बिरगंज ९ असोज । बिरगंजको छपकैयामा चट्याङ लागेर एक जना युवकको मुत्यु गएको छ । सोही क्रममा तीन जना घाइते पनि भएका छन् । सोमबार बिहान वर्षासँगै खसेको चट्याङले लागेर वीरगन्ज महानगरपलिका वडा नम्बर २ छपकैयाका राम प्रसाद उपाध्यायका १५ वर्षीय छोरा सिद्धान्त उपाध्यायको ज्यान गएको हो ।
छपकैयाको ईदगाह चोक स्थित छठ घाट पोखरी नजिकैको चौरमा क्रिकेट खेलिरहेको अवस्थामा चट्याङ खसेको थियो । त्यसक्रममा सिद्धान्त सहित स्थानिय २९ बर्षिय फुलनेसा खातुन र भिखारी राउतको १३ वर्षीय छोरा अर्जुन राउत घाईते भएका थिए ।
उनीहरुलाई उद्धार गरेर उपचारका लागि नारायणी अस्पताल पुरयाउदा सिद्धान्तको मृत्यु भईसकेको जानकारी अस्पतालले दिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
घाइते मध्ये अर्जुनको अवस्था गम्भिर छ । उनलाई थप उपचारका लागि नेशनल मेडिकल कलेजमा लगिएको छ । अर्की घाइते फुलनेसाको अवस्था भने सामान्य रहेको र उनको नारायणी अस्पतालमै उपचार भईरहेको छ ।
सोमबार नै बिहान चट्याङले लागेर पर्साको बिन्दवासिनी गाउँपालिका– ४ अमरपट्टी बस्ने २५ वर्षीय कुन्दन दास घाईते भएका छन् । बिहान शौचालय जाने क्रममा उनलाई चट्याङले लागेको थियो । नारायणी अस्पतालमै उपचारत उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।