संस्कार र संस्कृतिको लोकपर्व गोरा

संस्कार र संस्कृतिको लोकपर्व गोरा

  • आइतवार, भदौ १२, २०७९
  • डा. पदमराज कलौनी

  • 8.2K
    SHARES

मानसखण्डको भौगोलिक इतिहास पौराणिक छ । मानसरोवरदेखि आधुनिक नेपालको गण्डक, कर्णाली, सेती, महाकाली, भारतको उत्तराखण्ड, गढवालको अधिकांश हिमाली र पहाडी भूभाग मानसखण्डमा पर्दछन् । मानसको अर्थ मानस, मन, आत्मा, बुद्धि-विवेक र उत्साह हुन्छ । मानसले पूरुष व्यक्तिलाई जनाउछ भने मानुसीले महिला वा नारीलाई जनाउछ । मानुसीको अर्थ महिला, देवी, लक्ष्मी, सरस्वती र गौरी (पार्वती) हो । मानसवासी शब्दले उत्तरी भू-भागमा बसोवास गर्ने मानिसलाई बुझाउछ । मानसखण्ड आदिकालदेखि गौरा-महेश्वरको पूण्यभूमि भएकोले देवभूमि पनि भनिन्छ । मानसरोवर आदिमानवको धर्ममय र दैवशक्तिको क्रीडास्थल हो । संसारका प्रथम पुरुष स्वायंभुव मनु र प्रथम स्त्री शतरूपा मानिन्छन् । मानसखण्डमा पहिलो मानव जन्मेकोले स्थान विशेषले मनु वा मानस भनिएको हो । हिन्दू धर्म अन्य धर्महरुमा पहिलो वा आदि मानिन्छ । आदिधर्मको उद्भवस्थल मानसखण्ड हो । मानस सरोवर आदि मानवको पवित्र तीर्थस्थल हो । मानसखण्डमा कुबेर, पौरव, कुशान, गुप्त, कत्यूरी, रायक, पाल, चन्द, परमार (पँवार) राजवंश, गोरखाली राजा शाह र अंग्रेजले शासन गरेका थिए ।

मानसखण्डमा मनाइने गोरापर्व महान धार्मिक, साँस्कृतिक र सांस्कारिक पर्व हो । साँस्कृतिकले मानिसलाई  समूहमा व्यतीत गर्ने केही नियम, विधान, पारस्परिक सम्बन्ध, व्यवहार र क्रियालाई निर्देशित गर्दछ । मानिस सामाजिक प्राणी भएको नाताले उसले सामूहिक जीवनमा अनेकन नियम, विधान, व्यवहार, मूल्य, मान्यता, मानक एवं आचार-विचार आदि सांस्कृतिक विरासतको रुपमा स्वीकार्दै आएको छ । मानिसले समाजमा जीवन यापन गर्ने क्रममा विभिन्न विधि, प्रविधि, उपकरण, रीति-रिवाज, प्रथालाई जन्म दिएको छ । यी सबै विषयवस्तु एक पीँढीबाट अर्को पीँढीमा हस्तान्तरित हुँदै आएका छन् ।

गौरा पर्व संस्कारयुक्त पर्व भएकोले संस्कार शब्दको मूल अर्थ शुद्धीकरणसँग जोडिएको छ । मूलतः संस्कारको  अभिप्राय धार्मिक कृत्यसँग हुन्छ । समाज अनुसार मानिसलाई संस्कारको माध्यमले समुदायमा योग्य सदस्य बनाउछ । व्यक्तिलाई समाजको उद्देश्य अनुसार शरीर, मन र मस्तिष्कलाई पवित्र बनाउन संस्कार दिइन्छ । हिन्दू संस्कारको उद्देश्य व्यक्तिमा अभीष्ट गुणको जन्म दिनु हो । गोरापर्वमा महिलालाई तागाधारी (दूब्धागो) संस्कार दिइने हुँदा यसलाई संस्कार पर्व पनि मानिन्छ । प्राचीन गौरापर्व नेपालमा मात्र नभएर भारतको कुमाउँ (मानसखण्ड अन्तर्गत) मा पनि परापूर्व कालदेखि मनाइदै आएको छ । स्थान र सन्दर्भ विशेष गोरालाई गमरा, गौरा (गोरी रङ्ग भएकी), लोली गमरा, गोरा दिदी, माता पार्वती आदि भनिन्छ । मानसखण्ड वासी हिमालय पर्वतकी छोरी पार्वतीलाई आफ्नै छोरीको रुपमा लोली गोरा, गोरा दिदी भनिएको हो । गोरा लोकप्रिय र हर्षोल्लासले मनाइने पर्व हो । लोकपर्व गौरीको जीवनलीला  (चरित्र)मा आधारित छ । गौरा पर्वको समयसीमा गोर्‍या एकादशीदेखि गोरासेलाउने दिनसम्म भएता पनि स्थान विशेषका अन्य प्रचलन पनि रहेका छन् । शाखाहारी गोरापर्वको प्रमुख आकर्षण भनेको प्रत्येक परिवारका सदस्यले नयाँ लुगा सिउने-लगाउने, मिठो मसिनो खाने, फलफूल खाने, बिरुडाले मुड्डो पूज्ने, प्रसाद खाने, मनोरञ्जन गर्ने र महिलाको संस्कार गरिने (दूब्धागो लगाउने) पर्व हो । गोरा गीती पर्व पनि हो । बिरुडा भिजाउनेदेखि गोरा सेलाउनेसम्मका क्रियाकलापमा पार्वतीको जीवनलीला सम्बन्धी चरित्र गीत गाइन्छन् ।

लोकमान्यता– हिमालयपुत्री पार्वती (गोरा) विवाह भएपछि महेश्वरसँग रिसाएर पहिलोपटक माइतमा आएको खुशीयालीमा गोरा पर्व मनाउने प्रचलन चलेको लोकमान्यता छ ।

बिरुडा पञ्चमी– भदौ महिनाको शुक्ल पक्षको बिरुडा पञ्चमीको विहानै आ-आफ्नो घरमा तामा (उपलब्ध नभए पित्तल)को ताउलोमा पञ्चबिरुडा (गहुँ, गहत, मास, गुराँस र कलौ) भिजाउछन् । मास पितृ कार्यमा प्रयोग हुने भएकोले कहीँकतै मासको सट्टा चनाको प्रयोग गरिएको पाइन्छ ।

षष्ठी– षष्ठीको दिन नोल्या (सामूहिक पानी भर्न ठाउँ) गोरा हुन्छ । पञ्चमीका दिन भिजाएका बिरुडा षष्ठीको विहान महिलाहरू नोला वा जलाशय वा धारामा लगेर धुन्छन् । नोलामा बिरुडा धोएपछि खेतगह्राबाट धान, सौं, तिल, अपामार्ग/कुर्जो र बल आदि पाँचवटा वनस्पति खोजेर गौराको प्रतिमा बनाएर नोलामा बिरुडाले पूज्छन् । नोलामा धोएका बिरुडा घरमा ल्याएर भिजाएकै कोठामा राख्छन् ।

सप्तमी– सप्तमीको दिन भितल्ली गोराको पूजा हुन्छ । साँझपख धार्मिक अनुष्ठानले ब्राह्मणद्वारा पूजाआजा गरिन्छ । पञ्चवनस्पति (धान, सौं, तिल, कुर्जो र बल) घाँसबाट गौराको आकृति बनाएर सोह्र श्रृङ्गारले श्रृङ्गार गरी डालोमा सजाएर गोराको पूजा गरिन्छ । महिलाहरु सौभाग्य र सन्तानका लागि मंगलकामना गर्दै सप्तम्या (पहेलो डोरी) घाँटीमा बाँध्छन् । सप्तम्याको पूजा पूजारीले गर्छ । सप्तम्या लगाएपछि सबै आ-आफ्ना घर गै भोजन ग्रहण गर्छन् । भितल्ली गोराको पूजा हुने स्थानमा महिला, केटाकेटी लोकनृत्य तथा लोकगीत गाउदै खेल खेल्छन् । सप्तमीको खुशीयालीमा घर-घरमा लउन, पुरी (रोटीको भित्र मास पिसेर हालेको रोटी), सेल, बटुक आदि पकाइने हुँदा यसदिनलाई नानी रोट्याइँ भनिन्छ ।

अठ्यावाली- अठ्यावाली अर्थात् अष्टमीका दिन गोरालाई लिन महेश्वर आउछन् भन्ने लोकमान्यता छ । महेश्वरसँग रिसाएर गौरी माइत आएकी हुन् । गौरालाई मनाएर लैजाने महेश्वरलाई ससुरालीमा सम्मानका साथ बसाएको सम्मानमा खेतगह्रामा फलेको बल घाँस (विरुवा) खोजेर महेश्वर (भिन्ज्यू) प्रतीक बनाएर गौराको प्रतीकसँगै डालोमा राखिन्छ । महेश्वरको भौतिक शरीरको रुपमा चौकी (पिर्का) डालोसँगै राखिन्छ । गोर्‍या खलोमा गौराको प्रतीक डालो र महेश्वरको प्रतिमा चौकीलाई ब्रतालु महिलाले टाउकोमा बोक्दै खेलाउदै पालैपालो गोर्‍या खलो (आँगन)सम्म लैजान्छन् । महेश्वर र गोराको अगाडि बालो (गोरा-महेश्वरको सन्तानको रुपमा) चुकको दाना (अमिलो) लैजान्छन् । भितल्ली गोरा बाहेक पूजारीको उपस्थिति अन्य क्रियाकलापमा हुँदैन् । गोराको पूजा महिलाहरूले गोर्‍याखलोमा गोलाकार भएर गर्छन् ।

दूब्धागो लगाउने– ब्रतालु महिलाले गोराको पूजा गरिसकेपछि दूब्धागो (विशेष प्रकारको संस्कारित रातो डोरो) लगाउछन् । डोरो धारण गर्ने महिलाले वेदका मन्त्रहरु उच्चारण गर्छन् । गोरा लिइसकेपछि महिलाहरु वेदका मन्त्र पढ्न र घरको भान्सा चल्ने हुन्छन् । बालकको उपनयन संस्कारमा जनै हालेझैव मानसखण्डका विवाहित मानसी (नारी) ले गोरा पर्वमा दूब्धागो (तागा) लगाउछन् । नौली गोरिया (गोराको पहिलोपटक उपासना गर्ने महिला) ले पर्वमा जोला (दुई) पुरी एकैचोटी टोकेर खाने रित छ । दूब्धागो लगाउँदा अखण्ड सौभाग्यको मनोकामना पुरा हुन्छ भन्ने लोकविश्वास छ । गोराको मन्त्र सुनाउने कार्य गन्यमान्न र जेष्ठ गोरीया (गोरा उपासक) महिलाले गर्दछन् । परम्परादेखि कुनै वर्ग वा जात वा घरमा बिरुडा हाल्ने नहुने महिलाले पनि गोराको ब्रत उपासना अनिवार्य गर्दछन् । गौराको पूजा गर्न बिरुडा नभएकाहरुलाई गोराको खलोमा अन्य महिलाले दिने प्रचलन रही आएको छ । अठ्यावालीको दिनलाई ठूली रोटयाइँ भनिन्छ । यसदिनमा पनि पारम्परिक लउन, पुरी, सेल, बटुक, पुवा (प्वा) आदि पकाएर खान्छन् ।

गोरीयाहरुले गोराको पूजा गरिरहेको समयमा गोर्‍याखलोमा उपस्थित भएका अन्य महिला (ब्रत नलिएका) तथा केटाकेटीले आ-आफ्नो समूह बनाएर डेउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् ।

फलफटकाउने– साँझपख गोरा पूजा सम्पन्न भएपछि दुईजना पूरुषले पूजा गरेको बिरुडा, अक्षेता, फल र फूललाई मिसाएर सफासुग्घर कपडा (तन्ना)मा हालेर आकाशतिर पाँच दिशामा फाल्छन्, जसलाई फल फटकाउने भनिन्छ । फल थाप्नलाई उपस्थित मानिसले आँचल थाप्छन् । जसको आँचलमा फल पर्छ उसलाई अखण्ड सौभाग्य र मङ्गलकारी सन्तान प्राप्ति वा सुख हुन्छ भन्ने लोकविश्वास छ । सोही फल (बिरुडा वा फल) चाखेर महिलाले अठ्यावालीको ब्रत तोड्छन् ।

मुन्डो पूज्ने– ब्रतालु महिलाले पालैपालो आफ्नो श्रीमान, सासु, ससुरा र कनिष्टको मुन्डो (टाउको) पूज्ने कार्यक्रम हुन्छ । कसैसँग झैझगडा भएको भए पनि अनिवार्य मुन्डो पूज्नु पर्ने संस्कृतिले यसपर्वलाई मेलमिलापको पर्व पनि भनिन्छ । घरबाहिर रहेको पारिवारजनलाई रोलक्रमानुसार बिरुडाले टाउको पुजेर प्रसादको रुपमा राखिन्छ र सो प्रसाद समयले भ्यासम्म छिटो छरितो पठाइन्छ । पहिलापहिला हुलाक मार्फत् चिठ्ठीमा हालेर पठाइन्थ्यो ।

प्रसाद खाने– बेलुका गोर्‍याखलोबाट डालो (गोरा, महेश्वर) र बालकको प्रतिमा टाउकोमा बोक्दै गोर्‍या घरमा राख्छन् । आ-आफ्ना घरमा गएपछि सबैभन्दा पहिले पूजा गरेका बिरुडा घरको बिरुडामा मिसाएर बिरुडालाई भुटेर (लसुन र प्याज बर्जित हुन्छ) सबैले खान्छन् ।

प्रसाद वा पकवान बाँड्ने– गरीब, बेसहारा आदिले चैतोलको बिहानै पारम्परिक रुपमा बिरुडा र खानेकुरा माग्ने प्रचलन रही आएको छ । गाउँलेले आफ्नो सामर्थ्य अनुसार पाकेको खानेकुरा र बिरुडा अनिवार्य बाँड्छन् ।

चैतोल– चैतोललाई ठूलो खेल पनि भनिन्छ । चैतोल मनाउदा सबैभन्दा पहिला अठ्यावाली भएको मन्दिरमा हुन्छ । त्यसपछि परम्परागत रुपमा मनाउदै आएका ग्राम्य देवताको मन्दिर प्रत्येक दिन पालैपालो चैतोल हुन्छ । चौतोलको दिनदेखि पूरुषको सहभागिता अनिवार्य हुन्छ । प्रत्येक सदस्यले देवी देवताको आँगन (खलो)मा उपस्थित भएर खेल खेल्नु पर्छ भन्ने लोकविश्वास छ । चैतोलमा बाजागाजा सहित धजा-नेजा लिएर गाउँगाउँबाट समूहमा देवी देवताको जय जयकार गर्दै मन्दिरमा आउछन् । मन्दिर परिसरमा पुगेपछि मन्दिरको परिक्रमा गर्छन् । त्यसपछि बाजागाजालाई विश्राम दिएर खेल (चैत, धमारी, डेउडा) खेल्छन् । चौतोलको कार्यक्रम दिउँसोदेखि राती अबेरसम्म हुन्छ । चैतोलमा पसल राख्छन् । व्यापारीहरु भारतदेखि आउने गर्छन् । मेलामा विशेषगरी मिष्ठान्न, फलफूल लगायत घरेलु सरसामग्रीको बेचबिखन हुन्छ ।

गोरा सेलाउने– माइत आएकी गौरालाई महेश्वरसँग पठाउने दिनलाई स्थानीय भाषामा गोरा सेलाउने भनिन्छ ।  गोरा, महेश्वर र बालकको प्रतिमालाई सोही दिन बिसर्जन गरिन्छ । महिलाहरु आफ्नै छोरीलाई ससुराली पठाएझैँ शोकाकुल हुन्छन् ।  सरह नै महिलाहरु भावुक हुँदै अर्को साल माइत आउने निम्ता दिएर गोरालाई सेलाउछन् । गोरा सेलाउदा पारम्परिक रुपमा अठ्यावाली गरेको मन्दिर वा जलाशय वा वरपीपलको रुखमुनि वा पाट (ढुङ्गा)मा सेलाउछन् । बैतडीमा गोरा सेलाए पनि चैतौलको क्रम देजाँत (ताका) सम्म चलिरहने हुँदा गौरापर्वको रौनक एक महिनासम्म चलिरहन्छ ।

गोरापर्वमा अनेकन स्थानीय भेदहरु पाइन्छन् । बझाङ्गको बुङ्गलमा गौरा महिलाले ल्याउदैनन् । ब्राह्मणले गौरा खोजेर रूखमा लुकाएर राख्छ । त्यसपछि कन्या-कुमारीहरु गएर खोजेर ल्याउछन् । डोटीको निङालीमा गोराको प्रतिमा कुश र काँसको बनाइन्छ र गोरापर्व २२ दिनसम्म अनिवार्य मनाइन्छ । गोराको विसर्जन अन्यत्र अगस्त अस्ताउने तिथि हेरी सेलाउछन् भने निङालिमा अगस्तसँग कुनै सरोकार हुँदैन् ।

गोरापर्वको लोकसाहित्यिक महत्व छ । गोरापर्वमा धार्मिक, सामाजिक, सांस्कृतिक र संस्कार आदि विभिन्न पक्षसँगै स्वस्थ मनोरञ्जनलाई विशेष महत्व प्रदान गरिएको छ । लोकसाहित्य सरल हुन्छ । डेउदा र गोराका लोकगीतमा प्राकृतिक अवस्थाले मिठो रचना हुन्छ । यसले लोकलाई मनोरञ्जन गराउछ । सामाजिक जीवन सञ्चार गर्छ । गौरीको जीवनगाथामा आधारित हुनाले यसले सामाजिक समस्या र समाधानका लागि निर्णायक तथ्यहरू प्रस्तुत गर्दछ । लोकजीवनका संस्कार र धार्मिक कार्यहरू पुजारी र वैदिक मन्त्रहरु महिलाहरुद्वारा सामूहिक रीतिरिवाज वा धार्मिक अनुष्ठानले सम्पन्न गरिन्छन् । लोकसाहित्यको पर्खाल धर्मको जगमा टिकेको हुन्छ । दूब्धागो लागउने प्रत्येक अनुष्ठानमा महिलाहरुद्वारा लोकगीत गाएर सम्पन्न गरिन्छन् । बालकको ब्रतबन्ध गर्दा अन्तिम कर्मकाण्डम्म पण्डितको आवश्यकता पर्छ भने महिलाको दूब्धागो पूजा गरेपछि ब्राह्मणको आवश्यकता हुँदैन् । महिलाहरु स्वतन्त्रतापूर्वक संस्कारमा आत्मनिर्भर देखिन्छन् । महिलाहरुले गाउने लोकसंस्कारयुक्त गीतले अनुष्ठानको वातावरण आफै निर्माण गर्दछ । महिलाले गाउने सगुन, फाग आदिमा कुनै वाद्यबादनको बजाइदैन् । मानसखण्डका प्रत्येक पर्व र कर्मकाण्डमा महिलाद्वारा गाइने लोकगीतको महत्व ब्राह्मण गर्ने कर्मकाण्ड जतिकै अनिवार्य हुन्छ ।

मानसखण्डको लोकसाहित्यको अध्ययन, अध्यापन, सोधखोज भएको पाइदैन् । संस्कार लोकगीत विस्तारै लोपोन्मुख हुँदै गएका छन् । सुनिन छाडिएका छन् । आधुनिक शिक्षा, जीवनशैली र बसाइँ सराइँले संस्काजन्य लोकगीतहरु भूगोल र व्यक्तिमा सीमित छन् । नयाँ पुस्तालाई लोकसाहित्यको ऐतिहासिक पक्षका बारेमा जानकारी दिन सकिने पाठ्यपुस्तक र व्यक्तिको अभाव छ । लोकसाहित्यका कयौं प्रसङ्गमा व्यक्ति र स्थानको उल्लेख गरिएको पाइन्छ तर ती व्यक्ति, पात्र, नायक र स्थानका बारेमा जानकारी पाइदैन । नवस्थापित विश्व विद्यालयहरुले लोकसाहित्यको सोधखोजमा ध्यान दिएका छैनन् । लोकसाहित्यमा स्थापित भएका नायकको वंशावली, स्थान, कार्य, नायकसँग सम्बन्धित कथा र लोकगीतहरु काल्पनिक हुन वा सत्यतामा आधारित हुन भन्ने मेलोमेसो पाइदैन् । उदाहरणको रुपमा भैली खेल्दा प्रसङ्गमा आउने बलि राजालाई लिन सकिन्छ । “हामी त्यसै आएका होइनौं, बलि राजाले पठाएको” भन्ने छ । वास्तविक बलि राजा को हुन् ?  भैलोमा भनिने बलि राजा जुम्ली राजा हुन वा प्राचीन हिन्दू मिथकमा उल्लेख भएका पौराणिक कथाका दानवीर असुर बलि राजा हुन भन्ने बारेमा अन्यौल छ ।

लोकसाहित्य सामाजिक मूल्य मान्यताको संरक्षक हुन्छ । मानसखण्डको संस्कृतिको महिमाको वर्णन सगुन, फाग, भडाहा, चैत आदि लोकगीतमा पाइन्छ । सांस्कृतिक मूल्यमान्यता जोगाउन लोकसाहित्यको योगदान सर्वोपरि हुन्छ । नयाँ पुस्तालाई हस्तान्तरण गर्ने क्रममा चाडपर्वहरु यसका प्रमुख औजार हुन् । नयाँ पुस्तालाई दिइने संस्कारले उनीहरुले अवलम्बन गर्ने चलन र नैतिक मूल्यमा विश्वासी बनाउछ । लोकसाहित्यले पुस्ताको परिचय दिने हुँदा नयाँ पुस्तालाई गौरव प्रदान हुन्छ । लोकसाहित्यमा परिवर्तनको प्रभाव पर्दछ । प्रभावकै कारणले स्वरुप, विधि, विधान आदिलाई सामाजिक, धार्मिक र राजनीतिक सन्दर्भ अनुसार अर्थ्याइन्छ । लोकसाहित्य लोककल्याणकारी साहित्य भएकोले यसलाई वातावरणले प्रभावित गर्नु स्वाभाविक मानिन्छ । लोकसाहित्यको सङ्ग्रहले इतिहास, कानून, भाषाविज्ञान आदिको अध्ययनमा सहयोग पुग्ने हुँदा लोकसाहित्यको सामग्री सङ्कलनमा सरकारले विश्व विद्यालयहरुलाई जिम्मेवार बनाउनु आवश्यक छ ।

मानसखण्डको लोकसाहित्य नारी प्रधान छ । महिलाद्वारा रचिएका, कथिएका, संरक्षण र पुस्तान्तरण हुँदै आएका लोकसाहित्यिक गतिविधिहरु धार्मिक आस्था र विश्वासयुक्त पाइन्छन् । लोकसाहित्यमा महिला वर्गको प्राकृतिक गुणदोषको उपस्थिति पाइन्छ । मानसी लोकसाहित्यले सामाजिक एकता, सदभाव, अनुशासन कायम गर्दै समाजको निर्माणमा विशेष योगदान पुर्‍याएको छ । मानसी लोकसाहित्यमा मनोरञ्जनको आधार र साँस्कृतिक वैभवता प्रचुर पाइन्छ । महिलाद्वारा गाइने वा पुस्तान्तरण भइरहेका सगुन, फाग आदि लोकसाहित्यका जीवन्त उदाहरण हुन् । जन्म, षष्ठी, अन्नप्रासन, अक्षाराम्भ, ब्रतबन्ध, विवाह उत्सव, देवीदेवताको पूजन आदिमा अनिवार्यतः महिलाहरुले सन्दर्भ अनुसारका फाग र सगुन गाउछन् । परम्परादेखि चलि आएको रीतिरिवाज, अन्धविश्वास र व्यवहार आदिलाई लोकसाहित्यको अभिन्न अङ्ग बनाएको छ । लोक शब्दले व्यापक अर्थ र सहमति दिन्छ । प्राकृतिकदेखि मौलिकसम्म, परम्परागतदेखि ग्रामीणस्तरसम्म र केही अवस्थामा हृदयदेखि मौलिक वा परम्परागत व्यवहारलाई लोकसाहित्यले जन्माउछ । लोकसाहित्य भन्ने बित्तिकै मौखिक परम्परामा पुस्तान्तरण हुँदै आएको श्रुति साहित्य हो । लोकगीत, परम्परागत ज्ञान र संस्कृति लिखित भाषाको रूपमा पाइदैन् । लोकसाहित्य जनश्रुति वा मुखबाट मुखसम्म प्रसारित हुन्छ । प्रत्येक संस्कृतिका आ–आफ्नै लोककथा हुन्छन् । लोककथाले मानिसको वरपरको प्रकृति र मूल निवासीको हृदयलाई व्यक्त गर्दछ । लोकसंस्कृतिले सामाजिक परम्परा, रीतिरिवाज र व्यवहारिक रूपले लोकसाहित्यलाई पुस्तान्तरण गर्दै आएको छ । लोकसाहित्यको वाहक संस्कृति हो । समाज र जीवनलाई लोकसाहित्य भनिन्छ । लोकगीतले पुरातन समयका उत्कृष्ट विचार र सर्वोच्च आध्यात्मितालाई समावेश गरेको पाइन्छ । लोकसाहित्य सामान्यतया सामान्य मानिसको सोचाइभन्दा बाहिर हुन्छ । लोकसाहित्य लोकजीवनको व्यवहारिक पक्ष भए पनि यसलाई बुझ्नु बुझाउनु जटिल हुन्छ ।

मानसी लोकसाहित्य मौखिक र संस्कारमा आधारित छ । लोकसाहित्यका साहित्यकारहरुले आफ्नै पहलमा आफ्ना गाउँठाउँको लोकसाहित्यलाई सोधखोज गरी लेख्य रूपमा संरक्षण गरिरहेका छन् । आधुनिक सञ्चार, औषधी विज्ञान, वैदेशिक व्यापार, व्यवसाय र रोजगारसँगै भित्रिएको भाषाको प्रभावले लोकसाहित्यको विशुद्ध रुप पाउन हम्मे हम्मे भएको छ । कयौं साहित्यकारले लोकसाहित्यमा आधुनिक वैदेशिक भाषालाई मिश्रण गरी लोकसाहित्यलाई रङ्गाउने गरेका छन् । मौलिक मौखिक परम्परा मेटाएर समग्र भूगोलको लोकसाहित्य नामकरण गर्ने दुस्साहस भएका छन् । पुरातन ग्रामीण समाजमा भएका बोलिचालिका शब्द र लोकसाहित्यका अनुसन्धानकर्ताले पस्किने जनजीब्रोका शब्दबाट विचलन हुँदा लिखितम शब्द बिचल्लीमा छन् । पुस्तान्तरणमा लोकजीवनको वास्तविक साहित्य र उत्कृष्ट विचार हस्तान्तरण भयो वा भएन भनेर जाँचपडताल गर्ने निकायको अभाव छ । लेखिएको साहित्यको नामकरण अनुसन्धानकर्ताले आ-आफु अनुसार गरेका छन् । लोक जीब्रोको स्वादलाई हुबहु वा जस्ताको त्यस्तै अभिलेखीकरण गरेको पाइदैन् । निश्चित मापदण्ड नहुँदा सोधकर्ताले दाबी गरे अनुसारलाई अमुक भाषा भनी स्वीकार गर्ने हो भने लोकभाषा विवादित हुँदै लोप हुने खतरा बढ्दै गएको छ । लोकसाहित्यले विगतदेखि वर्तमान पुस्तासम्मका कथाको सान्दर्भिकतालाई चित्रण गर्न सक्नु पर्दछ । मौखिक रुपमा जीवन्त पाइने परम्पराहरु आमजनमानसमा पूर्णरुपेण जीवन्त हुँदैनन् ।

नेपालका विविध जातजातिको मौखिक परम्परा र लोकसाहित्यको संरक्षण, विकास र प्रसार नहुँदा नेपाली साहित्यको भण्डारमा क्षयग्रस्त हुँदै छ । लोकसाहित्यका विविध विधामा ब्यापक खोज अनुसन्धान भएको छैन् । लोकसाहित्यको अनुसन्धानको अभावमा देश भित्र चिनाउन सकिएको छैन भने विश्व साहित्यमा नेपालको लोकसाहित्यलाई परिचित गराउने कुरै भएन् ।

नेपाल अनादिकालदेखि विविध कलामा अर्थात् लोककलामा सम्पन्न र समृद्ध रही आएको छ । सामवेद सम्भवतः लोक संगीतको प्राचीन रूप हो जुन अहिलेसम्म अस्तित्वमा छ । सामवेद पुरानो लोकसंगीतको विधा भएकोले संसारको उत्कृष्ट र प्राचीन लोकसंगीतमा समावेश गरिएको छ । सामवेद प्राचीन आर्यद्वारा गाइएको मुख्य गीत हो । आकारको हिसाबले सबैभन्दा सानो भए पनि यसमा चारै वेदको सार पाइन्छ । सामवेदमा ज्ञानयोग, कर्मयोग र भक्तियोगको त्रिवेणी संगम पाइन्छ । ऋषिहरूले विशिष्ट मन्त्रहरू सङ्कलन गरी गाउने विधिको विकास गरेकाले आधुनिक विद्वानहरूले स्वर, लय, श्लोक, गति,  मन्त्र, चिकित्सा, राग, नृत्य, मुद्रा, अभिव्यक्ति आदि सामवेदबाट लिइएका हुन् । नेपाली महाकाव्य, रामायण, बौद्ध धर्मका जातक कथा, हितोपदेश, आध्यात्मिक गीत आदि लोकजीवनमा आधारित छन् । लोककथा जीवन्त राख्नमा ग्रामीण क्षेत्रका महिला, धामी, झाक्रे, वैद्य आदिको भूमिका अग्रपङ्तिमा छ । मानसी लोककथामा पाइने जन्तरमन्तर, धामी भाषा (देवभाषा), हितोपदेश, पुराना भनाइ, आचारसंहिता, गीत, प्रचलन, भडाहा, जनश्रुति, अभ्यास आदिले मानसखण्डको संस्कृति र मूल्यमान्यताको भण्डारणलाई सम्पन्न गरेको छ । अपठित जनजीब्रोले लोकसाहित्यलाई उत्कृष्ट विचारको रुपमा संरक्षण गरेको छ । लोकसाहित्यको संरक्षण बिना नेपाली साहित्य समृद्ध हुन सक्दैन् । लोकसाहित्य र लोककलाका विधाहरू संस्कृति वा दार्शनिक कविताका संवाहक मात्र होइनन् कि तिनले आत्मनिर्भर, आत्मचिन्तन र गहिरो विचार व्यक्त गर्दै सादाजीवन, उच्च विचारको आत्मचिन्तन, सत्य मार्गमा हिँड्ने प्रेरणा दिइरहेको छ । लोकसाहित्यले लोकजीवनलाई नैतिकवान बनाउछ । लोकपरम्पराहरु आधुनिकतासँग सान्दर्भिक नभए पनि उच्चनैतिकताको पाठ सिकाउछन् । उल्लङ्घन गर्ने साहस सामान्यतया कसैमा हुँदैन् । जस्तैः जन्मदेखि मृत्युसम्मका संस्कार, चाडपर्व, मनोरञ्जन आदिलाई तिरस्कार गर्ने साहस कसैमा हुँदैन् ।

देशको सभ्यता, संस्कृति, धर्म, रीतिरिवाज, कला, साहित्य र सामाजिक आकांक्षाको शुक्ष्म झलक लोकसाहित्यबाट अभिव्यक्त हुन्छ । उत्कृष्ट साहित्य सिर्जनामा साधकहरुको सहभागिता हुन्छ । सभ्य र सुसंस्कृत साहित्यको विकासको जरा जनभावनामा पाइन्छ । बहुसंख्यक जनताको हर्ष लोकसाहित्यमा सम्मिलित हुन्छ । लोकसाहित्यको निर्माण व्यक्तिमा नभएर सिङ्गो समाजमा हुन्छ । सामाजिकीकरण नभएसम्म लोकसाहित्य मान्य हुँदैन् । लोकसाहित्यको झुकाव बहुसंख्यक वर्ग उन्मुख हुन्छ । लोकसाहित्य कसले कहिले सिर्जना गर्‍यो र गायक को हो भन्ने अज्ञात पाइन्छ । लोकसाहित्यमा शब्द रचनाको नियम लागु हुँदैन् । गायनमा समूहको आवाज हुन्छ । समूहको भाषा र गला मिसिएको हुन्छ । लोकसाहित्यले लोकसंस्कृतिलाई प्रतिबिम्बित गर्दछ । आमजनताको खुशी, गाउने कला, बजाउने सीप, रुवाउने कला आदि शब्द अवैयक्तिक हुन सक्छन् तर ती सबै लोकसाहित्यको परिधिमा बाँधिएर आउँछन् । आधुनिक युगमा देश-काल, संस्कृति-समाज, परिवारिक खण्डिकरणले आधुनिकतालाई टेवा पुर्‍याइरहेको अवस्थामा लोकसाहित्य स्वाभाविक रुपले पछाडिएको छ ।

मानसखण्डमा वस्तुस्थितिलाई मध्यनजर गर्ने हो भने महिला वर्गले लोकसाहित्यलाई कुशलतापूर्वक पुस्तान्तरण गरी नयाँ पीँढीलाई हस्तान्तरण गर्न सक्षम भएका छन् । लोकसाहित्यले मानसखण्डको भौगोलिक अवस्थाको ज्ञान दिलाउछ । नायक र खलनायकको वंशावलीको श्रोत र ज्ञान लोकसाहित्यबाट प्राप्त हुन्छ । नायकसँग सम्बन्धित कथा र लोकगीत पूर्णतया काल्पनिक नभएर सत्यतामा आधारित छन् । कत्युरी राजादेखि नाग मल्ल, बाँकाबीर, दशरथ चन्द, भीमदत्त पन्त आदिको मौलिक स्थानको बारेमा लोककथाबाट सजिलै जानकारी पाइन्छ । लोकसाहित्य सामाजिक मूल्य मान्यताको संरक्षक बनेको छ । समग्र संस्कृतिको महिमायुक्त वर्णन मानसखण्डको लोकगीतमा पाइन्छ । सांस्कृतिक मूल्यमान्यता जोगाउने दिशामा लोकसाहित्यको योगदान सर्वोपरि स्थान रहेको छ । युवाको माध्यमले लोकसाहित्यको चलन र नैतिक मूल्यहरु स्थापित गराएर लोकजीवनमा विश्वास निर्माण गर्नु आवश्यक छ । लोकसाहित्य जनकल्याणकारी साहित्य भएकोले जनसाहित्यको अभिभारा पुरागर्ने क्रममा कहिलेकाहीँ सामाजिक, धार्मिक परिधिलाई नाधेर राजनीतिक क्षेत्रमा प्रवेश गर्दछ । लोकसाहित्यको सोधखोज बिना मानवजीवनको इतिहास, कानुन, भाषाविज्ञान आदिको अध्ययन अधुरो र अपुरो हुन्छ ।

लोकोत्सवले प्राकृतिक, सामाजिक, वैदिक एवं आपसी भाइचारा सम्बन्धलाई सुमधुर बनाउने प्रतीकका रुपमा लिइन्छ । गोराको पूजाअर्चना गर्नाले जुन घरमा अन्न छैन अन्न प्राप्त हुन्छ, धन नभए धन प्राप्त हुन्छ, सन्तान नभए सन्तान प्राप्त हुन्छ भन्ने लोकविश्वास रही आएको छ । समयक्रमले धेरै लोकपर्वहरु लोपोन्मुख भएका छन् तर गोरापर्वलाई वसाइँ सराइँले पनि असर पारेको छैन् । गोरापर्वको महत्व र वैभवशाली सांस्कृतिक र संस्कारको बिरासत मानिसले अपनाउदै आएका छन् । यसपर्वले सांस्कृतिक लोकज्ञान प्रदान गर्दै आएको छ । गोरापर्व हिमाली समाजको संस्कृति र संस्कारको प्रतिनिधित्व गर्दछ । पर्वले महिलाको वेद पढ्ने, जान्ने र बुझ्ने अधिकारलाई सुरक्षित गरेको छ । वैधानिक रुपमा महिलाले वेद पढ्न सक्छन भन्ने सन्देश सायदै अन्य समाजमा देखिदैन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी