अपराधमा प्रयोग गरिएको साधन तथा कसुरजन्य सम्पत्ति रोक्का राख्न तथा नियन्त्रण गरी जफत गर्न माग गरिएको छ । गैरकानुनी रूपमा उत्खनन गरिरहेको उद्योग परिसरमै दिलीपको हत्या भएकाले उक्त सम्पत्ति पनि रोक्का राख्न माग गरिएको थियो । त्यसै कारण पनि उक्त उद्योग सञ्चालन हुन सकेको थिएन । तर, उच्च अदालत जनकपुरले दिलीपको परिवारलाई नै आदेश दिँदै कानुनले नदिएको अधिकार प्रयोग गरी उद्योग सञ्चालनमा अनधिकृत हस्तक्षेप नगर्नू/नगराउनू  भनेको थियो ।
पीडित परिवारलाई दुःख दिन अभियुक्तहरूका तर्फबाट दायर मुद्दामा सुनुवाइमा अदालतबाट तुरुन्तै फैसला भयो तर दिलीपको हत्या मुद्दा टुंगिन भने तीन वर्षभन्दा बढी समय प्रतीक्षा गर्नुपर्‍यो । दिलीपका बहिनीहरू संगम र लक्ष्मीले अहिले आएर दाइले सुरु गरेको अभियान अघि बढाइरहेका छन् । संगमको अध्यक्षतामा ‘ओमप्रकाश महतो (दिलीप) पर्यावरण संरक्षण प्रतिष्ठान’ दर्ता गरिएको छ । २०७७ भदौ ३१ मा दर्ता भएको प्रतिष्ठानको पहलमा औरही खोलामा ‘दिलीप चुरे वाटिका’ बनाइँदै छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी