बिरगंज २१ कार्तिक । नेकपा एमालेका नेता धिरज चौरसियाको घरबाट प्रहरीले चापाकल र पाइप नियन्त्रणमा लिएको छ । आसन्न चुनावमा मतदातालाई प्रभावित पार्ने नियतले बाड्नका लागि राखिएको चापाकल र पाईप एमाले नेता चौरसियाको घरबाट सोमबार प्रहरीले चापाकल र पाइप नियन्त्रणमा लिएको हो ।
पर्सा क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने विन्दवासीनी गाँउपालिका वडा नम्बर ४ अमरपट्टी स्थित चौरसियाको घरमा भण्डारण गरि राखिएका १६ थान चापाकल सेट, १६ थान जिआइ पाइप र २ हजार फिट प्लाष्टिक पाइप सोमबार प्रहरीले नियन्त्रणमा लिएर जफत गरेको छ । चौरसिया गत स्थानीय तहको निर्वाचनमा वडा नम्बर ४ मा एमालेबाट वडा अध्यक्षका प्रत्याशी थिए ।
अमरपट्टी स्थित धिरज चौरसियाको घरमा स्थानीय मखलाल भन्ने दिपक चौरसीयाले गाँउमा बाड्न भनि ल्याएर राखेको अवस्थामा चापाकल र पाइपहरु बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले बताए ।

अमरपट्टी स्थित सशस्त्र प्रहरी बेस क्याम्पबाट सशस्त्र प्रहरी नायब निरिक्षक सुरेश न्यौपानेको नेतृत्वमा प्रहरी चौकी अमरपट्टीबाट समेत खटिएको टोलीले धिरज चौरसियाको घरबाट ती सामानहरु बरामद गरेको हो । बरामद गरिएका ती सामानहरु प्रहरी चौकी अमरपट्टीमा राखिएको र यस बारेमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक गिरीले जानकारी दिए ।
काँग्रेसका स्थानीय नेता कार्यकर्ताले भने एमालेबाट निर्वाचित गाँउपालिका उपाध्यक्ष ज्योति चौरसियाले सोमबार गाँउपालिका कार्यालयको स्टोरबाट ती सामानहरु बुझेर मतदातालाई प्रभावित पार्नका लागि एमाले नेता धिरजको घरमा लागेर राखेको आरोप लगाएका छन् ।
तर गाँउपालिका उपाध्यक्ष चौरसियाले यस बारे आफुलाई केहि थाहा नै नभएको बताइन् । उनले आफुले गाँउपालिकाको कार्यालयबाट कुनै पनि चापाकल वा पाइप बुझेर नलगेको बताइन् । यद्दपी उपाध्यक्ष चौरसियाले आज मात्रै गाउँपालिकाको कार्यालयबाट चाँपकलहरु बुझेको स्रोतको दावी छ ।

चौरसियाले निरन्तर आचारसहिंताको उलंघन पनि गरिरहेकी छन् । निर्वाचित जनप्रतिनिधिले कुनैपनि चुनावी कार्यक्रममा सहभागी हुन् नमिल्ने नियम रहेपनि चौरसिया दिनहु राजनीतिक कार्यक्रममा सहभागी हुनेगरेकी छन् ।
पर्सा क्षेत्र नम्बर ३ मा प्रतिनिधीसभा सदस्यमा जसपा–एमाले गठबन्धनबाट एमालेका राज कुमार गुप्ता र पाँच दलीय गठबन्धनबाट काँग्रेसका सुरेन्द्र प्रसाद चौधरी उम्मेदवार छन् ।