फागुन ५, सिन्धुपाल्चोक । नेपाल र चीनबीच तीन वर्षपछि ‘फेस टु फेस’ सीमा सुरक्षा बैठक बसेको छ । नेपाल–चीनको बोर्डर मितेरी पुलमा नेपाल र चीनका सरकारी अधिकारीबीच आमनेसामने भएको छलफलमा चीनले सीमा सुरक्षाको विषयलाई प्राथामिकता दिएको छ।
सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका वडा नम्वर २ बाट चीन जोड्ने उत्तरी तातोपानी नाका पूर्ण रुपमा खुलाउन चीनले सीमा सुरक्षामा जोड दिएको हो ।
बैठकमा नेपालबाट सिन्धुपाल्चोकका जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सार प्रमुख तथा चीनका न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन, सुरक्षा निकायलगायतका अधिकारीको सहभागीता थियो । बैठकमा चीनका उच्च अधिकारीले नाकालाई स्थायी रुपमा सञ्चालन गर्न सीमा सुरक्षालाई नेपालले अत्यन्त सबल अपनाउनुपर्ने भन्दै यसबारे नेपालको धारणा माग गरेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए । ‘चीन नाका खोल्न सकरात्मक देखिन्छ, तर सीमा सुरक्षाबीच ‘क्रस बोर्डर क्राइम’का सम्बन्धमा पर्याप्त छलफल आवश्यक रहेकोमा चिनियाँ अधिकारीको चासो देखिन्छ’ प्रजिअ न्यौपानेले भने ।
कोरोना भाइरसको संक्रमणका कारण यसअघि वि च्याटमार्फत् दुई देशका अधिकारीहरुबीच भर्चुअल बैठक बसेको थियो । ०७७ सालमा दुवै देशका स्थानीय अधिकारीले मितेरी पुलमा पाँच मिटर टाढा रहेर बैठक र छलफल गरेका थिए । त्यसपछि यो नै पहिलो प्रत्यक्ष बैठक हो ।
तीन वर्षपछि भौतिक बैठक र छलफल भएपनि चिनियाँ र नेपाली अधिकारीबीच पूर्ण रुपमा नाका खोल्नेबारे सहमति भएको छैन । चीनबाट हुने निकासी वस्तुको जाँच गर्न खासाको रमितेमा चीनले निकासी घर, भवन, अन्य आवश्यक पूर्वाधार संरचना निर्माण भइरहेको जानकारी गराएको छ ।
बैठकमा नेपालबाट प्रजिअ न्यौपाने र चीनबाट न्यालम अध्यागमन इन्स्पेक्सन स्टेसनका प्रमुख सियाङ जुनले धारणा राखेर छलफल अघि बढाएका थिए । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख दयानिधी केसीले हाल दैनिक मुस्किलले चार वटा मात्रै सीमित कन्टेनर भित्रिने गरेकोले राजस्व वृद्धि समेत हुन नसकेको बताए ।