काठमाडौँ मंसीर २७ । सरकारले अदालतबाट दोषी ठहर भएका र पुर्पक्षको क्रममा रहेका व्यक्तिका मुद्दा फिर्ता लिने गरी ल्याएको अध्यादेशप्रति नेपाल प्रहरीका १३ जना पूर्वमहानिरीक्षक हरूले आपत्ति जनाएका छन् । पूर्वमहानिरीक्षकहरूको नेपाल प्रहरी पूर्वसंगठन मञ्चले संगठित रुपमा अध्यादेशको विरोध गरेको हो ।
पूर्वमहानिरिक्षक श्यामभक्त थापाको निवास मालीगाउँमा बसेको बैठकले अध्यादेशप्रति विरोध जनाउदै फिर्ता लिन माग गरेका छन्। अध्यादेश लोकतान्त्रिक प्रणालीको मर्म र भावनाविपरीत रहेको भन्दै उनीहरूले यसलाई खारेज गर्न पनि माग गरेका छन् ।
पूर्वमहानिरीक्षक थापासहित मोतीलाल बोहोरा, अच्युतकृष्ण खरेल, ध्रुवबहादुर प्रधान, ओमविक्रम राणा, रमेश चन्द ठकुरी, रवीन्द्र प्रताप शाह, कुवेर सिंह राना, उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल, सर्वेन्द्र खनाल, ठाकुरप्रसाद ज्ञवाली र शैलेस थापा क्षेत्रीले संयुक्त रुपमा अध्यादेश खारेजीको माग गरेका हुन् ।
उनीहरूले नेपाल प्रहरीको हितविपरीतका क्रियाकलापका निर्णयहरूको आगामी दिनमा पनि विरोध गर्दै जाने जनाएका छन् ।