तीज गीत पौराणिक कथाबाट प्रेरित भएर आएको हुँदा यसको पुर्ख्यौली साइनो पुराणसँग रहेको पुष्टि हुन्छ । पुराण आफैमा विज्ञान होइन । त्यसैले विज्ञानसम्मत मार्क्सवाद र प्रगतिशीलतासँग यसको जबर्जस्ती नाता जोड्नुको कुनै तुक हुँदैन । तर पुराकथाहरूको मिथकीय अर्थको ऐनामा हेर्ने हो भने यसको समसामयिक अर्थघनत्व देखापर्दो रहेछ । तीजमा चिचिला बालिका र अविवाहित युवतीहरू मात्र होइन नवविवाहित जोडीदेखि बूढी आमैहरूसमेत रातो सारीमा सजिएर गरेको व्रतको अर्थलाई सन्दर्भगत अर्थ, प्रकरण अर्थ, व्यञ्जना अर्थ भनौँ वा डेरिडाको अर्थ भञ्जनका कोणबाट हेर्यौँ भने यो पर्व नारीप्रेमको शाश्वत र अविरल प्रेमको अनुपम कथा भन्न सकिँदो रहेछ तीजलाई, अर्थात् एकतर्फी प्रेमको बेजोड डिस्कोर्स हो तीज ।
पौराणिक कथन अनुसार पार्वती शिवसँग विवाह गर्न चाहन्छिन् । एक दिन पार्वती आठ वर्षकी हुँदा उनका पिता पर्वतराजले उनलाई भगवान शिवको दर्शन गर्न लगे । पार्वती जन्मजात रूपमा आध्यात्मिक थिइन् ऊनी सानै छँदा भगवानका बारेमा जिज्ञासा राख्थिन् । त्यसैले उनी शिवलाई देखेर उत्साहित हुँदै उनैसँग विहे गर्न खोजिन् । तर भगवान शिव तपस्यामा थिए र उनले सानी केटी पर्वतीलाई खासै वास्ता गरेनन् । तर त्यो पहिलो भेटपछि पार्वती हरेक दिन प्रेमीरूप भगवान शिवको दर्शन गर्न आउँथिन् । एक दिन शिवका आँखा खुल्छन् । पार्वतीले आफूसँग शिवले कुरा गर्छन् भन्ने आशामा उनले शिवलाई प्रेमका प्रतीक ताजा फूलहरू दिइन् । प्रेमको अभियक्ति गर्ने विम्ब फूल देखेपछि शिवले आफूलाई माया गर्छन् र विवाह गर्न सक्छन् भन्ने उनले ठानेकी थिइन् । त्यसो भएन । दिनहरू थपिँदै गए र महिनाहरू र वर्षहरू हुँदै गए । पार्वती एक सुन्दर रूपवती युवती बनिन् । तैपनि शिव आफ्नो शाश्वत समाधिमा लीन रहे।
प्रेममा बहिरी रूपको र शारीरिक आकर्षणको कुनै अर्थ हुँदैन त्यो त आत्मिक र चिरन्तन हुनुपर्छ भन्ने सन्देश हरेक आदर्श प्रेमीहरूका लागि र आधुनिक समाजका लागि समेत एक शाश्वत् सङ्कथन बन्न पुगेको छ तीज ।
उता पुराणको कथाको प्रवाह आफ्नै लयमा बगेको छ । तर यता पुराणभित्रको त्यो मिथको गाँठो फुकाउनु छ प्रेमग्रन्थिका रूपमा । कठोर तपस्यामा लीन, सर्पको माला लगाएका डरलाग्दा जोगी र हेर्दै कहाली लाग्दा शिवलाई पति पाउन भनी आठ वर्षदेखि निरन्तर पर्खँदै युवती हुन पुगेकी पार्वतीको प्रेमीप्रतिको अविरल निष्ठाले नै देवत्व ग्रहण गरेको देखापर्छ ।
प्रेममा बहिरी रूपको र शारीरिक आकर्षणको कुनै अर्थ हुँदैन त्यो त आत्मिक र चिरन्तन हुनुपर्छ भन्ने सन्देश हरेक आदर्श प्रेमीहरूका लागि र आधुनिक समाजका लागि समेत एक शाश्वत् सङ्कथन बन्न पुगेको छ तीज ।
