फागुन ८, मकवानपुर । मकवानपुरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मनहरी गाउँपालिका–४ मसिनेमा सोमबार बिहान हात्तीको आक्रमणबाट घाइते भएकी ६४ वर्षीया राधा अधिकारीको उपचारका क्रममा चितवनस्थित मेडिकल कलेजमा मृत्यु भएको हो ।
हात्तीको आक्रमणबाट उनको मेरुदण्डसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । करेसाबारीमा काम गरिरहेको अवस्थामा उनलाई जंगली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
हात्तीको आक्रमणबाट वृद्धा घाइते भएसँगै आक्रोशित स्थानीयहरूले पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत मनहरी–३, लामिटारमा रहेको लामिटार चेकपोस्ट तोडफोड गरेका थिए ।
स्थानीयहरूले निकुञ्जका कर्मचारी र नेपाली सेना बस्दै आएको पोस्टमा तोडफोड गरेका हुन् । तोडफोडबाट सेनाले प्रयोग गर्दै आएको गाडीसहित कार्यालय र गोलघरमा क्षति पुगेको छ । पोस्ट नजिकै स्थानीयले आगजनीसमेत गरेका छन् । सेनाले स्थानीयको सुरक्षा दिन नसकेको भन्दै वृद्धाको मृत्युपछि उनीहरू आक्रोशित बनेका थिए ।
साथै सेनाले हात्ती लखेट्न र धनजनको क्षति रोक्न कुनै भूमिका नखेलेको भन्दै स्थानीय आक्रोशित भएका हुन् । निकुञ्जमा रहेको हात्ती बाटो बिराएर आइतबार साँझ त्यस क्षेत्रमा आएको हुनसक्ने बताईएको छ ।