काठमाडौं, २२ असोज । एमाले पोलिटब्युरो सदस्य एवं पूर्वसांसद बालकृष्ण ढुंगेल मृत अवस्थामा भेटिएका छन् ।
ओखलढुंगाका नेता ढुंगेलको काठमाडौं काँडाघारीस्थित निवासमा नै मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भरत बोहोराका अनुसार घरमा एक्लै रहेका ढुंगेल आज विहान बाथरुममा मृत भेटिएका थिए। उनी चिप्लिएर लडेको हुनसक्ने बताइएको छ।
पारिवारिक सदस्य अर्जुन ढुंगेलका अनुसार नेता ढुंगेल लामो समयदेखि किड्नीका बिरामी थिए। डेंगु भएपछि उनी घरमै आराम गरिरहेका थिए।परिवारका अरु सदस्य बर्दिबास गएकाले ढुंगेल घरमा एक्लै थिए ।
२०६४ सालमा ओखलढुंगा जिल्लाबाट माओवादीबाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । सशस्त्र युद्धकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठ हत्या अभियोगमा सर्वोच्च अदालतबाट दोषी ठहर भई जेल सजाय भोगेका उनी २०७५ सालमा गणतन्त्र दिवसका अवसरमा रिहा भएका थिए ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भएर बनेको तत्कालिन नेकपा विभाजित भएपछि ढुंगेल एमालेमै बसेका थिए । उनी हाल एमालेको पोलिट्ब्यूरो सदस्य थिए ।