संसद् मात्र हैन, सन्देशसमेत दिएको निर्वाचन

संसद् मात्र हैन, सन्देशसमेत दिएको निर्वाचन

  • बुधबार, मंसिर ७, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

अहिले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मत परिणाम आइरहेको छ । मत परिणामलाई लिएर विभिन्न टिप्पणी र अनुमानहरु गर्न थालिएको छ । यो निर्वाचनमा नागरिकको नैराश्यता मतपेटिकामा प्रस्तुत हुने अनुमान निर्वाचनपूर्व नै धेरैले गरेका थिए । यही अपेक्षालाई आधार मानेर केही नयाँ पार्टीहरु पनि जन्मिए भने स्वतन्त्र रुपमा पनि थुप्रै उम्मेदवारहरुले प्रतिस्पर्धा गरे । परिणामले मतदानपूर्व गरिएको अनुमानलाई केही हदसम्म सत्य साबित गरिदिएको छ ।

निर्वाचनलाई वैधानिक ढङ्गबाट परिवर्तन गर्ने एउटा माध्यमका रुपमा पनि लिइन्छ । परिवर्तनको अपेक्षा गर्नु मानवीय गुण नै हो । हरेक निर्वाचन होस् वा क्रान्तिहरुले सधैँ परिवर्तनको अपेक्षा गरेका हुन्छन् र त्यस्तो अपेक्षा गर्न नागरिकलाई प्रेरित पनि गरिरहेका हुन्छन् । सधैँ परिवर्तनको अपेक्षा गरिरहेका नागरिकले निर्वाचनका समयमा यस्तो अपेक्षा गर्नुलाई स्वाभाविक रुपमा ग्रहण गर्नु पनि पर्दछ । परिवर्तनका लागि हिंसा वा हडतालको बाटो पकड्नुभन्दा मतपेटिकाको उपयोग गर्ने चेतनाको विकास हुनु आफैँमा सकारात्मक कुरा हो ।

नेपाली समाज अब मतपेटिकामार्फत नै क्रान्ति हुन्छ भनेर विश्वास गर्ने तहमा पुगेको छ भनेर विश्लेषण गर्ने आधार पनि यो चुनावले दिएको छ । युवाहरु टायर बाल्ने र सडक बन्द गर्ने अभ्यासलाई अस्वीकार गर्दै लोकतान्त्रिक विधिबाट परिवर्तनको पक्षमा उभिनुपर्छ भन्ने मान्यता राख्दछन् भन्ने सन्देश यो चुनावमार्फत प्रकट र स्थापितसमेत भएको छ ।

यो चुनावले दिएका यी कुराहरु अत्यन्तै सकारात्मक पक्ष हुन् । लोकतन्त्रको सबलताका लागि पनि यी पक्षहरुले योगदान दिनेछन् । त्यति मात्रै हैन, निरन्तर लोकतान्त्रिक अभ्यास हुँदै गर्दा कैयौँ यस्ता नागरिक भावनाहरुलाई सम्बोधन गर्न सक्छ भन्ने कुरा पनि स्थापित भएको छ । निरन्तरको निर्वाचनलाई अपेक्षाअनुसारको परिवर्तनका रुपमा उपयोग गर्न सकिन्छ नै ।

यति मात्रै होइन, यो चुनावले अन्य महत्वपूर्ण सन्देशहरु पनि दिएको छ । परम्परागत शक्तिलाई आफ्नो कार्यशैली परिवर्तन गर्न चेतावनी नै दिएको छ । उम्मेदवार छनोटको निश्चित विधि बनाउन बाध्य हुन सिकाएको छ । राजनीतिमा दलाल वर्गको उपस्थितिलाई निरुत्साहित गर्न चुनौती दिएको छ । पैसा र बलको राजनीतिक अभ्यासलाई अस्वीकार गर्न अपिल गरेको छ । इतिहासको मात्र होइन, सम्भावना र योग्यताको कदर गर्ने कुरालाई प्राथमिकतामा राख्न भनेको छ । समग्रमा सुशासनको छाताभित्र बसेर राजनीतिक कर्म गर भन्ने आक्रामक अभिव्यक्ति पनि दिएको छ ।

यो चुनावमार्फत मतपत्रहरुमा व्यक्त भाव भनेकै सुशासनतर्फ प्रतिबद्ध बन भन्ने नै हो । सुशासनको अवस्थामा सुधार आउन नसकेकै कारण राजनीतिप्रति नागरिकको नैराश्यता र उदासीनता चुलिँदै गएको हो । खासगरी सहरी क्षेत्रहरुमा मतदाताले त्यो भावना अभिव्यक्त पनि गरेका छन् । चुनावमा मत प्रतिशत कम हुनु, मतदानका क्रममा उत्साह पनि खासै नदेखिनु पनि नैराश्यता प्रदर्शनकै एउटा तरिका थियो । दललाई मत हाल्ने समानुपातिक निर्वाचनको मतपत्रमा समेत फरक चुनाव चिन्न खोज्नेको सङ्ख्या ठूलो देखियो । यो पनि परम्परागत शक्तिहरुसँगको एउटा विद्रोह हो ।

राजनीतिमा नागरिकहरु अझ त्यसमा पनि युवाको चासो बढेन, अग्रसरता देखिएन र आवश्यक परेमा हस्तक्षेपकारी भूमिकामा उभिन सकेनन् भने त्यो राजनीति एउटा निश्चित वर्गमा सीमित हुन्छ र वैयक्तिक वा समूहगत स्वार्थ पूर्तिको माध्यम मात्र बन्छ । यो अवस्थामा लोकतान्त्रिक शक्तिहरु पनि क्रमशः कुलीनतन्त्रको अभ्यासमा अभ्यस्त हुँदै जान्छन् । नेपाली राजनीतिमा देखिएको एउटा खतरा यो पनि थियो । युवाको हुँकारसहितको चासो र उपस्थितिले त्यस्तो अभ्यास गर्नबाट रोक्न सक्छ । यो चुनावमा युवाहरुको हुँकार पनि सही सुनिएको छ । अब संसद्मा र नीति निर्माणका अन्य संरचनाहरुमा पनि ठूलो स्वरमा त्यो हुँकार सुनाउन सक्ने ‘ग्राउन्ड’ यो निर्वाचनले तय गरिदिएको छ ।

नाता, परिवारमा सीमित, सम्पत्तिलाई नै लक्ष्य ठान्ने, विलासी शैली अपनाउने, शक्तिको दुरुपयोग गर्ने जस्ता विसङ्गतिको भीडबाट एक छिन पर उभिएर राजनीतिक रणनीति बनाउनका लागि प्रेरणाका रुपमा पनि चुनावलाई ग्रहण गर्न सक्नुपर्दछ । मतपत्रमा परेको स्वस्तिक छापको गन्ध बुझेर नयाँ पदचाप तय गर्ने दिशामा नेपाली राजनीतिलाई लैजाने क्षमता जसले देखाउँछ, उसँग मात्र नागरिकको अपेक्षा रहने निश्चित छ । शक्तिको दुरुपयोग गर्दै निश्चित वर्गको स्वार्थका लागि राजनीतिलाई बन्धक बनाउनेहरुको हातमा अब राजनीति रहन सक्दैन ।
निर्वाचनले संसद् त बनाउँछ नै । त्यो संसद्लाई कसरी गतिशील बनाउने भन्ने सन्देश पनि दिन्छ । यसपालिको निर्वाचनले संसद्लाई कसरी गतिशील बनाउने भन्ने सन्देशसमेत दिएको छ । त्यो आवाज संसद्का सबै सदस्यले सुन्ने क्षमता राख्छन् कि राख्दैनन् भन्ने दोस्रो कुरा हो, तर त्यसलाई नबुझ्न् वा नजरअन्दाज गर्नेहरु राजनीतिक खेलमा क्रमशः अस्वीकृत हुँदै जाने चाहिँ निश्चित छ । पाँच महिनाअघि जन्मेको पार्टीको जबर्जस्त उपस्थितिलाई व्यक्तिको उपस्थिति र उपस्थित व्यक्तिको सङ्ख्याका रुपमा मात्र व्याख्या गरिनु हुँदैन ।

निर्वाचनपछिको नेतृत्वले नागरिकमा उत्साह भर्ने र हाम्रै पालामा परिवर्तन सम्भव छ भन्ने सन्देश दिने ढङ्गले काम गर्नुपर्ने चुनौती बहन गर्नुपर्ने छ । यो चुनौतीको सम्बोधन गर्ने क्षमताको अपेक्षा अब आम नागरिकको पहिलो पर्खाइ हो ।

