सामाजिक सन्जाल,युट्युब तिर तिहारको शुभकामना,धेउसी भैलीको गीत बज्न थालेपछि तिहारमा माहोल आफै बन्दोरहेछ। घर-छिमेक,साथी भाइ,आफन्तहरु सङ्ग आफुले गरेका ,बोलेका कुराहरु स्मरण बनेर आउँदा ड्युटी जाने तरखरमा बसेको मलाई ड्युटी जानै मन लागेन। घरमा सेलरोटी पकाए पछी हातमा चुरा झै लगाएर,खादै,उफ्रदै गर्ने त्यो बालापन सङ्गै घरको याद झलझली आँखा मा नाच्न थाले। सबैको छुट्टी भएर होला सबैलाई अनलाइन मै देख्छु।
घर आगनमा सयपत्री र मखमली फूलहरुको मीठो बास्नालाई यहीँबाट सुघे,झलझली देखे। तगारोमा बसेर साथीहरू बिच धेउसिरे र भैलेनी खेल्ने कार्यक्रम यहीँबाट तयार गरे। बेलौतीको रुखमा चढेर बेलौती खादा तलबाट तानेर पछारिएको घटना यहीँबाट सम्झिए। तिहारमा नयाँ लुगा नलगाई दीदीले ल्याईदिएको नया लुगा लगाएर पिङ्ग खेल्न जाने त्यो चौर लाई सम्झे। अब सायद फेरि त्यो बालापन र यस्ता रमाइला पलहरु के फर्केर आउला र?
फेसबुकको भित्तोमा तिहारको सबैमा शुभकामना भनी पोस्ट्याए। गाउँ घरको याद तिहारको त्यो रमझम सम्झना गर्दा गर्दै डियुटी तिर हतारिएर लागे। समय ढिलो भैसकेको थियो। जादा जाँदै बाटोमा मालिकको फोन आयो। तेरा वापको घर हे क्या? तुजे नोकरी करना नै हे क्या?
मैले जवाफ केही फर्काईन। बाटोमा जाँदै गर्दा फेरि दिदिको फोन आयो। दुईपटक सम्म काटे। मनमा तनाब र डरले बास बसेको थियो भने यता फोनमा दिदीको फोन बजिरह्यो।तर मन थाम्न नसकेर उठाएर पछि गर्छु है दिदी भनेर काटिदिए तर दिदीको आवाज सुनिरहेको थिए।
कम्पनीमा हतार हतार गर्दै त पुगे तर हाजिर गर्न लाग्दै गर्दा मालिक सङ्ग जम्काभेट भयो। गोल्भेडा जत्रो आँखा बनाएर भन्यो- तुमारा नोकरीका आनेका टायम यहि है? क्या तुम घुम्ने आए हो? गल्ती त आफ्नै थियो तर पनि त्यसरी बोलेको सुन्दा हेपिएको महसुल भयो र एक हानेर हिडिदिउ तर बाध्यता छ गर्न गाह्रो र परदेशको ठाउँमा केही नबोलि काममा खटिए।
यता गाली र तनाब छ तर मनमा त्यही दिदीको फोन र गाउँ घर सम्झना छ। मन नलागेर भएपनि काममा खटिरहे। भन्ने बित्तिकै छुट्टि पनि नमिल्ने, नेपाली म मात्रै भएकोले सार्है पेल्ने। घरतिर बाट फोन आउँदा पनि नेपालीमा बोल्दा अनेक केरकार गर्न थाल्ने भएकोले आफुले पनि यहिको भाषा बोल्न बाध्य हुन थाले।
त्यो दिनभर मेरो काममा देखेको ढिलाइ र लोसेपनले गर्दा फेरि मार गाली खाए। रिसाएर मालिकले काम गर्ने भए राम्रो सङ्ग गर नत्र छोडेर जान सक्छस भनेर बेस्सरी रिसायो। मलाई भने मेरै पछाडी किन आज लागिपरेका छन् ? अरु बसेको देख्दा केही भन्दैन तर म एकछिन बस्दा गाली गर्छ।
मालिक कठोर मुस्लिम म हिन्दु। मेरो चाडबाडमा छुट्टि किन दिन्थ्यो र? अघि दिदीको फोन आउँदा पछि गर्छु भनेको भुसुक्कै बिर्सेछु।२-३ पटक मिस्कल आईसकेको रहेछ। फोनमा ब्यालेन्स हेरे ५ मिनेट जतिलाई पुग्दो रहेछ। अलि कुनामा गएर फोन गरे। एक कलमै फोन उठाईन दिदीले। कति धेरै ब्यस्त भाको तिहारमा पनि फोन उठाउन पनि गार्हो भो भाईलाई। यस पटक त घर आउछस भनेर सोचेथे ५ बर्ष भैसक्यो टीका लगाउन नपाएको पनि बाबु । यति भन्न नपाउदै आँखा रसाएर आयो उता फोनमा सुक्क सुक्क गर्दै भन्न थालीन। मेरो माईती भन्नू त मात्रै त होस् तर परदेशी हुनुको पिडा मलाई पनि त छ नि । मन त मेरो नभएको हो र दिदी तर बाध्यतामा छु भनेर भन्न मन त थियो नि तर उसलाई थप दु:खि बनाउन मनले मानेन। फोटोमा ठुला र सुन्दर सहर अनि भब्य झिलिमिली र हासिरहेको देखे पनि भित्र त पीडा हुन्छ नै देखाउन यो देखाउदैनौ हामी परदेशीहरु ।
काठमाडौं जस्तो भए आएर टिका लगाएर फर्कन्थे तर सात समुन्द्र पार छु। तिहारमा दाजुभाइ सम्झने र अरु चाडपर्वमा चेलिबेटी सम्झिने,भेटघाट गर्ने त हो नि तर के गर्नु मनमनै त सम्झेको छु नि तर केही बोलिन। दिदीले आफ्नो भाइलाई सम्झिन तर मैले सुनिरहे। उनी बोलिरहिन। बिचबिचमा हेल्लो …. हेल्लो भनिरहिन।
म … अ! सुन्दैछु भन्नू न। आज म सुनिरहन्छु। फोन कटियो। म काम तिर लागे फेरि फोन आयो। मैले ब्यालेन्स राखेर गरेको छु तेरो सकियो जस्तो छ बाबु । मैले उम… भनिरहे। अब अझै कति बर्षमा तिहारमा दिदीभाइ बसेर टीका लगाउन पाउछु त मेरो भाइ?
एक्कासी मेरो बोली फुट्यो- यो बर्ष पनि फोटोमै टीका लगाईदेउ दिदी भन्दै फोन काटिदिए। गरिबिको कारण ऋण तिर्न नसकेर परदेशी भएकोमा आफ्नो खुशी सङ्गै पसिना साट्दैछु। उमेर सङ्गै रहरहरु मार्दैछु। के गर्नु देशको राजनितिक अबस्थाले मलाई यहाँ सम्म ल्याई पुर्यायो। मेरो त यसपालिको तिहार यस्तै भए पनि हजुरहरुलाई तिहारको धेरै शुभकामना । दिदी भाइ बिच रमाईलो गरि मनाउनुहोला है।