भक्तपुर, ३१ असोज । भक्तपुर प्रहरीले १२ वर्षअघिदेखि फरार एक अभियुक्तलाई पक्राउ गरेको छ ।
२४ माघ ०६७ मा दाङ साबिक सैघा गाविस–२ कोइला बस्ती (हालको घोराही उपमहानगरपालिका– १९ बस्ने ३२ वर्षका सूर्यबहादुर रानाको हत्या मुद्दामा दाङ देउखुरी जिल्ला अदालतबाट जन्मकैद कैद सजाय फैसला भएको थियो ।
त्यसबेलादेखि हालसम्म फरार रहेका उनलाई भक्तपुर प्रहरीले पक्राउ गरेको हो । प्रेमबहादुर रानालाई प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले ठिमी संगमचोक भक्तपुरबाट नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
पक्राउपछि उनलाई जिल्ला अदालत भक्तपुरमा पेश गरेको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए । रानालाई अदालतको आदेशले तोकिएको कैद भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौ चलान गरेको उनले जनाए ।
मृतक सूर्य बहादुर राना घटना अघि २ बर्ष कतारमा बसेका थिए। त्यो समयमा उनकी श्रीमती बिन्दु राना छिमेकी देवर नाता पर्नेसँग अनैतिक सम्बन्धमा रहेको र कतारबाट फर्किएको ५ दिनमै श्रीमानको हत्या गरेको खुलेको छ।
सूर्यबहादुर २०६७ माघ १९ गते कतारबाट फर्किएका थिए। २४ गते रातको समयमा प्रेम बहादुर राना र बिन्दु राना मिली जाँडमा धतुरो मिसाएर खुवाई बेहोस बनाई घाँटी थिची हत्या गरी डोकोमा बोकेर जंगलको भिरालो खोल्सामा फालेका थिए।