मदन स्मारक माध्यमिक विद्यालय पुल्चोक ललितपुर उपत्यकामा रहेका सरकारी तथा सामुदायिक विद्यालयहरु मध्ये अविभावकको लागि आकर्षकको विद्यालयको रुपमा रही आएको थियो र छ पनि । विद्यालय हुनको लागि सबै भन्दा पहिला विद्यार्थी,विद्यालयको भौतिक पूर्वाधार, शिक्षक, र अविभावकको समिश्रण नै विद्यालय हो । हरेक अविभावकहरुले आफ्ना नानीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने अपेक्षा गरेका हुन्छ । गुणस्तरीय शिक्षाको लागि दक्ष शिक्षक, प्रयाप्त भौतिक पूर्वाधार तथा उपयुक्त शिक्षण समाग्रीहरुको प्रयाप्तता, लगनशील विद्यार्थी र सचेत अविभावकको त्यतिकै खाँचो रहन्छ ।यस मदन स्मारक विद्यालयमा पढेकै कारणले कुनै विद्यार्थी फेल हुन सक्दैन । किन भने यहाँ विद्यार्थीहरुलाई पढ्ने उचित वातावरण छ । दक्ष एवम अनुभवि शिक्षक हुनु हुन्छ । इमान्दार अविभावकहरु तथा कटिवद्ध विद्यालय व्यवस्थापन समिति रहेको छ ।त्यसै गरी विद्यालय प्रशासन कुशल, अनुभवि, लगनशील र प्रतिवद्ध हुनु हुन्छ ।
म एक अविभावकको नजरमा मेरा ५ जना छोराछोरीहरुले यसै विद्यालयमा अध्ययन गरेर एक जना स्नातकोत्तर व्यवस्थापन (MBS) अध्ययनरत, एकजना कानून स्नातक(BALLB) गरिसकेको, एकजना स्नातक मानविकी अंग्रेजी (BA) र एक जना ११ कक्षामा विज्ञान बिषय लिएर अध्ययनरत छ भने छोरा पुरुषोत्तम यसै विद्यालयमा कक्षा ६ मा अध्ययनरत रहेको छ । यस विद्यालयबाट तीन जना नानीहरुले ६० देखि ७३ प्रतिशत अंक प्राप्त गरी SLC उत्तिण गरे भने एक जानले GPA३.३० ( ग्रेड A ) प्राप्त गरी SEE पास गरिसेको छ । म २०६४ सालदेखि यस विद्यालयको अविभावक हुँ र अहिले पनि छु ।यस अवधिमा मैले कुनै पनि नानीलाई अन्य स्कुल यसभन्दा राम्रो छ त्यहाँ पढाउन पाए हुन्थ्यो भन्ने लागेन । हाल आएर सबै अविभावकको निजी विद्यालय तथा बोर्डिङ्गमा पढाउन पाए हुन्थ्यो भन्ने लाग्न सक्दछ तर मलाई ४ जना छोरीहरुलाई १६ वर्षको अवधिमा एउटै विद्यालयमा अध्ययन गराउदा कहिले पनि अन्यत्र पढाउने सोच आएन ।बोर्डिङमा पढिरहेको छोरा पनि यसै वर्षदेखि यसै विद्यालयमा भर्ना गराएको छु । अहिले पनि मलाई मेरा नानीहरुलाई बोर्डिङ्गमा पढाउन पाएन भनेर न आत्मग्लानी भएको छ भने नानीहरुलाई पनि मेरो बुबाले हामीलाई बोर्डिङ्ग स्कुल पढाएनन भन्ने कुनैलाई पनि कहिले लागेन ।उपत्यका बाहिरबाट सरकारी सेवाको सिलसिलामा हरिहरभवन स्थित पशु सेवा विभाग अन्तरगतका कार्यालयमा कार्यरत रहनु पर्दा नजिकको विद्यालय मदन स्मारक मात्र थिएन । म काठमाडौं उपत्यकामा पस्दा बच्चाहरुलाई कुन स्कुलमा पढाउने भन्ने साथीहरुलाई सोध्दा मदन स्मारकमा भर्ना हुन सके राम्रो हुन्छ भनेर सुझाएका थिए । आज पनि उनीहरुले दिएको सुझाव सल्लाह मेरोलागि डगमगाएको छैन ।
