काठमाडौँ पुष २६ । नेपाल व्यावसायिक कलाकार सङ्घ (क्यान) ले आफ्नो २८ औँ स्थापना दिवस तथा राष्ट्रिय विभूति कलाकार अरनिको स्मृति दिवस २०७९ का अवसरमा विभिन्न विधाका १६ कलाकारलाई नगद र दुई कलाकारलाई सम्मानपत्रसहित सम्मानित गरेको छ ।
काठमाडौँ खुसीबुँस्थित क्लासिक बफेट प्वाइन्टमा २०७९ पुस २३ गते शनिबार आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले प्रमुख अतिथिका रूपमा विभिन्न विधाका ललितकलाकर्मी, रङ र कुचीका साधक, मूर्तिकार, कार्टुनिस्ट, परम्परागत, आधुनिक तथा उपयोगी कला सर्जकहरूलाई नगदसहित सम्मान गरेका हुन् ।
कार्यक्रममा सङ्घको सक्रियतामा विभिन्न व्यक्तित्वद्वारा स्थापित विधागत विभिन्न पुरस्कार तथा सम्मानमध्ये नेपाल व्यावसायिक कलाकार सङ्घद्वारा स्थापित ३० हजार रुपैयाँको क्यान सत्यमोहन अरनिको राष्ट्रिय पुरस्कार २०७९ वासुदेव अधिकारीले प्राप्त गरेका छन् । त्यसैगरी कुन्जनी प्रधानद्वारा स्थापित २५ हजार रुपैयाँको सुरेन्द्र प्रधान दीर्घ कला–साधक पुरस्कार २०७९ कृष्ण मानन्धरले प्राप्त गरेका छन् । त्यस्तै राकेश अवालेद्वारा स्थापित २० हजार रुपैयाँको क्रोधकला शिरोमणि पुरस्कार २०७९ जुलुमलाल चित्रकारले प्राप्त गरेका छन् ।
यसैगरी राधेश्याम मुल्मीद्वारा स्थापित १५ हजार रुपैयाँको मुल्मी ग्राफिक डिजाइन एवार्ड २०७९ गोविन्द थापाले, गेहेन्द्रमान अमात्यद्वारा स्थापित १० हजार रुपैयाँको अमात्य कला पुरस्कार २०७९ तीर्थ निरौलाले, हेम पौड्यालद्वारा स्थापित १० हजार रुपैयाँको हेम–गङ्गा युवा कला प्रतिभा पुरस्कार २०७९ नरेन्द्र मल्लले, हेम पौड्यालद्वारा स्थापित १० हजार रुपैयाँकै हेम–गङ्गा नारी कला प्रतिभा पुरस्कार २०७९ कान्ति घिमिरे न्यौपानेले, विष्णुप्रसाद सिग्देलद्वारा स्थापित १० हजार रुपैयाँको क्यान सिग्देल आर्ट पुरस्कार २०७९ विजयकुमार कार्की ढलीले, बेखाराम श्रेष्ठद्वारा स्थापित १० हजार रुपैयाँको निर्वाण कला सम्मान २०७९ सुरेश प्रतीकले, कृष्णप्रसाद शाहद्वारा स्थापित १० हजार रुपैयाँको ज्ञानी शाह क्यान अमूर्त कला सम्मान २०७९ गोविन्दलालसिंह डङ्गोलले, प्रा.डा. लय मैनालीद्वारा स्थापित १० हजार रुपैयाँको ठाकुरप्रसाद–इन्दिरा मैनाली मूर्तिकला पुरस्कार २०७९ गङ्गाधर सारुले, लय मैनालीबाटै स्थापित ५ हजार रुपैयाँको ऋचा मैनाली रिमाल स्मृति पुरस्कार २०७९ सिरपा श्रेष्ठले, राजेश मानन्धरद्वारा स्थापित ५ हजार रुपैयाँको राजेश मानन्धर कार्टुन एवार्ड २०७९ रवि मिश्रले, सुन्दर श्रेष्ठद्वारा स्थापित ५ हजार रुपैयाँको क्यान आइडियल कला पुरस्कार २०७९ चन्द्रकुमार ताम्राकारले, सुष्मा श्रेष्ठद्वारा स्थापित ५ हजार रुपैयाँको बालकृष्ण स्मृति कला पुरस्कार २०७९ नारायण लामिछानेले, सुष्मा श्रेष्ठद्वारा स्थापित ५ हजार रुपैयाँको नारायणदेवी स्मृति पुरस्कार २०७९ मुकेश मल्लले प्राप्त गरेका छन् ।
कार्यक्रममा वरिष्ठ कलाकार हरिप्रसाद वैद्य र कला व्यवसायी÷कलाकार रामकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा पुरस्कारदाता, पुरस्कृत र सम्मानित कलाकारहरूले आआफ्नो धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा कलाकार हरिप्रसाद वैद्यका विद्यार्थीले वायलियनको धुन, सङ्घकी केन्द्रीय सदस्य उमा पनेरूले गीत र सङ्घका केन्द्रीय सचिव अग्निराज पौडेल ‘अराप’ ले कलाकारहरूलाई राज्यले गरेको भेदभाव र दृश्य प्रदूषणका नाममा कला व्यवसायीमाथि भइरहेको ज्यादतीलाई समेटेर लेखिएको “परिचय पाटीको किनारमा” सशक्त कविता प्रस्तुत गरेका थिए ।
सङ्घका केन्द्रीय अध्यक्ष वरिष्ठ कलाकार आईबी मल्लको अध्यक्षता र महासचिव भोलानाथ पौड्यालको सञ्चालनमा सम्पन्न कार्यक्रममा सङ्घका केन्द्रीय कोषाध्यक्ष प्रेमलाल श्रेष्ठले अतिथिहरूलाई शब्दले स्वागत गरेका थिए ।
अरनिकोविद् सत्यमोहन जोशीको सम्मानमा यसै वर्ष स्थापित ३० हजार राशिको क्यान सत्यमोहन अरनिको राष्ट्रिय पुरस्कारको रकम एक लाख रुपैयाँ पु¥याउने लक्ष्य रहेको सङ्घले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि महर्जनले कलाकारलाई हौसला प्रदान गर्ने कार्यक्रमको प्रशंसा गर्दै आगामी दिनमा राष्ट्रिय पुरस्कार तथा क्यानको गतिविधिलाई सहयोग गर्ने आश्वासन दिएका थिए ।