काठमाडौँ, १६ असोज। नेपाली सेनाले फूलपाती बढाइँ गरेको छ । काठमाडौंस्थित टुँडिखेलमा सेनाले फूलपातीको दिनको अवसरमा फूलपाती बढाइँ गरेको हो । सेनाले हरेक वर्ष फूलपातीको दिनमा टुँडिखेलमा फूलपाती बढाइँ गर्दै आएको छ ।
फूलपाती बढाइँ समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारीमा नेपाली सेनाको सम्मान गारतले सलामी अर्पण गरेको थियो ।
फूलपाती बढाइँ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, नेपाल सरकारका मन्त्रीहरु तथा सरकारका उच्च पदस्थ कर्मचारीहरुको उपस्थिति थियो ।
फूलपाती बढाइँ समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो भने विभिन्न कला कौशल पनि देखाइएको थियो ।

सेनाको बढाइँ टोलीले राइफलबाट विभिन्न पाटाहरुबाट छिटो लहरे, एकठ्ठा र दुर्गायन्त्र आकृतिसमेत बनाई बढाइँ गर्नुका साथै तोपबाट पनि बढाइँ गरेको थियो । यस्तै कार्यक्रममा नेपाली सेनाको महिला गुल्मसमेत सम्मिलित टोलीबाट मार्च पास प्रदर्शन गरिनुका साथै नेपाली सेनाको ब्यान्डबाट मालश्री धुन तथा दुर्गा भजनको धुनसमेत प्रस्तुत गरिएको थियो ।
कोभिड–१९ सङ्क्रमणका कारण अघिल्लो वर्ष साङ्केतिकरूपमा मात्रै फूलपाती बढाइँ गरिएको थियो । बडादसैँँको सप्तमी अर्थात् फूलपातीका दिन सेनाले हरेक वर्ष सैनिक मञ्च टुँडिखेलमा भव्य समारोहका बीच फूलपाती बढाइँ गर्दै आएको छ ।

गोर्खाबाट ल्याइएको जमरा र फूलपाती हनुमान ढोकाको दसैँँ घरमा भित्र्याउने साइत मिलाएर टुँडिखेलमा फूलपाती बढाइँ गर्ने चलन छ । सैनिक मञ्चको बढाइँ हेर्न टुँडिखेल वरपर नागरिकहरुको बाक्लो उपस्थिति थियो ।





