आज मकवानपुर र रुकुममा भएको अलग अलग बस दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ ।
मकवानपुरको भीमफेदीमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।
काठमाडौंबाट हेटौंडा जाँदै गरेको ना ३ ख ७८५८ नम्बरको बस भीमफेदी गाउँपालिकाको जुरीखेतमा दुर्घटना भएको हो।
बसमा ३३ यात्रु रहेको र बाँकी यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेलाई उपचारका लागि हेटौंडा पुर्याईएको छ ।
प्रहरीका अनुसार बसमा यात्रारत ६ जनाको घटनास्थलमै र १ जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो।
यसै रुकुमपूर्वको भूमे गाउँपालिका–३ क्याङ्सी बगरमा भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । काठमाडौँबाट रुकुमकोट आउँदै गरेको ग१ख ९१०९ नम्बरको बस आज दुर्घटना हुँदा घटनास्थलमा पाँचको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिनुभयो । मृतकको सनाखत हुन बाँकी रहेको बताउँदै उहाँले उक्त बसमा सवार १७ मध्ये १३ जना घाइते भएका र तीनको अवस्था गम्भीर रहेको बताउनुभयो । घाइते सबैको रुकुमपूर्व अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक डाँगीले जनाउनुभयो । उहाँका अनुसार घटनास्थलमा उद्धार कार्य भइरहेको छ । घाइतेलाई हेलिकप्टरबाट उपचारका लागि लैजाने पहल भएको छ । नेपाली सेनाको नरसिङ दल गुल्म रुकुमपूर्वका सेनानी बाबुलाल जिसीले घाइतेको उपचारका लागि सुर्खेतबाट हेलिकप्टर ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो ।