भदौ १९ काठमाण्डौँ । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे आज नेपाल आउँदै छन् । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् ।
पाँचदिने नेपाल भ्रमणका क्रममा उनले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, सेनाको मुख्यालय जंगी अड्डामा सम्मान गारत निरीक्षण गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशालयले जनाएको छ । यस्तै, उनले प्रधानसेनापति शर्मासँग भेटघाट एवं छलफल, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोगस्वरूप प्रदान गरिने विविध सामग्रीको हस्तान्तरण गर्नेछन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ। नेपाली सेना र भारतीय सेनाबीच यस्तो परम्परा रही आएको छ । भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग औपचारिक भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।
यसैबीच, पछिल्लो भारत सरकारले ल्याएको अग्नीपथ योजनाको नेपालमा बिरोध भईरहेका बेला त्यस विषयमा समेत छलफल हुन सक्ने बताईएको छ । मोदी सरकारले अग्नीपथ योजना अन्तर्गत सेनामा चार वर्षका लागि मात्रै भर्ती हुन पाउने भनिएपछि नेपालमा गोर्खा भर्ती छनौट रोकिएको छ ।
वर्षेपिच्छे एक हजार नेपाली युवा भारतीय सेनामा भर्ती हुने गरेका छन् । भारतीय सेनामा गोर्खा रेजिमेन्ट अन्तर्गत ३४ हजार नेपाली कार्यरत छन् । नेपालले अग्नीपथ योजना अन्तर्गत गोर्खा भर्ती नगर्ने योजना बनाएको छ ।