तीन दशकदेखि नेपालमै रमाएका ‘ओकेबाजे’

तीन दशकदेखि नेपालमै रमाएका ‘ओकेबाजे’

  • बुधबार, कार्तिक १६, २०७९
  • सुशीला रेग्मी

  • 5.2K
    SHARES

अर्काको देशमा गएर सामाजिक कार्यमा आफ्नो जीवन समर्पण गर्ने व्यक्ति बिरलै हुन्छन् । मानिसले भरसक धन सम्पत्ति कमाउनका लागि आफ्नो जन्मभूमि छाडेर केही समयका लागि अन्यत्र जान्छन् । आफूलाई पुग्ने सम्पत्ति आर्जन भएपछि आफ्नै थाकथलोमा फर्केर घर जग्गा, गाडीलगायतका विभिन्न सम्पत्ति जोडेर आरामको जीवन जिउने प्रायः सबैको चाहना हुन्छ ।

जीवनलाई सुखसयलमा आनन्ददायकपूर्वक बिताउने सबैले सपना बुनेर बस्छन् । तर जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे) भने तीन दशकदेखि नेपालमै बसेर सामाजिक कार्यमा समर्पित छन् । उनी देश, परिवार, धन–सम्पत्ति, आफन्त छाडेर नेपालमा निस्वार्थभावले सामाजिक काममा संलग्न छन् । उनी गरिब, दुःखीका आशा र भरोसाका केन्द्र बनेका छन् । जापानमा जन्मिएर ओकेबाजे नेपाली भूमिलाई कर्मथलो बनाएर निरन्तर सामाजिक सेवामा खटिरहेका छन् ।

शिक्षा, स्वास्थ्य, आमा समूह, महिला समूहलाई सहयोग, अर्थाभावमा विद्यालय जान नपाएका बालबालिकालाई पठनपाठनको व्यवस्था, विभिन्न सङ्घसंस्थाको भवन निर्माणलगायत क्षेत्रमा ओकेबाज ठूलो सहयोग गरेका छन् । उनकै सहयोगमा विद्यालय जान नपाएका बालबालिकाले राम्रो शिक्षा ग्रहण गर्न पाएका छन् ।

विशेषगरी ओकेबाजेले पाल्पामा रहेर त्यहाँको विविध समस्यालाई जापानका विभिन्न सङ्घसंस्थाको सहकार्यमा सहयोग गरी समस्याको निकास दिँदै आएका छन् । शिक्षा, स्वास्थ्य, सिँचाइ, खानेपानी, भवन निर्माण, आमा समूहलगायतका धेरै क्षेत्रमा उनको सहयोग छ । उनले जापानस्थित साइतामा युनेस्को, रोटरी क्लब जापान, बाजिरा, ओके एसएसलगायत २० भन्दा बढी संस्थामार्फत समन्वय गरी यहाँको सामाजिक क्षेत्रमा रकम खर्चिएका छन् ।

हँसिलो र जिज्ञासु स्वाभावका ओकेबाजे ग्रामीण भेगमा सबै उमेर समूहका व्यक्तिसँग बसेर छलफल गर्ने, समस्या बुझ्ने गर्छन् । गाउँका नागरिकसँग बसेर त्यहाँको रीतिरिवाज, चालचलन, संस्कृतिबारे सोधखोज गर्ने, ग्रामीण जीवन जिउन बढी मन पराउने उनको स्वभाव छ । विसं २०५० देखि पाल्पालाई कर्मथलो बनाएर नितान्त सामाजिक क्षेत्रमा रहेर ठूलो सहयोग गर्दै आउनुभएका ओकेबाजे पाल्पाली गरिब, दुःखी, विपन्न, असहाय वर्गको साहारा बनेका छन् ।

ओकेबाजेले न्यून आय भएका नागरिक, दलित, विपन्न वर्गका परिवारमा अभिभावकको जिम्मेवारी निभाएका छन् । यसरी नेपालमा काम गर्दै जाँदा करिब तीन दशकको समय बितेको उनलाई पत्तो छैन । यसरी नै काम गर्न पाउँदा उनी खुसी छन् ।

आर्थिक समस्याले विद्यालयको हातासम्म पुग्न नसकेका बालबालिकालाई शिक्षाको ज्योति दिने, औषधोपचार, गाउँका विकास निर्माण, खानेपानी, शैक्षिक भवन निर्माण, अक्षयकोष स्थापना, पुस्तकालय स्थापना, आयमूलक काम, स्वास्थ्यलगायतका विभिन्न क्षेत्रमा ओकेबाजेले ठूलो धनराशि खर्च गरेका छन् ।
ओकेबाजे जापानमा शिक्षण पेशाबाट सेवानिवृत्त भएपछि पाल्पामा रहेर सामाजिक क्षेत्रमा उनले काम गरिरहेका छन् । गाउँ–गाउँका गरिब, दुःखी नागरिकलाई सेवा गर्न पाउँदा निकै आनन्द लाग्ने गरेको ओकेबाजेले बताए ।

“गाउँका गरिब, दुःखी नागरिकलाई सेवा गर्न पाउँदा अत्यन्तै आनन्द लागिरहेको छ, समय मिलाएर जापान जान्छु, विभिन्न संस्था, व्यक्तिसँग रकम सहयोग मागी नेपालमा बसेर सामाजिक क्षेत्रमा खर्च गरिरहेको छु, मैले जे चाहेको छु, सबै कुरा पूरा हुँदै गएको छ”, उनले भने ।

नेपालभूमिमा गरेको योगदानको कदर गर्दै नेपाली परम्पराअनुसार २०७९ असोज २३ गते वैदिक परम्पराअनुसार पाल्पाको रामपुरमा चौरासी पूजा तथा नागरिक अभिनन्दन सम्पन्न भएको छ । नेपालमा बसेर गाउँको विकासमा तल्लिन रहने, गरिब विपन्न वर्गका नागरिकको उत्थानका लागि चिन्तन–मनन् गर्ने ओकेबाजे सबैका प्रियपात्र बन्नुभएको गङ्गा मावि रामपुरका प्रधानाध्यापक देवराज देवकोटा बताउछन् ।

“ओकेबाजेका कारण पाल्पामा धेरै विकास निर्माणका काम भएका छन्”, उनले भने, “उनले गरेको लगानीले सही ठाउँमा सदुपयोग हुँदा पाल्पालीले धेरै लाभ लिन पाएका छन्, उमेर ढल्किँदै गए पनि उनको सामाजिक क्षेत्रमा काम गर्ने चाहना अझै बढ्दै गएको छ ।”

पाल्पावासीमा पु¥याउनुभएको योगदानको कदर गर्दै ओकेबाजेलाई २०७० सालमा रामपुर नगरपालिकामा र २०७६ सालमा सदरमुकाम तानसेनमा पाल्पाका नागरिकद्वारा संयुक्तरूपमा अभिनन्दन गरिएको थियो । ओकेबाजेले मानार्थ नेपाली नागरिकताको अपेक्षा गरेका छन् । त्यसका लागि प्रक्रिया अगाडि बढाइएको छ । जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलाई सिफारिस पत्र पठाएको छ । आवासीय भिसा भने उनले पाइसक्नुएको छ ।

“जीवनको अन्तिम समयसम्म नेपालकै भूमिमा नै बिताउन मन छ”, ओकेबाजे भन्छन् । उनले आफ्नो केही जीवनको अवशेष छोराछोरीलाई जापान पठाउन आग्रह गरे । पाल्पाली र समग्र नेपालीको मायालाई आफूले कहिल्यै पनि भुल्न नसक्ने उनी बताउछन् । सबैलाई हँसाउने र खुसी पार्ने ओकेबाजे सबैका मन–मनमा बस्न सफल भएका छन् ओकेबाजे । उनले सामाजिक क्षेत्रमा गर्नुभएको योगदानलाई यहाँका नागरिकले कहिल्यै भुल्न नसक्ने रामतुलसी मावि रामपुरका शिक्षक लेखनाथ शर्मा मरासिनी बताउछन् ।

