‘विमान दुर्घटनामा मैले धर्मबुबा गुमाएँ’

‘विमान दुर्घटनामा मैले धर्मबुबा गुमाएँ’

  • आइतवार, माघ १, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

पोखरा, १ माघ । २६ सुन्दरीबजारका सुजन अधिकारी आज बिहानैदेखि निकै खुसी थिए । फ्रान्सबाट सुजनका धर्मबुबा पास्कल एलेक्जेण्डर आज पोखरा आउँदै थिए ।

नेपालमा सुजनलाई धर्मछोरा बनाएका एलेक्जेण्डर छोरा भेट्न आतुर थिए भने सुजन पनि धर्मबुबालाई भेट्न हतारिएका थिए । बिहानै जहाज चढ्ने बेलामा अबको १८ मिनेटमा पोखरा झर्छु भनेर म्यासेज छोडेका एलेक्जेण्डर सेती खोचमा बिलिन भए ।

यता, सुजन बुबा लिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुग्नु भए पनि जहाज दुर्घटनाको खबरले विक्षिप्त हुँदै दुर्घटनास्थलतर्फ लागेका थिए । सेती खोँचबाट धुवाँको मुस्लो निस्कँदा नै उनको होसहवास उडेको थियो । पछि शवको सनाखत भएपछि उनी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोष्टमार्टम कक्ष प्राङ्गणमा झनै पीडामा छन् ।

 

उनीहरूको चिनजान भएको धेरै भएको छैन । एलेक्जेण्डर नेपाल आएको बेला बाटो बताउँदा भएको चिनजान धर्मबुबासम्म पुगेको सुजनले बताए । चिनजान भएदेखि नै आफ्नो हरेक सुखदुःखमा साथ दिने धर्मबुबा गुमाउनुपर्दा असह्य भएको उनले सुनाए । “हाम्रो चिनजान भएको धेरै भएको छैन । दुई वर्षअघि बाटो चिनाउँदा भेट भएको हो । त्यो बेला कुराकानी भएपछि उनले मलाई सहयोग गर्न थाले”, सुजनले भने, “मेरो आफ्नै बुबा सानैदेखि म र ममीबाट टाढा हुनुहुन्थ्यो । त्यो कारण पनि उहाँलाई भेटेपछि मैले धर्मबुबा मानेको थिएँ ।

शनिबार मात्रै काठमाडौँ झरेर आफूलाई भेट्नकै लागि पोखरा आएको सुजनले बताउनुभयो । “उहाँ मलेसिया हुनुहुन्थ्यो शनिबार नेपाल आएपछि मलाई भेट्न पोखरा आउनुभएको थियो”, उनले भने, “मसँग हरेक क्षण म्यासेजमा बोल्नुहुन्थ्यो । अन्तिम पटक जहाज चढ्ने बेला बोल्नुभएको थियो । उहाँले छिट्टै भेट हुन्छ यो पटक मिठाइ ल्याउन पाइन पनि भन्नुभएको थियो ।”

धर्मबुबा एलेक्जेण्डरको जहाज दुर्घटनामा निधन भएसँगै आफ्नो जिन्दगीले फरक रूप लिने उनले बताए । पढ्नदेखि मन परेको लुगा लगाउन, खानका लागि एलेक्जेण्डरले आर्थिक सहयोग गर्थे । “मलाई जहिले पनि सहयोग गर्नुहुन्थ्यो । पछिल्लो समय उनीसँगै मलेसिया घुम्न जाने भनेर टिकट काटिदिनुभएको थियो । मेरो डकुमेण्ट नमिलेर जान पाइएन”, सुजनले भने, “भविष्यमा उहाँसँगै फ्रान्स जाने योजना थियो सबै चकनाचुर भयो ।” कक्षा १२ को परीक्षा सकेर बस्नुभएका सुजनले धर्मबुबा एलेक्जेण्डरलाई भनेर कोडिङ र आई टी विषय बढ्ने योजना बनाए पनि धुवाँको मुस्लोसँगै सबै सपना उडेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी