मंसिर ४, काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा देशभर मतदान जारी छ । अहिलेसम्म देशभर २५ जिल्लाका ४४ वटा मतदान केन्द्रमा मतदान कार्य प्रभावित भएको छ । आइतबार बिहानैदेखि जारी मतदान का करममा विभिन्न विषयमा विवाद तथा झडप हुँदा २५ जिल्लाका ४४ वटा मतदान केन्द्रमा मतदान रोकिएको थियो ।
मतदान रोकिएकामध्ये ३२ वटामा पुन: मतदान सुरु भइसकेको छ भने बाँकी ठाउँहरूमा मतदान कार्य नरोक्न छलफल चलिरहेको नेपाल प्रहरीका प्रवक्ता डीआइजी टेकप्रसाद राईले बताए ।
डीआइजी राईले विवाद र झडप हुँदा स्थिति नियन्त्रण गर्न प्रहरीले १५ ठाउँमा गोली चलाएको जानकारी दिए । ‘विवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले १५ ठाउँमा ३५ राउन्ड हवाई फायर गरेको र अहिले स्थिति कन्ट्रोलमा रहेको उनले बताए । देशभर अहिलेसम्म कही पनि अप्रिय घटना घटेको छैन ।
प्रहरीकाअनुसार रौतहट, सिराहा, चितवन, दोलखा, बाजुरा, हुम्ला लगायत जिल्लाहरुमा हवाई फायर भएको हो ।