“अत्यन्तै सरल, निस्वार्थ स्वभाव, गरिब, दुःखी विपन्नको उत्थानका निम्ति उहाँको सहयोग योगदानले सबै उमेर समूहका मानिसलाई प्रभावित बनाएको छ”, उनले भने । आजभन्दा तीन दशकअघि पहिलोपटक पाल्पा पुगेका ओकेबाजे हालको पूर्वखोला गाउँपालिका–२ जल्पास्थित ढोलीमारामा पुगे ।उनी त्यहाँ पैदलयात्राका सहयोगी ढोलीमाराका तिलक आलेमार्फत पुगेका थिए ।
एक हप्ताको बसाइका लागि पुग्नुभएका ओकेबाजे स्वास्थ्यमा समस्या आएपछि केही दिनमै जापान फर्किए ।

ढोलीमारामा बस्ने क्रममा त्यहाँका समुदायका बालबालिका, नागरिकको अवस्था अत्यन्तै दयनीय देखेपछि उनले स्वास्थ्योपचार र शैक्षिक क्षेत्रमा सहयोग गर्न थाले । “ढोलीमारामा बस्ने क्रममा कोही बालबालिका नाङ्गै छन्, कोही भोकै छन्, औषधि नपाएर नागरिक जीवनमरणको दोसाँधमा बाँचिरहेको देखेपछि केही सहयोग गर्न थालेको हुँ”, ओकेबाजेले भने । अर्थाभावमा विद्यालय नजाने बालबालिकालाई शैक्षिक सामग्री, पोशाकलगायत उनले सहयोग गर्न थाले ।

विशेषगरी यो क्षेत्र मगर समुदायको बाक्लो बस्ती रहेको र गरिब, विपन्न परिवारका नागरिक समस्यामा थिए । उनीहरूको अवस्थालाई मध्यनजर गर्दै ओकेबाजेले पाल्पामै बसेर सामाजिक क्षेत्रमा सहयोग गर्ने मनसाय बोकेर केही दिनको जापान बसाइपछि पुनः पाल्पा फर्किए ।

“मान्छे बिरामी छन्, उपचार गर्न उनीहरूसँग पैसा नभएको देखेपछि सहयोग गर्न थालेँ, उनीहरूको जीवनरक्षा र शिक्षाबाट बञ्चित बालबालिकालाई शिक्षाको मूलधारसम्म पु¥याउन दुर्गम गरिब विपन्न परिवारबाट सहयोग सुरु गरेको हुँ”, ओकेबाजेले भने ।

ओकेबाजेले ढोलीमाराबाट सुरु गरेको सामाजिक सहयोग अभियान अहिले पाल्पा र नवलपरासीका विभिन्न क्षेत्रमा निरन्तररूपमा अगाडि बढाइराखेका छन् । पाल्पा र नवलपरासीमा गरी हालसम्म दुई सय बढी विद्यालयमा भवन निर्माण, शैक्षिक सामग्री र अक्षयकोष स्थापना गरेका छन् । उनले दुर्गम र विकट क्षेत्रका नागरिकलाई गाउँ–गाउँमा आँखा उपचार शिविर आयोजना गरी औषधोपचार सेवा दिँदै आएका छन् ।

ओकेबाजेले नेपाली भाषा मज्जाले बोल्छन् । सुरुमा नेपाली भाषा नबुझ्दा गाउँका नागरिकले जे सोधे पनि अङ्ग्रेजीमा ओके भन्ने गरेका कारण उनको नाम ओकेबाजे रहन गएको हो । आफूलाई ओकेबाजे भनेर सम्बोधन गर्दा असाध्यै खुसी लाग्ने उनी बताउछन् । जापानको टोकियो सहरमा सन् १९३९ जुन ८ तारिखका दिन बुवा साइस्के काकिमी र आमा उमे काकिमीको कोखबाट जन्मिएका ओकेबाजे बाल्यकालदेखि नै सामाजिक कामबाट प्रेरित थिए ।

अठ्ठाइस वर्षको उमेरमा श्रीमती कियोको काकिमीसँग विवाहबन्धनमा बाँधिएका ओकेबाजेका एक छोरा र एक छोरी छन् । उनले स्नातक तहसम्मको औपचारिक अध्ययन गरेका छन् ।
सन् १९८८ मा पहिलोपटक ओकेबाजे सोलुखुम्बुमा पैदलयात्राका लागि नेपाल आएका हुन् । त्यसयता उनको नेपालयात्रा निरन्तर जारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी