परिचय पाटीको किनारमा

परिचय पाटीको किनारमा

  • मङ्लबार, पुस २६, २०७९
  • अग्निराज पौडेल ‘अराप’

  • 4.8K
    SHARES

एउटा सानो कुचीले
कोरिएको छ मेरो नाम
मेरो अस्तित्व, मेरो पहिचान
सीमित छ
परिचय पाटीको किनारमा ।

मलाई थाहा छ
अनिवार्य चाहिएको छ
मेरो सहयोग तिमीलाई
तिमीलाई पनि थाहा छ
मेरो सहयोगबिना
गुमनाम हुनेछौ
सीमित हुनेछौ
कार्यालयको ढोकाभित्र ।

मैले नै हो सजाएको
तिम्रो कुर्सी पछाडिको भित्तो
त्यसमा झुन्डिएको सुन्दर तस्बिर
टेबुलमा पलेंटी कसेर बसेको
ढोकामा झुन्डिएको
परिचय खुलाउने त्यो सुन्दर पातो ।

तिम्रो कार्यालय चिनाउने म
कार्यालय छिर्ने बाटो देखाउने पनि म
सहरका गल्ली र गोरेटो चिनाउने पनि म
आवश्यकताअनुसार तिम्रा बा–आमा र
तिम्रा समस्त पुर्खाको
सुन्दर तस्बिर बनाउने पनि हामी ।
चुनावमा भरपूर प्रचार गरिदिने पनि हामी
हाम्रै परिश्रम बोकेर हिँड्छौ
सभा, जुलुस र बन्द–हडतालमा ।

न हिजो परिचय गर्न खोज्यौ
न आज चिनजान गर्छौ
न कलाले झकझक्यायो
न परिश्रमले, न तिम्रो अन्तर हृदयले ।

हामीले रोपेको सानो बिरुवा
हुर्काउँदैछौँ, बढाउँदैछौँ
लागिपरेका छौँ विशाल वृक्ष बनाउन
तर तिमी तल्लीन छौ ओझेलमा पार्न ।

तिमी माथिमाथि मात्र हेर्छाै
भुइँमा पनि हेर्ने गर
असरल्ल छन् भुइँमान्छेहरू
जब जुर्मुराउन थाल्छन्
भुइँमा मान्छेहरू
धसिन सक्छ, खोसिन सक्छ
तिम्रो पाइला टेक्ने जमिन पनि
थुनेर हिर्काउने धृष्टता नगर ढोका बन्द गरेर
हामी बिरालोजस्तो
जाइलाग्ने पनि हुन सक्छौँ ।

तिमी भिन्चीको प्रशंसा गर्छाै
पिकासो–पिकासो मात्र भन्छौ
यस्तै थियो राज्यव्यवस्था सायद
त्यस बेला पनि
उन्मुक्त भावना पोख्ने कविलाई
देशनिकाला गर्ने प्लेटो–राज्य
त्यसैले मुग्लान भासिए बलबाहु
परिश्रम गरे, पौरख देखाए
अरनिको कहलाए
नेपाली कला विदेशीलाई चिनाए ।

चटक्कै बिर्सेका थिए उनलाई पनि सायद
त्यस बेलाका शासकले
जसरी बिर्सेका छौ
संस्कार, संस्कृति, कला र कलाकार
त्यसैगरी हराए कैयौँ बलबाहु खाडीमा ।

कुची, कलम, क्यानभास
कार्यालयका मूल ढोका
तिम्रो शयन कक्ष, तिम्रो क्रीडास्थल
मधुशालादेखि संसद् भवनसम्म
नारायणहिटीदेखि शीतल निवाससम्म
हाम्रो उपस्थिति अनिवार्य थियोे
अहिले पनि छ
तर नदेखेझैँ, नचिनेझैँ गर्छाै
अनि पठाउँछौ बिचौलिया
हाम्रो परिश्रम लुट्न ।

नाबालक खेल्दाखेल्दै
बनेको आकृतिजस्तै छन्
तिम्रा नियम र कानुनहरू
कहिले दृश्य प्रदूषण भन्छौ
डोजर लगाएर कोतर्छाै
कमिसनको चक्करमा
एकरूपताको रटान गर्छाै
इम्बोस्ड–इम्बोस्ड भन्दै एम्बुसमा पार्छाै ।

आफैँले सिर्जिएको स्वरोजगार खोसेर
लाचार, विवश र निराश बनाइँदैछ हामीलाई
हाम्रो दिमाग, हाम्रो परिश्रम
कल्पना गर
हाम्रा कुची र रङ
हाम्रो सीप र श्रमसँगै
बिसाएर हाम्रा कलम र कम्प्युटरहरू
हामीले विश्राम लिएको दिन ।

होस गर
तिम्रा उद्योग, तिम्रा व्यापार
तिम्रा सम्पूर्ण गतिविधिहरू
भीडमा दौडिँदै गरेकी
निर्वस्त्र बेहुलीजस्तै
वा भनूँ
कात्रो नओढाएको लासजस्तै,
नुनबिनाको तिउनजस्तै
खल्लो हुनेछ, कुरूप हुनेछ, विरूप हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी