दार्चुला बालक मृत्यु घटना : भारतीय निर्माण कम्पनीले पीडितलाई १६ लाख क्षतिपूर्ति दियो

दार्चुला बालक मृत्यु घटना : भारतीय निर्माण कम्पनीले पीडितलाई १६ लाख क्षतिपूर्ति दियो

  • आइतवार, कार्तिक १३, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

सडक निर्माणका क्रममा नेपाली बालकको मृत्यु भएको घटनामा भारतीय निर्माण कम्पनीले पीडित परिवारलाई रु १६ लाख क्षतिपूर्ति दिएको छ । गए राति भारतीय निर्माण कम्पनी, भारतीय प्रशासन, पीडित परिवारका सदस्य र स्थानीय नेपाली जनप्रतिनिधिबीच सो रकम उपलब्ध गराउने सहमति भएको हो ।

भारतीय सडक निर्माण कम्पनी ‘गर्ग एण्ड गर्ग’का प्रतिनिधिले पीडित परिवारलाई नगद रकम हस्तान्तरण गरेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो । “सडक निर्माण कम्पनीले नगद रकम हस्तान्तरण गरेको छ”, उहाँले भन्नुभयो, “नगद रकम मृतक बालकका बुबा र आमाको नाममा संयुक्त खाता खोलेर जम्मा गरिने छ ।” छठ पर्वका कारण आज बैंक बन्द भएकाले सोमबार संयुक्त खाता खोलेर रकम जम्मा गरिने प्रजिअ उपाध्यायले बताउनुभयो । “हाललाई नगद रकम मृतक बालकको बुबा हिक्मत महराको जिम्मा लगाइएको छ”, उहाँले भन्नुभयो ।

दार्चुलाको ब्यास गाउँपालिका–२ दुम्लिङस्थित महाकाली नदी पारीको भारतीय क्षेत्रमा शुक्रबार बिहान सडक निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गरेपछि उछिट्टिएको ढुङ्गाले लागेर स्थानीय नेपाली बालक नौ वर्षीय पवन महराको ज्यान गएको थियो । महरा महाकाली किनारमा नेपाली क्षेत्रमा बुबा, आमा, दिदी र भाइहरुका साथमा हिँडिरहेका बेला उक्त घटना घटेको हो । “हामी महाकाली किनार हुँदै घर फर्किदै थियौँ, एक्कासी ढुङ्गाले लागेर छोरोको घटनास्थलमै ज्यान गयो”, मृतक बालकका बुबा हिक्मतले भन्नुभयो, “घटनामा छोरी सरिना पनि घाइते भएकी छिन ।” उहाँको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

मृतक बालकका बुबा हिक्मतका अनुसार गए राति भारतको धारचुलास्थित सहायक प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा निर्माण कम्पनीले नगद रकम हस्तान्तरण गरेको हो । भारतीय पक्षसित क्षतिपूर्तिका लागि शनिबार दिनभर छलफल भएको थियो । छलफलमा ब्यास गाउँपालिकाका अध्यक्ष मङ्गलसिंह धामी, वडा नम्बर २ का वडाध्यक्ष धीरन बुढाथोकीलगाययत जनप्रतिनिधि सहभागी रहेको हिक्मतले जानकारी दिनुभयो । “उपलब्ध रकम अरु सन्तानलाई पढाउन खर्च गर्छु”, उहाँले भन्नुभयो । घटनापछि भारतीय निर्माण कम्पनीले गल्ती स्वीकार गर्दै पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने सहमति गरेको हो ।

महाकाली किनारमा भारतले आफ्नो क्षेत्रमा सडक विस्तार गर्ने क्रममा नेपाली पक्षलाई जानकारी नदिइकन विस्फोटक पदार्थ प्रयोग गरेको थियो । भारतीय पक्षले बिनाजानकारी सडक निर्माण गर्ने क्रममा बिस्फोटक पदार्थ प्रयोग गर्दा ढुङ्गाले लागेर बालक महराको मृत्यु भएको थियो । अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा बिनासूचना पटक पटक विस्फोटक पदार्थ प्रयोग गर्ने गरेकामा नेपाली पक्षले आपत्ति जनाएको थियो । मृतक बालक महरा दुम्लिङस्थित सर्वहित आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत थिए । महरा परिवार दसैँ तिहारको बिदामा गाईवस्तु तथा भेडाबाख्रा चराउन लेक उक्लिएको थियो । यही कात्तिक १४ गते विद्यालय खुल्ने भएपछि उनीहरु गाउँ फर्किँदै थिए ।

भारतीय सडक निर्माण कम्पनी गर्ग एण्ड गर्गले भारतीय क्षेत्रमा हाल सडक चौडा बनाउँदै छ । त्यसका लागि बेला बेलामा उनीहरुले विस्फोटक पदार्थ प्रयोग गर्ने गरेका छन् । अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा कुनै पनि भौतिक संरचना निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गर्ने अवस्था आएमा एकअर्कालाई त्यसबारे जानकारी गराउनुपर्ने हुन्छ । “यस्तो अवस्थामा दुवै देशका स्थानीय प्रशासनबीच समन्वय हुनुपर्छ”, प्रजिअ उपाध्यायले भन्नुभयो । तर शुक्रबार भारतीय पक्षले विस्फोटक पदार्थ प्रयोगबारे कुनै जानकारी नदिएको उपाध्यायले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी