पुष १ धरान । धरानका मेयर हर्क साम्पाङले दलित समुदायको अपमान हुने गरी सामाजिक सञ्जालबाट अभिव्यक्ति दिएको घटनाप्रति राष्ट्रिय दलित आयोगले कानुनी कारबाही गर्न सिफारिस गरेको छ।
आयोगका अध्यक्ष देवराज विश्वकर्माले गृह मन्त्रालयलाई पत्राचार गर्दै आफूलाई संविधान र प्रचलित कानुनभन्दा माथि रहेको जस्तो अभिव्यक्ति सार्वजनिक गरेकोले कानुनी कारबाहीको लागि सिफारिस गरिएको जानकारी दिए। मेयर साम्पाङ गएको मंगलबार फेसबुकमा ‘बल होइन, बुद्धि लगा चमारे बुद्धि’ भन्दै पोष्ट गरेका थिए।
यसले तराईका दलित समुदायको अपमान भएको भन्दै हर्कको तीव्र आलोचना भएको छ ।
राष्ट्रिय दलित आयोगले विज्ञप्ति जारी गर्दै अभिव्यक्ति सच्याउन र आत्मालोचना गर्न मेयर साम्पाङलाई आग्रह गरेको थियो। तर मेयर साम्पाङले उक्त आग्रहलाई बेवास्ता गर्दै अझ दलित समुदायलाई अर्ती उपदेश दिने र कमजोरीप्रति कुनै सम्बोधन नगरी आफूलाई संविधान र प्रचलित कानुनभन्दा माथि रहेको जस्तो गरी पुनः अभिव्यक्ति सार्वजनिक गरेकोले कानुनी कारबाहीको लागि सिफारिस गरिएको आयोगले जनाएको छ।
आयोगका अध्यक्ष विश्वकर्माले पहिलो पटक जनप्रतिनिधिको हिसाबले सम्मान स्वरूप आत्मालोचना गर्न अपिल गरेपनि मेयर साम्पाङले उल्टै कानुन र संविधानभन्दा माथि रहे जस्तरी अर्ती उपदेश दिएकोले कारबाहीको लागि सिफारिस गर्नुपरेको बताए ।
यसैबिच, धरानका ३ जना कार्यपालिका सदस्यहरूसहित डेढ दर्जन संघसंस्थाहरुले पनि संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै मेयर साम्पाङलाई कानुन बमोजिम कारबाही गर्न माग गरेका छन्।
मेयरको अभिव्यक्तिले दलित समुदायको मौलिक हक र अधिकारलाई कुण्ठित पार्दै दुर्व्यवहार भएको र नेपालको जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ को धारा ४ को उपधारा १२ को उल्लंघन गर्दै स्थानीय सरकार प्रमुख पदमा आसिन व्यक्तिले संविधान, प्रचलित मूल्य मान्यता र अन्तर्राष्ट्रिय मानवअधिकारको भावना, मर्म विपरीत साम्प्रदायिक र कुनै जात विशेषप्रति अपमान हुने अभिव्यक्ति दिएकोले कानुन बमोजिम कारबाहीको माग गरिएको छ।
मेयर सामपागंले तीव्र दबाबका बीच पनि आत्मालोचना गर्न समेत तयार नभएपछि उनी बिरुद्ध कार्बाहीको दबाब बढेको हो ।