राजनीतिशास्त्रीहरुले राजनीतिलाई ‘कला पनि हो र विज्ञान पनि हो’ भनेर परिभाषित गरेका छन् । विज्ञानले परिणाम दिन्छ र कलाले परिणाम दिनका लागि काम गर्दछ । राजनीतिलाई कला पनि र विज्ञान पनि मान्ने हो भने राजनीतिमा सही कर्म गर्दै त्यस कर्मबाट सिङ्गो समाजलाई लाभान्वित गर्ने गरी राजनीतिकर्मीले काम गर्नुपर्ने हुन्छ । यसरी काम हुन नसक्दा नै नागरिक तहमा नैराश्यता थपिएको हो । एउटा प्रक्रियाको निरन्तरताका रुपमा मात्र राजनीतिक गतिविधिहरुलाई सीमित गर्दा राजनीतिसँग नागरिकको चासो छुट्दै गएको अवस्था हो ।

सिर्जनात्मक रुपमा आफ्नो ‘कला पक्ष’लाई सबल बनाउँदै परिणाम दिनका लागि आफूलाई प्रतिबद्ध बनाउने हो भने मात्र त्यस्तो राजनीतिक अभ्याससँग नागरिकको चासो बढ्दै जान्छ । शक्तिको प्रयोग, शक्ति सन्तुलन र बाध्यकारी निर्णयहरुमा राजनीतिक कर्मलाई सीमित गर्दा नागरिकका दैनन्य आकाङ्क्षाको पूर्ति र समस्याहरुको सम्बोधन सही ढङ्गले हुन सक्दैनन् । नागरिकका समस्या र चाहनालाई कसरी राजनीतिकर्मीहरुले लिन्छन् र सम्बोधन गर्छन् भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

नेपालको लोकतान्त्रिक अभ्यासका क्रममा राजनीतिशास्त्रीले भनेको झैँ कला पक्ष र विज्ञान पक्षलाई सन्तुलित गर्न नसक्दा यस्ता तमाम समस्याहरु उब्जिएको मान्न सकिन्छ । स्थापित र परम्परागत शक्तिहरुका कतिपय व्यवहारले गर्दा नागरिकहरुमा हुर्किएको तीतो यथार्थ हाम्रासामु छ । पुस्ता हस्तान्तरणमा उदासीन, समकालीन समस्याहरुको पहिचानमा असक्षमता प्रदर्शन, आधुनिक विश्वसँग नेपाली समाजलाई जोड्ने प्रस्ट दृष्टिकोणको अभाव, बेरोजगारी समस्या सम्बोधनलाई प्राथमिकतामा नराखिनु, विचौलियाको बोलबाला बढ्दै जानु, अपारदर्शी सम्पत्ति कमाउने प्रवृत्तिको विकास, भ्रष्टाचार बिना कामै नहुने परिस्थिति बलियो बन्दै जानु, राज्यका संरचनाहरुप्रति नागरिकको विश्वास उड्दै जानु अहिलेका मुख्य प्रवृत्ति र चुनौती हुन् । यी प्रवृत्तिहरुबाट समाजले मुक्ति खोजिरहेको छ ।

‘नो नट अगेन’ जस्ता अभियानहरु, पुस्ता हस्तान्तरणका लागि दिइएका दबाबहरु उल्लिखित प्रवृत्तिबाट मुक्तिका लागि नै चलेका हुन् । उनै पात्र, उनै सोचले नागरिकमा पुनर्ताजगी हुन सक्दैन । समानुपातिकतर्फका अधिकांश उम्मेदवारहरुको अनुहार हेरेर पनि नागरिकहरुले समानुपातिकतर्फको मतपत्रमा समेत फरक चिह्न खोजेकोसमेत पाइयो । यसले पात्र र प्रवृत्तिमा समेत परिवर्तन खोजिएको देखाएको छ । यी सबै पक्षहरुलाई केलाएर हेर्दा यो चुनावले संसद् मात्र बनाएन, थुप्रै नयाँ सन्देशहरु पनि दिएको छ । सन्देशको मुख्य भाव प्रस्ट छ– अहिलेकै तरिकाले राज्य सञ्चालन हुन सक्दैन, अब कामको शैली परिवर्तन गर्नै पर्दछ । सबै निर्वाचित सांसदहरुले यो सन्देश बुझ्न सकून् । लोकतन्त्रको भविष्यमा यसैमा निर्भर छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी