मंसीर १६ धागढी । ग्रेडरको ठक्करबाट एक छात्राको मृत्यु भएको बिरोधमा आज पनि धनगढी बजार तनावग्रस्त भएको छ । निषेधाज्ञा तोडेर ठूलो संख्यामा विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन् ।
प्रदर्शनकारी तितरवितर पार्न प्रहरीले ३७ राउण्ड हवाई फायर गरेको छ भने डेढ दर्जन बढी अश्रु ग्याँस प्रहार गरिएको छ ।
हिजो बिहान १० बजे धनगढीको पञ्चोदय माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत चेतना साउँदको सडक निर्माणका क्रममा ग्रेडरले किचेर मृत्यु भएपछि विद्यार्थीहरू आन्दोलित भएका हुन् ।
निषेधाज्ञाकै बीचमा अहिले पनि धनगढीका केही स्थानमा प्रहरी प्रशासनविरूद्ध विद्यार्थीहरू नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा सहभागी दर्जनौं विद्यार्थीलाई प्रहरीले पक्राउ समेत गरेको छ । विद्यार्थीले घटनाको क्षतिपूर्तिसहित चालकलाई कारबाहीको माग गरिरहेका छन् । अहिले जिल्ला प्रशासन कार्यालयमा छलफल जारी रहेको छ ।