कार्तिक ११ दार्चुला । दार्चुलामा सीमा पारी भारतीय पक्षले विष्फोट गराउदा उछिटिएको ढुंगा लागेर एक नेपाली बालकको मृत्यु भएको छ ।
ब्यास गाउँपालिका–२ तम्बाकुस्थित भारतमा विष्फोट गरिएको ढुंगा उछिट्टिएर बाटोमा हिँडिरहेका हिक्मत महराका ९ वर्षीय छोरा पवन महराको मृत्यु भएको वडाध्यक्ष धिरनसिंह बुढाथोकीले बताए ।
वडाध्यक्ष बुढाथोकीका अनुसार बिहान साढे ९ बजेतिर ब्यास गाउँपालिका–२ स्थित तम्बाकु नजिकको थि भन्ने ठाउँबाट दुम्लिङ्तर्फ आफ्ना बुवा र बहिनीसँगै आइरहेका पवनको सीमा पारि भारतबाट आएको ढुंगा लागेको थियो।
भारत पिथौरागढ जिल्लाको धारचुला अन्तर्गत तवाघाट–लिपुलेक सडक खण्डको लखिमपुरको चट्टानी भू–भागमा सडक निर्माण गरिरहेको गर्ग एण्ड गर्ग निर्माण कम्पनीले सीमा क्षेत्रमा कुनै पूर्व सूचना नदिई विष्फोट गराउँदा यो घटना भएको हो ।
उनका अनुसार पवनसँगै हिँडिरहेकी हिक्मतकी छोरी पारिबाट उछिट्टिएर आएको ढुंगा लागेर घाइते भएकी छन् ।
सो क्षेत्रमा भारतले नेपाल तर्फ ठूलो क्षति हुने गरी एकतर्फी बाटो बनाईरहेको छ । नेपाल सरकारको तर्फबाट कुनै पनि दबाब भारतमाथि पुगेको छैन ।