नेपाल प्रज्ञाप्रतिष्ठान कस्तो बन्नु पर्छ ?

नेपाल प्रज्ञाप्रतिष्ठान कस्तो बन्नु पर्छ ?

  • बिहिबार, मंसिर २९, २०७९
  • नरेन्द्रराज प्रसाई

  • 15.1K
    SHARES

श्री सरकार !
चारैतिरबाट मुलुकमा पैरो गइरहेको अवस्था छ । कुनै क्षेत्र पनि वादविवादबाट अछुतो देखिएको छैन । जतासुकै भागबन्डा, नातावाद र दलको झन्डा बोक्ने दासहरू फक्रनेक्रममा देखिन्छन् । समर्पित, इमानदार र नैतिकवान व्यक्तिहरू निराशामा फसेको देखिन्छन् । जुनकुरा क्रमश: राष्ट्रकै  दुर्भाग्यमा रूपान्तरित हुने पक्का छ ।
श्री सरकार !
नेपाल प्रज्ञाप्रतिष्ठानका कार्यक्रममा म नछिरेको आठ वर्ष भयो । कारण के हो भने त्यहाँ दलकै खुर, जुत्ता, मोजाहरूको जनसंख्याले अधिकतम ठाउँ ओगट्यो । त्यसैले त्यो ठाउँ नै जुठेल्नोमा अनुवाद भयो । त्यस्तो दुर्गन्धमा पस्न मलाई ठीक लागेन । मैले खान पाइन भनेर गुनासो गरेको नठानियोस् । यति कुरा कान खोलेर सुने हुन्छ सरकार-  ‘मलाई मभरिको सुनै दिए पनि म तिम्रो प्राज्ञ खान्न ।’

सरकार !
सबैतिर भत्किरहेको छ, वरिपरि लथालिङ्गै छ, जता हेर्यो त्यतै वेथिति छ । कृपया वाङ्‍‍मयलाई चाहिँ शुद्ध राखिदेऊ । विगत आठ वर्षले बिगारेको झैँ दलको झन्डाले वाङ्‍‍मयलाई ढपक्कै नछोपिदेऊ । प्रज्ञाप्रतिष्ठानहरूलाई सग्लो राखिदेऊ र हामीलाई यसबारे राम्रो इतिहास लेख्ने मौका पनि देऊ ।
सरकार !
फ्रान्सका प्राज्ञहरू सरकार प्रमुखलाई भेट्न जाँदैनन्, बरू सरकारका ओहदाधारी  नै शिर झुकाएर प्राज्ञसँग बोल्न जान्छन् । नेपालमा पनि त्यस्ता सुयोग्य पात्रलाई मात्र प्राज्ञ बनाऊ, जसलाई प्राज्ञ बनाउँदा सरकारकै पनि गर्वले शिर उठोस् ।

सरकार !
दलबलका झोला बोक्ने, झन्डा उठाएर जिन्दावाद र मुर्दावाद भन्ने र प्राज्ञिक क्षेत्रको फुट्टिकौडी ज्ञानै नभएका अयोग्य मान्छेलाई प्राज्ञ नबनाइदेऊ । विगतका सरकारले गरेझेँ हाम्रो साहित्य, कला र संस्कृतिको धज्जी उढाउने काम नगरिदेऊ । यसलाई पवित्र स्थानमा नै राख्यौ भने यसबारेको इतिहास लेखिँदा त्यस इतिहासमा चाहिँ तिम्रो छवि स्पष्टै सुकिलो देखिने छ । आखिर शुद्ध इतिहास लेख्ने त हामी नै त हौँ ।

सरकार !
प्राज्ञमा त्यस्ता पात्रलाई मनोनयन गर, जुन व्यक्ति प्रज्ञावान छ र वाङ्‍‍मयमै समर्पित छ, वाङ्‍‍मयकै मायामा उसले आफ्नो जीवन अर्पण गरेको छ र उसको परिचय कुनै झन्डा, दल र शक्तिको आडमा कतै पनि देखिएको छैन । साथै त्यस्तो व्यक्तिलाई नै प्राज्ञ बनाउ जसले कुनै सरकारी निकायमा जागीर पचाइसकेर पेन्सन भत्ता खाएर पनि नअघाएका र दोहोरो राजश्व दोहनको लक्ष्य लिएको व्यक्ति नहोस् । अथवा उसले एकातिरको चाहिँ भत्ता या पेन्सनको लोभ नगरोस् । वास्तविक प्राज्ञिक व्यक्तिहरू प्राज्ञ भए भने सर्वत्र तिम्रै जयजयकार हुनेछ । प्रज्ञावन व्यक्तिलाई चाहिँ प्राज्ञ बनायौ भने वाङ्‍‍मयको क्षेत्रमा तिमीले ठूलै धर्म र कर्म गरेको ठहर्ने छ ।

सरकार !
प्रज्ञाप्रतिष्ठानहरूलाई मन्दिर बनाइदेऊ तर विन्ती छ, विगतको सरकारले बनाएको जस्तै जुठेल्नो चाहिँ नबनाइदेऊ । अहिलेसम्म प्रज्ञाप्रतिष्ठान दलको भातृसङ्गठनजस्तै बनाइएको  छ र अब बन्ने प्रज्ञाप्रतिष्ठान त्यस्तो घृणित संस्था नबनोस् । प्रज्ञाप्रतिष्ठानलाई नेपाल राष्ट्रकै एउटा गौरवी संस्था बनाइदेऊ; जुन संस्थाको स्मरण गर्नासाथ कसैलाई पनि  दिग्मिग नलागोस् । सम्पूर्ण वाङ्‍‍मय सेवीलाई  प्रज्ञाप्रतिष्ठानको स्मरण गर्नासाथ श्रद्धा जागोस् । अनि त्यस्तै गरिमाले चुलिने खालको प्रज्ञाप्रतिष्ठान बनाइदेऊ; सरकार !

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी