पुस २७ , काठमाडौँ । हरेक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। आज पृथ्वी जयन्तीका अवसरमा सरकारले गणतन्त्र स्थापना पछि पहिलो पटक सार्वजनिक विदा दिएको छ ।
गणतन्त्र पछि पृथ्वी जयन्तीमा सार्वजनिक विदा कटौती गरिएको थियो ।
यस वर्ष पृथ्वीनारायणको ३०१औँ जन्मजयन्ती मनाइँदै छ। विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका सन्तानका रूपमा पृथ्वीनारायण शाहको जन्म भएको थियो।
विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए। त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो। पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएको थियो।
पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ। पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट जितेका थिए। त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरेका थिए। नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाभएका थिए।
गृह मन्त्रालयले मंगलबारै सूचना जारी गरी आज बुधबार सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो।
पृथ्वी जयन्तीका अवसरमा आज नेपाल राज्यभरका साथै विदेशस्थित नेपाली राजदूतावास र कूटनीतिक नियोगहरूमा सार्वजनिक बिदा दिइएको मन्त्रालयले जनाएको छ।