निर्मला कुर्मीको मुद्दामा विशेष अनुसन्धान टोली खटाइने

निर्मला कुर्मीको मुद्दामा विशेष अनुसन्धान टोली खटाइने

  • मङ्लबार, फाल्गुन २, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

फागुन २, काठमाडौँ । गृह मन्त्रालयले बाँकेकी एकल महिला निर्मला कुर्मीको शरीर बन्धक, अपहरण र हत्या सम्बन्धित मुद्दामा अनुसन्धान गर्न विशेष अनुसन्धान टोली खटाउने भएको छ । सरकारले मुद्दामा गहिरो अनुसन्धान र अभियोजन गरी मुद्दा अघि बढाउने सहमतिपछि बाँकेबाट काठमाडौं आएर ४८ दिनदेखि माइतीघरको सडकमा धर्ना बसिरहेका महिलाहरूले धर्नाका कार्यक्रम स्थगित गरेका छन् ।

मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले धर्नारत महिलाहरूसँग छलफलपछि गृहसचिव विनोद प्रकाश सिंह र प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई बोलाएर मुद्दामा विशेष अनुसन्धान टोली गरी न्यायिक प्रक्रियामा अघि बढाउन निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशनपछि मंगलबारै गृहमन्त्रालयमा भएको छलफलपछि धर्नारत महिलाहरू र सरकारबीच तीन बुँदे सहमति भएको छ । सहमतिपछि ४८ दिनदेखि जारी रहेको धर्ना स्थगित गरिएको धर्नाको नेतृत्व गरिरहेकी महिला अधिकारकर्मी रुबी खानले बताइन् ।

‘प्रधानमन्त्रीज्यूले नै एउटा प्रतिबद्धता जनाउनुभएको छ, यो विगतको दुई वटा सम्झौताभन्दा फरक हुन्छ भन्ने आशासहित हामीले धर्ना स्थगित गरेका छौं,’ उनले भनिन् ।

सहमतिपछि गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले माइतीघर पुगेर धर्नारत महिलाहरूसँग भएको सहमतिपत्र सार्वजनिक गरेका छन् ।

मन्त्रालयका उपसचिव दिलकुमार तामाङले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १२ बमोजिम मुद्दामा विशेष अनुसन्धान गर्न टोली खटाउने सहमति भएको बताए । त्यस्तै, अनुसन्धान प्रक्रिया समीक्षा गर्ने गर्दै धर्नारत महिलाहरूले राखेको न्यायिक आयोग गठनको मागलाई तत्काल थाती राखेर धर्ना स्थगित गर्ने र धर्नामा रहेका महिलाहरूको सुरक्षाका लागि सरकारले समन्वय गर्ने सहमति भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