काठमाडौं महानगरपालिकाले शुक्रबार मध्य-सहरको थायमदु (बांगेमुढा) स्थित ४४ वर्ष पुरानो सामुदायिक घरमा डोजर चलाएपछि स्थानीय बासिन्दाले ‘डोजर आतंक बन्द गर’ भन्दै शनिबार महानगरविरूद्ध प्रदर्शन गरेका छन्।
साँझ ५ बजे थायमदुको इखानारायण मन्दिर परिसरमा स्थानीयको बाक्लो उपस्थितिबीच प्रदर्शन सुरू भएको थियो।विरोध प्रदर्शन क्रममा स्थानीयले महानगरका मेयर बालेन शाहको पुत्ला जलाएका छन्। उनीहरूले त्वा: छेँ पुनर्निर्माणको माग गर्दै ‘रिस्टोर त्वा छेँ’ भनेर अभियान सुरू गरेका छन्।
महानगरले सर्वोच्च अदालतमा विचाराधीन मुद्दासमेत बेवास्ता गर्दै शुक्रबार बांगेमुढाको सामुदायिक घरमा डोजर चलाएको थियो। अदालतमा मुद्दा विचाराधीन रहेको कागजपत्र देखाउँदा देखाउँदै महानगरले ठूलो संख्यामा नगर प्रहरी र जनपद प्रहरी बल प्रयोग गरेर स्थानीय बासिन्दालाई लछारपछार पार्दै डोजर चलाएको हो।यो घरलाई स्थानीयहरू ‘थायमदु त्वाः छेँ’ भन्छन्। नेवार भाषामा ‘त्वा छेँ’ भनेको टोलको सामुदायिक घर हो। यो साबिकको वडा नम्बर २८ र हालको वडा नम्बर २५ मा पर्छ।

विभिन्न सामुदायिक गतिविधि सञ्चालन गर्ने उद्देश्यले स्थानीय समुदायकै आर्थिक स्रोत र श्रमदानमा २०३५ सालमा यो घर बनेको त्वा छेँका अध्यक्ष रमेश श्रेष्ठले बताएका छन्। घरभित्र रहेको शिलालेखमा पनि त्वा छेँ निर्माण गर्न आर्थिक सहयोग गर्ने व्यक्ति र उनीहरूले दिएको रकम उल्लेख गरिएको छ।