वडाध्यक्षले वडाको चाबी नगरपालिकालाई बुझाएपछि

वडाध्यक्षले वडाको चाबी नगरपालिकालाई बुझाएपछि

  • शुक्रबार, भदौ ३१, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

खोटाङ, ३१ भदौ । हस्तक्षेप गरिएको भन्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका जनप्रतिनिधिले वडा कार्यालयको चाबी नगरपालिकालाई बुझाएका छन् ।

वडाको विकास निर्माणका काममा नगरपालिकाले हस्तक्षेप गरेको भन्दै वडाको कामकाज बन्द गरेका वडाध्यक्ष लिलाकुमार चौहान, वडा सदस्य पदमकुमारी राई, लक्ष्मी कामी, फडेन्द्र श्रेष्ठ र हरिकुमार खत्रीले शुक्रबार नगरपालिका पुगेर चाबी बुझाएका हुन् ।

मेयर तीर्थराज भट्टराई र उपमेयर बिसन राईको अनुपस्थितिमा वडाध्यक्ष चौहानले प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेललाई चाबी बुझाएका छन् । प्रमुख प्रशासकीय अधिकृत पौडेलले ‘राजनैतिक विषय’ भन्दै चाबी लिन अस्वीकार गर्दा वडाध्यक्ष चौहानसँग केहीबेर भतभेद चलेको थियो । पत्रकार सहित नगरपालिका पुगेका चौहानलाई पौडेलले चाबी बुझाएको विषयलाई मिडियावाजी नगर्न भनेका थिए ।

हस्तक्षेप गरेको भन्दै गत २५ भदौदेखि वडा कार्यालयको सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरेका दोर्पाचिउरीडाँडाका जनप्रतिनिधिले दोस्रो चरणको आन्दोलन स्वरूप नगर पुगेर चाबी बुझाएका हुन् । फरक दलले जितेकै कारण वडालाई योजना नदिने, सम्पन्न भइसकेका योजनाको भुक्तानी रोक्का गर्ने, वडा कार्यालयले गरेका सम्पूर्ण कार्यहरूमा अवरोध गर्ने, दुःख दिने, कर्मचारी हेरफेर गरेकाले चाबी बुझाउनु परेको वडाध्यक्ष चौहानले बताए । तर, वडाको सेवा बन्द हुँदा सेवाग्राही भने मारमा परेका छन् ।

गत ३० वैशाखको स्थानीय तहको निर्वाचनमा गठबन्धनका बाबजुद दोर्पाचिउरीडाँडामा चौहान सहित पाँच जनप्रतिनिधि एमालेबाट निर्वाचित भएका हुन् । गठबन्धन अन्तरगत कांग्रेसबाट निर्वाचित मेयर भट्टराई र माओवादी केन्द्रबाट निर्वाचित उपमेयर राईले अभिभावकको भूमिका निर्वाह गर्नुपर्नेमा दलगत र समूहगत रूपमा वडालाई पक्षपातपूर्ण व्यवहार गरेको चौहानको दाबी छ । विकास निर्माणको काममा वडालाई हस्तक्षेप गर्नु भएन, सम्पन्न भइसकेका योजनाको भुक्तानी रोक्न भएन । कर्मचारी विहीन बनाएर असहयोग गर्नु भएन, चौहानले भने, ुहाम्रो वडाको जग्गा पास सम्बन्धी सिफारिस १ नम्बर वडाध्यक्षबाट गराइएको छ । हामी यस्तै बेथिति विरुद्ध छौँ ।

वडाध्यक्ष चौहानले मध्यपहाडी लोकमार्ग–वडा कार्यालय सडक ढलानको काम सम्पन्न भए पनि भुक्तानी रोकेको, खावाडाँडा र वाबारी एकीकृत वस्ती निर्माण, गोल्डेन चक्रपथ निर्माण, स्यालदुलो–तालचौंर सडक, अन्नपूर्ण मावि घेरावारा र पंखु लप्से खानेपानी योजना निर्माणमा अख्तियारमा मुद्दा हाल्न लगाएर अवरोध गरेको आरोप लगाए । उनले फरक आस्था र विचार राख्ने करारका कर्मचारीलाई विना जानकारी हटाउँदा वडाको सेवा समेत प्रभावित भएको बताए ।

एमाले नेतृत्वको वडा कार्यालय र गठबन्धन नेतृत्वको नगरपालिकाबीच आक्रमण–प्रत्याक्रमण सुरु भएपछि सर्वसाधारण मारमा परेका छन् । दलीय स्वार्थले द्वन्द्व सिर्जना भएपछि वडाको विकास निर्माणमा प्रत्यक्ष असर परिरहेको छ । स्टीमेट अनुसार सडक ढलान नभएको, अन्नपूर्ण माविको खेलमैदान र घेराबारा बनेको केही समयमै भत्किएको, एकीकृत वस्ती विस्तार योजना अलपत्र परेको लगायत अधिकांश योजनामा गठबन्धन दलले आवाज उठाउँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी