रूपन्देही, २० असोज । नेकपा एमाले रुपन्देहीकी युवा नेतृ २१ वर्षीया झरना चौधरीको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ ।
बुधबार साँझ रुपन्देहीको धकधईमा कारले स्कुटरलाई ठक्कर दिदाँ स्कुटरमा सवार चौधरीको मृत्यु भएके प्रहरीले जनाएको छ । लु ४१ प ९८७ नम्बरको स्कुटरमा सवार उनलाई लु १ ज २८५३ नम्बरको कारले ठक्कर दिँदा घाइते भएकी थिइन् ।
उपचारका लागि भीम अस्पताल पुर्याइए पनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।
चौधरी एमाले लुम्बिनी सांस्कृतिक नगरपालिका ६ की वडासचिव हुन् भने अनेरास्ववियु जिल्ला कमिटी सहसचिव पनि हुन् ।
राजनीति र सामाजिक क्षेत्रमा सक्रिय चौधरी एमाले लुम्बिनी सांस्कृतिक नगरपालिका ६ मा सर्वसम्मत रुपमा सचिवमा चयन भएकी थिइन् । तिलोत्तमा– ३ सिर्जनानगर स्थायी घर भएकी उनी परिवारसहित लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित लुम्बिनी बौद्ध विश्वविद्यालयमा बस्दै आएकी थिइन् ।
बुधबार घरमा दसैंको टीका लगाएर नवलपरासीस्थित मामाघर जाँदै गर्दा दुर्घटनामा परी चौधरीको मृत्यु भएको एमाले जिल्ला कमिटी सदस्य सन्दीप गुप्ताले बताए ।