पर्वतराजले पुत्री पार्वतीलाई शिवसँग नलाग्न भने । तर पार्वतीले पिताको कुरो सुनिनन् । आफुले मनमनै रोजेको माहदेवसँग बिहे गर्ने जिद्दी गरिन् । प्रेमका लागि विद्रोह गरिन् । तपस्या गरिन् अर्थात्, पहिले हरिया पात मात्र खाएर साधना गरिन् र पछि पातपनि नखाएर तपस्या गरिन्स पात ( पर्ण ) पनि नखाएर व्रत बस्दा उनलाई अपर्णा भनियो, तर ऊनी प्रेमको गजुर पाउन अनवरत अनसन बसिन् । अन्तत पार्वतीको आफुप्रतिको प्रेम नक्कली हो को सक्कली भनी शिवले रूप बदलेर शिवकै सत्तो सराप गर्दै परीक्षा लिए । अन्ततः पार्वतीको प्रेमयुद्धमा शिव पराजित भए र पार्वतीलाई वरण गरे ।
उनले गरेको गरेको शिवपूजन अर्थात् महादेव आराधना प्रेमतप वा पूजासाधना नै हो । पार्वतीका माग माग पूर्ण गराउन त्यतिबेला उनका सखि सँगीहरूसमेत मैदानमा उत्रन्छन् । आलिका (सँगीसाथीहरू) द्वारा उनी अपहरित हुन्छिन् वा लुकाइन्छिन्, त्यो अपहरित भएको दिन भाद्र कृष्णपक्षको तेस्रो दिन पर्ने हुँदा तयसको नाम तीज रहन गयो । हरित अनि त्यही तीजका दिन आलिकाद्वारा गरिएको पार्वतीको अपहरणको पर्व अर्थात् हरितालिका तीज पर्व बन्न पुग्यो ।
विशेष गरी जन्म घर छाडेर आएकी र समाजले समयसमयमा निर्माण गरेका सांस्कृतिक कानुनले पितृसत्ताको वर्चस्व सथापित गरिदिए पछि त कुनै सामाजिक र आर्थिक अधिकार नदिएकी नारीलाई अधिकारका दृष्टिले कुँजो बनाइयो ।
तीजमा स्थायीजीवन साथी वा पतिप्राप्तिका लागि अविवाहित किशोरीहरू व्रत बस्छन् । सायद आफूले चाहेको वर प्राप्त होस् भनेर होला । विवाहित युवतीहरू व्रत बस्छन्स प्राप्त पतिको अविरल सान्निध्य र प्रेमरस निरन्तर पिउने लालसामा व्यवधान नआओस् भनेर त होला । बाँचुन्जेल आफ्ना पतिको साथ निरन्तर पाइयोस् भनेर त होला, प्रौढ महिलाहरू पनि सकीनसकी व्रत बस्छन् ।
सारमा यस पर्वको मुख्य साध्य प्रेम हो भने त्यो प्रेमरूप साध्य प्राप्त गर्न प्रेमीद्वारा गरिने शिवपूजा यसको साधन हो । त्यसैले व्रत, आराधना, समर्पण, त्याग र छिपछिपे विद्रोहको रूप तीज हो भन्दा समकालिक सन्दर्भमा उपयुक्त होला ।
प्रेमीहरू बस्ने ठाउँ आखिर कुनै अलौकिक ग्रह छैन, त्यो आखिर यही धर्ती र समाज हो । सङ्घर्षपूर्ण ढङ्गले प्राप्त गरेको प्रेमीसँग त्यही समाजमा आफ्नो जीवन आनन्दमय र सुखमय बितोस् भन्ने चाहना हरेक दम्पतीको हुन्छ । विशेष गरी जन्म घर छाडेर आएकी र समाजले समयसमयमा निर्माण गरेका सांस्कृतिक कानुनले पितृसत्ताको वर्चस्व सथापित गरिदिए पछि त कुनै सामाजिक र आर्थिक अधिकार नदिएकी नारीलाई अधिकारका दृष्टिले कुँजो बनाइयो । नारीहरू एकातिर देवी समान पूज्य हुन्छन् (यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता) भनियो । अर्कातिर व्यवहारमा सानी छँदा बाबुको, विहे पछि पतिको र बूढी भए पछि छोराबुहारीको नियन्त्रण भित्र बस्नु पर्ने (पिता रक्षति कौमारे, भर्ता रक्षति यौवने, पुत्रो रक्षति वार्धक्ये, न स्त्री स्वातन्त्र्यमर्हति! ) भनी पराधीन बनाइयो ।
अनि त तीज बन्यो यही पीडा पोख्ने थलो । उन्मुक्त उड्ने चरीलाई जेलमा थुनिँदा कस्तो हुँदो हो । चरी जेलैमा गीतको लोकप्रयिता देखेकै छौँ । यसरी जीवन अर्पेको प्रेमी र पतिकै घरमा कठोर यातना पाए पछि तीजमा गाउन थाले नारीहरूले पीडा र व्यथाका गीत ।
छोराको विवाहपश्चात् मातृप्रेम खोस्न आएकी बुहारी ठान्ने आमा र माइती घरबाट गोत्रसहित नाता सारेर आएकी दुलहीले आफ्ना पतिको मायाको वाधक ठान्ने बुहारीका बिचको मनोवैज्ञानिक द्व्न्द्व एक जमानाको समाजमा निकै चर्को थियो र त्यसका थुप्रै र विनिर्मित अंश अझै पनि छन् ।
त्यसैले त पौराणिक सन्दर्भसँग जोडिएर आउने तीजपर्वको सामजिक कथ्य पनि सशक्त नै छ । जन्म घरलाई छाडेर मात्र होइन गोत्रसमेत सारेर पतिका घरमा आएकी किशोरीलाई समयक्रममा घरमा अनेक समस्याहरूले घेर्न थाल्छन् ।
त्यसैले कुनै न कुनै रूपमा पतिप्रप्तिसँग सम्बन्धित, प्राप्त गरेका पतिको अविरल सामीप्य प्राप्त गर्ने कुरासँग सम्बन्धित अनि प्रेम बिछोड र मनोवेदनासँग सम्बन्धित छन्, आजका तीजका गीत ।
पहिले गीतमा सासू र बुहारीका बिचको द्वन्द्वजस्तो देखिए पनि त्यस द्वन्द्वको केन्द्रमा पनि (छोरा र पतिको भूमिका निर्वाह गरेको) पुरुष नै रहेको देखिन्छ । छोराको विवाहपश्चात् मातृप्रेम खोस्न आएकी बुहारी ठान्ने आमा र माइती घरबाट गोत्रसहित नाता सारेर आएकी दुलहीले आफ्ना पतिको मायाको वाधक ठान्ने बुहारीका बिचको मनोवैज्ञानिक द्व्न्द्व एक जमानाको समाजमा निकै चर्को थियो र त्यसका थुप्रै र विनिर्मित अंश अझै पनि छन् ।
घरमा बुहारीमाथि शासन गर्ने सत्तापक्ष भनेका अधिकांशतःआमा, जेठानी, आमाजु, नन्द, देवर आदि त्यतिबेला हुन्थे भने बुहारी एक्ली निरीह प्रतिपक्ष हुन्थिन् । उनको समर्थनमा नौडाँडा पारिका माइती पक्षका बाबु आमाको मौन समर्थन मात्र हुन्थयो । पतिका अगाडि पितृसत्ताकी कठोर शासकका सासू देखिन्थिन् । सत्ताधारी आमाका पक्षमा पूरै लाग्ने कि आफैले सात फेरा घुमेर र कसम खाएर ल्याएकी श्रीमतीका पक्षमा लाग्ने भन्ने सङ्कट आइलाग्थ्यो ।
