कार्तिक ९ काठमाण्डौँ । आजबाट नेपाल संवत ११४३ शुरु भएको छ । यस संवत अनुसार आजबाट नयाँ वर्ष लाग्नेछ । यो संवतलाई नेवार समुदायको रुपमा मात्र हेरिएकाले यसको व्यवहारीक कार्यन्वयन गर्नु पर्ने माग सेलाउदै गएको छ ।
पटक पटक समितिहरु बने पनि यसलाई मूर्त रुपमा लागू गर्न सरकारले सकेको छैन ।
राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको शुरुआत गराएका थिए ।
नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए ।
विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । तर पनि सफल हुन सकेको छैन ।
गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए ।
विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने परम्परा समेत काठमाडौँमा अझै छ ।
आजैको दिन नेवार समुदायमा म्हः पूजा समेत गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसहरूले आफ्नो म्हः पूजा पर्व मनाउने गर्दछन् ।
यस वर्ष मंगलबार र बुधबार दुई दिन प्रतिपदा तिथि परेको छ । भक्तपुरलगायत केही स्थानमा भने हिजो नै नेपाल संवत्को नयाँ वर्ष मनाइएको छ । यसैगरी एकथरी नेवार समुदायले मंगलबार म्हः पूजा गरिसकेका छन् भने अर्काथरीले आज गर्दैछन् ।