अधिकांश विद्यार्थीहरु कामको शिलसिलामा बाहिरबाट आएका अविभावकहरुको नानीहरुको बाहुल्यता रहेकोछ ।यही विद्यालय रोजाई बच्चालाई बोर्डिङ्ग स्कुल पढाउन नै नसकेर मात्र होइन ।यहाँको शैक्षिक वातावरण महत्वपूर्ण कुरा हो । विद्यालयमा विद्यार्थीलाई अनुशासनमा राख्नु नै ठुलो कुरा हो । विद्यार्थीको ज्ञान (Knowledge) सीप (Skill) र मनोवृति (Attitude) विकासलाई संगसंगै लैजान सक्नाले मात्र एक असल एवम सक्षम नागरिक बन्न सक्दछ ।यस विद्यालयबाट उत्पादित विद्यार्थीहरुको विशेषता हो । यस अगाडि कति जनाले अध्ययन गरे होलान अव कति अध्ययन गर्लान मेरो नजरमा कुनै गुनासो गर्नु पर्ने खासै केहि रहेन । खाँचो एउटा के छ भने कतिपय अविभावकहरुले कुशल तथा असल अविभावकको भूमिका सही ढंगले निर्वाह गर्न सकेको छैन होला यो उनीहरुको रहर नभई बाध्यता हुनसक्दछ ।अविभावकहरुलाई कर्तव्यपरायण गराउनको लागि विद्यालय प्रशासन तथा व्यवस्थापन समितिले समय समयमा अविभावकहरुसंग अन्तरक्रिया निरन्तर गरीएकै छ ।सानो तिनो कमी कमजोरी सबै ठाउँमा हुन्छ । कसरी हरेकले आ-आफ्नो कमीकमजोरीलाई न्यूनिकरण गर्न सकिन्छ भन्ने तर्फ ध्यान दिनु अत्यन्त जरुरी छ । विद्यालय हामी सबैको हो ।यसलाई अझै राम्रो बनाउनको लागि सरोकारवाला सबैले सधैं निरन्तर प्रयासरत रहुन पनि त्यतिकै जरुरी रहेको छ ।विद्यालय ज्ञान अर्जन गर्ने महत्वपूर्ण एवम् औपचारिक थलो हो । ज्ञान प्राप्तिको लागि अध्ययन, चिन्तन र मननले मात्र सम्भव हुन्छ ।त्यसकारण सरोकारवाला सबैले काँधमा जिम्मेवारी, हृदयमा इमान्दारी र मस्तिष्कमा समझदारी लिएर अगाडि बढ्नु पर्ने अपरिहार्य छ ।
विद्यालय विद्यार्थीहरुको लागि कलात्मक तथा सिर्जनात्मक सीपहरु विकास गर्ने थलो हो । विद्यार्थीहरुलाई
शिक्षकहरुको प्रेरणाको त्यतिकै खाँचो रहेको हुन्छ ।शिक्षकहरुको लागि विद्यार्थीहरु ऐना हुन ।हरेक शिक्षकले आफ्नो प्रतिविम्ब हरेक विद्यार्थीहरुमा देख्नु सक्दछन ।विद्यार्थीहरु भनेको शिक्षकको प्रतिफल हुन ।शिक्षकले आफ्ना शिक्षहरुलाई कस्तो शिक्षा प्रदान गरेको छ भन्नेकुरा हाम्रो समाजमा एउटा भनाई छ हर्पे / सिङ्पाङ् (घिउ वा खाने तेल हाल्ने काठको भाँडो जुन बिर्को लगाउन मिल्ने हुन्छ) मा घिउ वा तेल भए नभएको हर्पे बाहिरबाट हेरेर थाहा हुन्छ भनिन्छ । यदि हर्पेमा घिउ वा तेल छ भने सो भाँडो आफै चिल्लो हुन्छ तर हर्पे भित्र घिउ वा तेल छैन भने दिनका दिन हर्पेको बाहिर घिउ वा तेल वा चिल्लो दले पनि सो हर्पे चिल्लो नभई फुस्रो नै हुन्छ । हरेक अविभावकले विद्यार्थी र शिक्षक बीचको सम्बन्धलाई यसरी मूल्याँकन गरी रहेका हुन्छन भन्नेकुरा हरेक शिक्षकहरुले कदापि विर्सनु हुदैन ।
अन्त्यमा यस विद्यालयलाई यहाँ सम्म पुर्याउनको लागि विद्यार्थीहरु, भूतपूर्व विद्यार्थीहरु, शिक्षकहरु, भूतपूर्व शिक्षकहरु, अविभावकहरु, विद्यालय व्यवस्थापन समिति, स्थानीय बासिन्दा, समाज सेवी, वुद्धिजिवी, शिक्षाप्रेमी, राजनीतिक व्यक्तित्वहरु, विभिन्न संघ संस्थाहरु लगायत उपत्यकाकोँ मुटुमा रहेको यति ठुलो क्षेत्रफलको जमिनदान गरेका महादानी / दानवीर मदन र जगदम्बा प्रतिको उच्च सम्मान हुन जानेछ ।
; विद्या धनम् सर्व धनम् प्रधानम्
( अविभावक श्री बासुदेव नाथ डिलासैनी गाउँपालिका वडा नं ५ गोकुलेश्वर नगराउँ, बैतडी स्थायी ठेगाना भई हाल भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लगनखेल ललितपुरमा अधिकृतस्तर आठौं पशु विकास अधिकृत पदमा कार्यरत हुनु हुन्छ निजले प्राविधिज्ञ प्रमाणपत्र (पशुपालन), कानून स्नातक एवम् जन प्रशासन र राजनीति शास्त्रमा स्नातकोत्तर शिक्षा हाँसिल गरेका छन ।)