आजको बदलिँदो र भूमण्डलीकृत समयमा बजारवाद र उपभोक्तावादको आसर तीज गीतमा पनि पर्यो । महिला मात्र नाच्ने तीजमा बिच्चबिच्चमा पुरुष नाच्न थाले । महिलाले मात्र गाउने गीत पुरुषले पनि गाउन थाले । तीजका गीतको बजारीकरण भयो । युट्युव र टिकटकमा भ्युज र सब्स्क्राइबर बढाउने र भाइरल हुने नाममा विकृति पनि देखियो । गरगहनाको प्रदर्शनले भड्किलो, खर्चिलो र जोखिमयुक्त बन्यो तीज ।
सासू र बुहारीको विवाद र सम्बन्ध नियन्त्रण र सन्तुलनमा राख्न खुकुरीको धारमा टेकेर चल्नु पर्थ्यो पतिले । त्यसमा पनि बुहारीलाई चेलीको रूपमा भन्दा पनि बिना ज्याला कज्याउन पाइने श्रमिकदासीका रूपमा काममा दलाउने दलन प्रवृत्ति छँदै थियो । प्रेमी पतिका घरमा पाएको घृणा र तिरस्कार अनि शोषणका विरुद्धको सीमान्तीकृत आवाजसमेत तीजगीतमा मुखर हुन्थे ।
समाजमा यो प्रकारको शोषण छँदा त्यस्ता गीत गाइन्थे । आज पनि ती गीतको मर्म मरेको छैन । तीजको गीतमा महिलाले आफ्ना देश परिवेशका अवस्था दर्शाउने गर्दथे । समाज र परिवारमा भोगेका कथा सुनाउँथे । खासगरी आफ्ना सासू ससुरा, श्रीमान्, आमाजू, नन्द, देवर जेठाजु, दाजुभाइले गरेका राम्रा नराम्रा व्यवहारको चर्चा गर्थे । माइती पक्षबाट तीजमा चेलीलाई लिन नआएको पीडा सुनाउँथे । यसका साथै समाजमा छोरा र छोरीमाथि गरिने विभेदको चर्चा समेत तीजगीतमा हुन्थे ।
आजको बदलिँदो र भूमण्डलीकृत समयमा बजारवाद र उपभोक्तावादको आसर तीज गीतमा पनि पर्यो । महिला मात्र नाच्ने तीजमा बिच्चबिच्चमा पुरुष नाच्न थाले । महिलाले मात्र गाउने गीत पुरुषले पनि गाउन थाले । तीजका गीतको बजारीकरण भयो । युट्युव र टिकटकमा भ्युज र सब्स्क्राइबर बढाउने र भाइरल हुने नाममा विकृति पनि देखियो । गरगहनाको प्रदर्शनले भड्किलो, खर्चिलो र जोखिमयुक्त बन्यो तीज ।
जे सुकै भए पनि यसको मूलमर्म प्रेम हो । तीजलाई असली प्रेमका रूपमा, लैङ्गिक विभेदरहितताका रूपमा र सामजिक रूपान्तरंणका रूपमा मनाउनु जरूरी छ । यसको मौलिकतालाई युगचेतना अनुरूप मनाउनु जरूरी छ ।
अन्ततः सबै तह र तप्काका नारीहरूको प्रेम अभिव्यक्त गर्ने एक महान् पर्वका रूपमा तीजको विशिष्ट महत्व देखापर्छ । यसरी आधुनिक समाजको प्रेम प्रप्तिका निम्ति गरिने पवित्र आराधना तीजको आधुनिक सामजिक सन्दर्भ हो । यसको प्रचीनता पुराणकाल हो भने यसको सन्दर्भ प्रेम हो । प्रेम शाश्वत् र चिरन्तन कथा र गाथा पनि हो । प्रेमको यो पक्ष वा पाटो उजागर गरिदिने हो भने सायद सार्वकालिक, शाश्वत् र चिरन्तन प्रेमको संसारकै सबैभन्दा ठुलो पर्व यही तीज पर्व हुन्थ्यो होलास यो अन्तर्राष्ट्रिय पर्व बन्थ्यो होला । यो तीज पर्व प्रेमको अन्तर्राष्ट्रिय प्रेमपर्व बनोस् । पुराणमा वर्णित यो प्रणयप्रसङ्ग आदिमप्रेमको एक विशद् नव भ्यालेन्टाइन भाष्य बनोस् !!!! अस्तु ।