नेपाल कृषि प्रधान देश हो । यहाँका करिब ६० प्रतिशत नागरिक कृषि पेशामा संलग्न रहेका छन् । कृषि क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा करिव २७ प्रतिशत योगदान रहेको छ भने कुल कृषि क्षेत्रको योगदानमा पशुपालन क्षेत्रको करिव १३ प्रतिशत योगदान रहेको छ ।त्यसै गरी पशुपालन एक वृहत्त क्षेत्र हो । यसका आधारभूत खम्बाहरुमा पशुपन्छीको नश्ल, आहारा व्यवस्थापन, गोठ तथा खोर व्यवस्थापन, पशु स्वास्थ्य व्यवस्थापन, पशुपन्छी बजार व्यवस्थापन मुख्य रहेका छन । यी पाँच वटा आधारभूत खम्बाहरु मध्ये सबैको आ आफ्नो महत्व रहेको भए पनि सानो क्षेत्र तर महत्वपूर्ण क्षेत्रको रुपमा रहेको पशु स्वास्थ्य क्षेत्र सबैको आकर्षक बनेको देखिन्छ । यसको पछाडि चिकित्सा र चिकित्सक शब्दको आकर्षणता पनि एक हो ।
नेपालमा पशु चिकित्सा सेवा परापूर्वकालदेखि नै परम्परागत रुपमा सञ्चालनमा थियो । पशुपालनमा आधुनिकताको आवश्यकता भए संगै वि. सं. १९९६ मा पहिलो पटक काठमाडौंमा एलोप्याथिक प्रणाली अनुसार एक भेटेरीनरी डिस्पेन्सरी स्थापना भई उक्त डिस्पेन्सरी वि. सं. १९९७ सालमा पशु चिकित्सालयमा परिणत भयो । वि. सं.२०१४ साल सम्म आइपुग्दा १० जिल्लामा पशु अस्पताल स्थापना भएको थियो । वि. सं. २०२१ साल सम्ममा ३३ वटा पशु अस्पताल, २१ वटा डिस्पेन्सरी, १८ वटा चेक पोष्ट र ५ वटा पशु विकास फार्महरु स्थापना भएका थिए ।त्यति वेला सम्म यी संस्थाहरु कृषि विभाग अन्तर्गत राखिएका थिए भने वि. सं. २०२३ सालमा पशु विकास तथा पशु स्वास्थ्य विभागको स्थापना भई पाँचौं पञ्चवर्षीय योजना देखि पशु स्वास्थ्य, पशु आहारा, पशु प्रजनन व्यवस्थापन, सेवालाई एकिकृत एवं समन्वयात्मक रुपमा कृषकहरुको घर दैलो सम्म सेवा पुर्याउने गरी कार्यक्रम सञ्चालनमा ल्याइएको थियो । वि. सं. २०२९ सालमा पशु विकास तथा पशु स्वास्थ्य विभाग कृषि विभागमा गाभियो । वि. सं. २०३६ सालमा पुन: पशु विकास तथा पशु स्वास्थ्य विभाग पुर्नगठन गरियो । क्रमिक रुपमा ७५ जिल्लामा जिल्ला पशु सेवा कार्यालय र ग्रामिणस्तरमा ९९९ पशु सेवा केन्द्र, उप केन्द्र र प्रयोगशाला तथा नयाँ फार्महरु स्थापना भई सञ्चालनमा आएका थिए । वि. सं. २०४९ सालमा पशु विकास तथा पशु स्वास्थ्य विभाग पुन: कृषि विकास विभागमा गाभियो । वि. सं. २०५२ साल श्रावण १ गते देखि पशु सेवा विभागको गठन भई सञ्चालनमा रहेको छ । यसरी एउटा विभाग थुप्रै आरोह अवरोह पार गर्दै आउदा कार्यरत सबै कर्मचारीहरुले यो वा त्यो रुपमा निकै पिडा भोग्नु पर्यो । यस अविधिमा थुप्रै पेशा व्यवसायीका ऐन कानूनहरुको तर्जुमा गरियो र पशु सेवाको क्षेत्रमा पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५, पशु बधशाला र मासु जाँच ऐन २०५५ र पशु चिकित्सा परिषद ऐन २०५५ गरी ३ वटा कानून तर्जुमा गरी जारी गरीयो । जसरी पशु चिकित्सकहरुको लागि पशु चिकित्सा परिषद ऐन तर्जुमा गरीयो त्यसै गरी पशु सेवा क्षेत्रमा कार्यरत पशु चिकित्सकहरु बाहेकका प्राविधिकहरुको पेशागत सुरक्षाको लागि परिषद गठन गरिनु पर्दथ्यो । कृषि सेवा अन्तरगतका १२ वटा समुह मध्ये पशु सेवा तर्फ भेटेरिनरी र लाईभष्टक पोल्ट्री एण्ड डेरी डेभ्लपमेन्ट गरी २ वटा समूह रहने गरी वि. सं २०४९ सालमा जारी गरिएको निजामती सेवा ऐन, २०४९ मा व्यवस्था गरियो । पशु सेवा बिभाग अन्तर्गत कार्यरत कर्मचारीहरु भेटेरिनरी समूहका पशु चिकित्सा विषयमा कम्तिमा स्नातकोपाधि प्राप्त गरेको व्यक्ति बाहेक अन्य सबैलाई पशु चिकित्सा व्यवसाय गर्नको लागि अधिकार विहीन गरी कानूनले नै दण्डित हुन पर्ने अवस्था सिर्जना गर्यो भने अर्को तर्फ दर्तावाल (चिकित्सा परिषदमा दर्ता भएका) पशु चिकित्सा व्यवसायी संख्या एकदमै न्यून थियो र छ । पशु चिकित्सामा स्नातक गरेका वा स्नातकोत्तर गरेको जनशक्तिको पहिलो रोजाइ विदेश र त्यसपछि शहर केन्द्रित हुँदा पशु चिकित्सा सेवा प्रवाह गर्ने कार्यमा मध्यम र निम्नस्तरीय जनशक्ति (प्राविधिक) ले करिव ८० प्रतिशत भन्दा बढी सेवा प्रवाह गर्दै आइरहेका छन् । चिकित्सा पेशामा संलग्न भएका प्राविधिक जनशक्तिलाई कानुनी दायरामा ल्याउनु पर्छ भन्ने संघर्षमा नेपाल पारा भेटिरीनरी एण्ड लाइभस्टक एशोसिएसन (NEVLA) ले करिव २४ वर्ष देखि संघर्षरत छ । यस क्षेत्रमा कार्यरत जनशक्तिको व्यवस्थापन गर्न सरकारले पनि खासै चाँसो नलिएको कारण पेशाकर्मीहरु मार्कामा परिरहेका छन् ।
अहिले समस्याले जटिल मोड लिएको छ । एकातिर अधिकार विहीनले अधिकारको लागि संघर्ष गर्नु पर्ने र अर्को तर्फ अधिकार प्राप्त भनिएका पशु चिकित्सकहरु अरुलाई अधिकार दिनु हुन्न भनेर आन्दोलन गरिरहेका छन् । पशु चिकित्सा परिषद ऐन, २०५५ ले दर्तावाल पशु चिकित्सकहरुले संसदमा पास भएको “पशु स्वास्थ्य तथा पशु सेवा विधेयक, २०७६” विधेयकलाई राष्ट्रिय सभाबाट पास हुनु हुन्न भनेर आन्दोलन गहरिरहेको अवस्था छ । भेटेरिनरी सेवा सुचारु भए देखिनै संगैका सहकर्मी जसले पशु चिकित्सा पेशा व्यवसायको साँखलाई उच्च राख्नको लागि निरन्तर रुपमा राज्यको कानूनले अपराधी तुल्याउदा समेत प्रवाह नगरी कृषकहरुलाई सेवा प्रवाह गर्दै आएका छन् । हामी संगै पशु स्वास्थ्यकर्मीहरुले पनि सेवा प्रावह गर्दै आएका हुन उनीहरुलाई पनि कानूनी दायरामा ल्याउनु पर्दछ भन्ने तर्फ कहिले पनि नसोचेका दर्तावाल पशु चिकित्सा व्यवसायीहरुका हक अधिकार चिकित्सहरु बाहेकले कानून बनाएर खोस्न सक्ला त भन्ने कुराको बारेमा सरोकारवाला सबैको चाँसो भएकोले पशु चिकित्सा परिषद ऐन, २०५५ मा भएका प्रावधान र पशु स्वास्थ्य तथा पशु सेवा विधेयक, २०७६ मा रहेका परिषदको काम कर्तव्य र अधिकारमा व्यवस्था गरेका प्रावधानहरुको अध्ययन गर्दा स्पष्ट हुनेनै छ ।
नेपाल पशु चिकित्सा परिषद् ऐन, २०५५ को प्रस्तावनामा नेपाल राज्यमा पशु चिकित्सा व्यवसायलाई प्रभावकारी बनाई व्यवस्थित गराउन तथा पशु चिकित्सकहरुको योग्यता अनुसार नाम दर्ता समेतको व्यवस्था गर्नको लागि नेपाल पशु चिकित्सा परिषदको स्थापना गर्न वाञ्छनीय भएकोले संसदले यो ऐन बनाइएको छ । भनी उल्लेख गरेको छ भने,
पशु चिकित्सा परिषद ऐन, २०५५ को काम, कर्तव्य र अधिकार देहाय बमोजिम रहेको छ :
(क) पशु चिकित्सा व्यवसाय सुचारु रुपबाट सञ्चालन गर्नको लागि आवश्यक नीति, योजना तथा कार्यक्रमहरु तयार गरी त्यसको कार्यान्वयन गर्ने ।
(ख) पशु स्वास्थ्य सेवा र तत्सम्बन्धी प्रणालीलाई सुव्यवस्थित, स्तरीय, मर्यादापूर्ण र प्रभावकारी बनाउन आवश्यक नीति, कार्ययोजना तथा कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयनको लागि नेपाल सरकार समक्ष पेश गर्ने ।
(ग) पशु औषधि, जैविक पदार्थ, पशुको दाना, चल्ला तथा पशु उत्पादन सामग्रीलाई गुणस्तरयुक्त बनाउन आवश्यक पर्ने मापदण्ड तयार गर्न नेपाल सरकारलाई सुझाव दिने ।
(घ) पशु चिकित्सकहरुको योग्यता निर्धारण गर्ने र त्यसरी निर्धारित योग्यता पूरा गरेका पशु चिकित्सकहरुको नाम दर्ता गरी अद्यावधिक अभिलेख राख्ने ।
(ङ) दर्तावाल पशु चिकित्सकहरुले पालना गर्नु पर्ने आचारसंहिता तयार गरी लागु गर्ने ।
(च) पशु चिकित्सा शिक्षा दिने शिक्षण संस्था र त्यस्ता संस्थाहरुले प्रदान गरेका प्रमाणपत्र तथा उपाधिहरुलाई तोकिए बमोजिम मान्यता दिने ।
(छ) पशु चिकित्सा र पशु स्वास्थ्यसंग सम्बन्धित बिषयमा नेपाल सरकारलाई आवश्यक परामर्श दिने ।
(ज) पशु औषधिको खोज वा आविष्कार गर्ने कार्यमा प्रयत्नशील रहने ।
(झ) अन्तर्राष्ट्रिय क्षेत्रमा हासिल गरिएका पशु चिकित्सासंग सम्बन्धित अनुसन्धान वा अनुभवहरु आदान प्रदान गरी नेपालको लागि उपयुक्त हुने कुराहरु लागु गर्न नेपाल सरकार समक्ष सिफारिश गर्ने ।
(ञ) दर्तावाल पशु चिकित्सकले आचारसंहिताको पालना नगरेमा तोकिए बमोजिमको कार्यविधि पूरा गरी त्यस्तो पशु चिकित्सकको नाम परिषदबाट हटाउने ।
(ट) परिषदको उद्देश्य प्राप्तिको लागि आवश्यक पर्ने अन्य कार्यहरु गर्ने ।
पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ को प्रस्तावनामा पशु स्वस्थ्य तथा पशु सेवा व्यववसायीहरुको सेवा र व्यवसायलाई व्यवस्थित, गुणस्तरीय एवं मर्यादित ढंगले परिचालन गरी प्रभावकारी पशु स्वास्थ्य र पशु सेवा व्यवसायको विकास गर्न पशु स्वास्थ्य तथा पशु सेवा परिषदको स्थापना गर्न वाञ्छनीय भएकोले संघीय संसदले यो ऐन बनाएको छ ।
पशु स्वास्थ्य तथा पशु सेवा परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :
(क) पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायलाई सुव्यवस्थित, स्तरीय, मर्यादित र प्रभावकारी बनाउन आवश्यक नीति योजना तथा कार्यक्रम तर्जुमा गरी स्वीकृतिको लागि मन्त्रालय समझ पेश गर्ने ।
(ख) पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायलाई सुचारु रुपबाट सञ्चालन गर्न नेपाल सरकारबाट स्वीकृत नीति, योजना तथा कार्यक्रमहरु कार्यान्वयन गर्ने गराउने ।
(ग) पशु तथा पशुजन्य पदार्थ उत्पादन, पशु प्रजनन सम्बन्धी सामग्रीको उत्पादन, प्रशोधन, वितरण तथा पशुपालन प्रणालीलाई गुणस्तरयुक्त बनाउन मन्त्रालयलाई सुझाव दिने ।
(घ) पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायिहरुको योग्यता निर्धारण गर्ने र त्यसरी निर्धारित योग्यता पुरा गरेका पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीहरुको नाम दर्ता गर्ने र सोको अध्यावधिक अभिलेख राख्ने ।
(ङ)पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीहरुलाई प्रमाणपत्र दिने तथा प्रमाणपत्र रद्द गर्ने ।
(च) पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायिहरुको आचार संहिता तयार गरी लागु गर्ने ।
(छ) पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी सम्बन्धी शिक्षा दिने शिक्षण संस्थाहरुको पाठ्यक्रमा भर्ना शर्तहरु तथा परीक्षा प्रणाली सम्बन्धी नीति निर्धारण गरी त्यस्ता संस्थाहरुले प्रदान गरेका प्रमाणपत्र तथा उपाधिलाई तोकिए बमोजिम मान्यता दिने ।
तर नेपाल पशु चिकित्सा परिषदमा दर्ता हुने शैक्षिक योग्यता प्रदान गर्ने शिक्षण संस्थाहरुको पाठ्यक्रम भर्ना शर्तहरु तथा परीक्षा प्रणाली सम्बन्धी नीति निर्धारण गरी त्यस्ता संस्थाहरुको प्रदान गर्ने प्रमाण पत्र तथा उपाधि दिने बिषयमा यो ऐन लागु हुने छैन ।
(ज) पशु स्वास्थ्य तथा पशु सेवासंग सम्बन्धित बिषयमा मन्त्रालयलाई आवश्यक परामर्श दिने ।
(झ) अन्तर्राष्ट्रिय क्षेत्रमा हासिल गरिएका पशु स्वास्थ्य सेवासंग सम्बन्धित अनुसन्धान वा अनुभवको आदान प्रदान गरी नेपालका लागि उपयुक्त हुने बिषयहरु लागू गर्न मन्त्रालयमा सुझाव पेश गर्ने ।
(ञ) परिषदले निर्धारण गरेको आचार संहिताको पालना गरे नगरेको सम्बन्धमा निरीक्षण, सुपरीवेक्षण र अनुगमन गर्ने र आचार संहिताको पालना नगरेको पाइएमा तोकिए बमोजिम कार्यविधि पूरा गरी त्यस्ता पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीहरुको नाम परिषदको दर्ता किताबबाट हटाउने ।
(ट) परिषदको उद्देश्य प्राप्तिको लागि आवश्यक पर्ने अन्य कार्य गर्ने ।
त्यसै गरी पशु चिकित्सा परिषद ऐन, २०५५ को दफा २ (च) मा पशु चिकित्सकको परिभाषा गरिएको छ जसमा “पशु चिकित्सक” भन्नाले परिषदबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट पशु चिकित्सा बिषयमा कम्तिमा स्नातकोपाधि प्राप्त गरेको व्यक्ति सम्झनु पर्छ ।” भनी परिभाषा गरिएको छ भने,
पशु स्वास्थ्य तथा पशु सेवा विधेयक, २०७६ को दफा २ (च) पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायको परिभाषा गरिएको छ जसमा “पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय” भन्नाले पशु रोगको उपचार निदान तथा रोग नियन्त्रण, पशु प्रजनन, पशुमा कृत्रिम गर्भाधान र पशु कल्याण सम्बन्धी कुनै कार्य सम्झनु पर्छ । ” भनी परिभाषा गरिएको छ ।
पशु स्वास्थ्य तथा पशु सेवा वृहत क्षेत्र भएकोले संकुचित रुपमा पशु स्वास्थ्य तथा पशु सेवाको परिभाषा गर्नु उपयुक्त हुदैन । पशु स्वास्थ्य तथा पशु सेवा एक सिक्काका दुई पाटा हुन । पशु चिकित्सा संवेदनशील विषय भएकोले यसलाई व्यवस्थित गर्नेको लागि पशु चिकित्सा परिषदको व्यवस्था भएको र समग्र पशु स्वास्थ्य तथा पशु सेवा क्षेत्रलाई पशु चिकित्सा परिषदले समेट्न नसक्ने भएकोले पशु स्वास्थ्य तथा पशु सेवा परिषदको आवश्यकता पर्न गएको र यी दुबै परिषदहरुले आ आफ्नो काम, कर्तव्य र अधिकार इमान्दारी ढंगले गर्दा मात्र समग्र पशु सेवा क्षेत्रको विकासमा टेवा पुग्न जानेछ ।
पशु चिकित्सा परिषदको स्थापना संगसंगै पशु स्वास्थ्य तथा पशु सेवा परिषदको स्थापना हुन पर्दथ्यो दुर्भाग्यबस सो हुन सकेन । आज सम्म आइपुग्दा दुई दशक समयावधि पुरा भई तेस्रो दशकको आधा समय व्यतित हुँदा सम्म पनि यस क्षेत्रमा काम गर्ने ठुलो तप्का करिब ६० हजार भन्दा बढी पशु स्वास्थ्यकर्मीहरुले पेशा व्यवसायलाई धानी रहेको छ पशु चिकित्सा परिषद् ऐन २०५५ ले उनीहरुलाई आजसम्म आउदा पनि अपराधी नै बनाई रहेको छ । नेपाल सरकारले जसरी दर्तावाल पशु चिकित्सकहरुलाई पेशा व्यवसाय गर्न पाउने अधिकार प्रदान गर्यो त्यसकै गरी पशु चिकित्सा परिषद ऐन, २०५५ ले पेशा व्यवसायको काम गरिरहेकाहरुलाई पेशा व्यवसय गर्ने व्यक्तिहरुले कानून बमोजिम पेश व्यवसाय सञ्चालन गर्न पाउने गरी व्यवस्था मिलाउन समन्वयकारी भूमिका निर्वाह गर्नु नसक्दा थप जटिलता निम्तिन गयो । पशु सेवा क्षेत्रमा कार्यरत दर्तावाल पशु चिकित्सकहरु बाहेकको ठुलो जनशक्तिले पशु चिकित्सा परिषद ऐन, २०५५ पारित भए देखि नै हामीहरुलाई पनि परिषदले अधिकार दिनु पर्दछ हामीले गरेका कामहरु कानूनी मान्यता प्राप्त गर्नु पर्दछ भनी हार गुहार गर्दा गर्दै बल्लतल्ल पशु स्वास्थ्य तथा पशु सेवा परिषद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ साल मंसीर २९ गते संघीय संसदमा विधेयकको रुपमा दर्ता हुन पुग्यो । संघीय संसदमा दर्ता भएको उक्त विधेयक ३ वर्ष पछि आएर संघीय संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले २०७९ श्रावण २२ गते प्रतिनिधि सभामा पेश गरी व्यापक रुपमा दफावार छलफल भई २०७९ साल श्रावण ३१ गतेप्रतिनिधि सभाबाट पारित गरियो । उक्त विधेयक पारित भएको दिन देखि नै अधिकार प्राप्त दर्तावाल पशु चिकित्सक तथा पेशागत संस्था नेपाल भेटेरिनरी एशोसिएसनले विरोध तथा आन्दोलन शुरुवात गरी रहेको अवस्था छ । नेपालमा भेटेरिनरी सेवालाई आवश्यक सेवामा दर्ज गराउने नेतृत्वदायी भूमिका निर्वाह गर्ने आवश्यक सेवाको मान्यता प्राप्त सेवामा बाधा अडचन पुर्याउने गरी हडताल तथा आन्दोलन गर्न नपाउने व्यवस्थालाई उलंघन गर्नुको सट्टा बौद्धिक वर्गको पहिचान सहितको व्यवहार प्रस्तुतका साथ संवाद, समन्वय, सहकार्य, छलफल, भेटघाट आदि विधिहरु अवलम्बन गर्न उपयुक्त हुन्थ्यो ।
करिव २४ वर्ष अघि देखि पशु चिकित्सा परिषद ऐन, २०५५ को दफा २७ कसुर तथा दण्ड सजायको व्यवस्थामा (१) दफा ११ बमोजिम परिषदमा नाम दर्ता नगराई पशु चिकित्सा व्यवसाय गरेमा यस ऐन बमोजिम कसुर गरेको मानिनेछ ।
(२) उपदफा १ बमोजिम कसुर गर्ने व्यक्तिलाई तीन हजार रुपैयासम्म जरिवाना वा तीन महिना कैद वा दुवै सजाय हुनेछ ।
(३) उपदफा २ मा लेखिएदेखि बाहेक यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमावलीको विपरीत हुने गरी कुनै काम गर्ने व्यक्तिलाई दुई हजार रुपैयासम्म जरिवाना हुनेछ ।
भन्ने स्पस्ट व्यवस्था भएतापनि दर्तावाल पशु चिकित्सक बाहेकका करिब ६० हजार पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीहरुले पशु चिकित्सा परिषद ऐन, २०५५को उलंघन गरेको छ भनेर भन्न सक्नु पर्दछ नकी पेशा व्यवसायको इज्जत धानी रहेका अधिकार विहीनहरुलाई कानूनको दायरामा ल्याई पेश व्यवसायलाई व्यवस्थित एवं मर्यादित बनाउन असहयोग गर्न कदापि पनि सुहाउदैन।
नेपालको स्वास्थ्य सेवा जस्तै: कृषि क्षेत्र पनि व्यापक क्षेत्र हो । नेपाल सरकारले नेपालको स्वास्थ्य क्षेत्रमा पेशा व्यवसायीहरुलाई मर्यादित र व्यवस्थित गर्नको लागि नेपाल मेडिकल काउन्सियल (Nepal Medical Council) ऐन २०२०, आयुर्वेद चिकित्सा परिषद ऐन, २०४५, नेपाल नर्सिङ काउन्सियल ऐन, २०५२, नेपाल स्वास्थ्य व्यवसायी परिषद ऐन, २०५३ गरी छुट्टा छुट्टै चार वटा परिषद बनी कार्यान्वयनमा रहेका छन् । आजका दिन सम्म परिषदले योग्यता अनुसार परिषदमा दर्ता गरी स्वास्थ्य सेवालाई गुणस्तरीय एवं प्रभावकारी रुपमा सञ्चालन गर्न सफलता प्राप्त गरेको छ त्यसै गरी नेपाल भेटेरिनरी काउन्सियल (Nepal Veterinary Council) पनि नेपाल मेडिकल काउन्सियल जस्तै: चिकित्सकहरुको संस्था भएको कुरा बुझेर संलग्न पेश व्यवसायी सबैले आ आफ्नो योग्यता, क्षमता अनुसारको काम गर्ने अनुमति प्राप्त निकायमा दर्ता भई सेवा प्रवाहको लागि उच्च मनोवलका साथ काम गर्न पाउदा मात्र सबैको हित हुन्छ भन्ने सधैं सबैले हेक्का राख्नु आवश्यक छ ।
वि. सं. २०५५ साल देखि कार्यान्वयनमा आएको पशु चिकित्सा परिषद ऐन २०५५ को दफा २७ आजका दिन सम्म निरन्तर उलंघन भई रहेकोले नेपाल सरकारले पशु स्वास्थ्य तथा पशु सेवा क्षेत्रमा कार्यरत अधिकार विहीन पेशा व्यवसायीहरुलाई कानूनको दायरा भित्र ल्याउदा मात्र कानूनी शासन (Rule of law) को पालना हुन्छ । कानूनको पालना गर्नु सबैको कर्तव्य भित्र पर्दछ ।नेपाल पशु चिकित्सा परिषद् ऐन २०५५ जारी भएदेखि नै निरन्तर रुपमा उलंघन भई रहने ऐनको औचित्यको बारेमा सकारात्मक हुनको लागि समेत पशु स्वास्थ्य तथा पशु सेवा विधेयक, २०७६ राष्ट्रिय सभाबाट छिटो भन्दाछिटो पारित भई ऐन को रुपमा कार्यान्वयन आउनुमा सबैको हित छ ।
भेटेरिनरी विशेषज्ञ सेवाहरु निम्न अनुसार रहेकाले पशु चिकित्सकहरुले आफुले प्रवाह गर्ने सेवा र पशु चिकित्सा प्राविधिकहरुले प्रवाह गर्ने सेवा बीच खासै तात्विक भिन्नता रहेको कुरा पशुपालक कृषक तथा उद्यमी हरुबीच प्रदर्शन गर्न सक्नु पर्दछ । अवको दिनमा पशु चिकित्सकहरुले आफ्नो Core function मा केन्द्रित भई कृषकको गोठ तथा फर्ममा सेवा प्रवाह गर्न सकेमा कुनै माइकालालले पेशा व्यवसायमा धावा बोल्न सक्दैन र डाक्टरको सेवा अहरणीय हो भने कानूनी रुपमा पशु चिकित्सा परिषदले दिएको अधिकारको पूर्ण सदुपयोग हुने, समाजमा इज्जत प्रतिष्ठमा बढोत्तरी हुन गई पाराप्रोफेशनहरुबाट असुरक्षित भएको कल्पना समेत गर्ने अवस्था आउदैन । सीप र ज्ञानको कमजोर अवस्थामा मात्र पेशामा कमजोर भएको भान हुनु अस्वभाविक हुदैन र दत्तचित्तभई क्षमता विकासको लागि अहोरात्र खट्नु पनि त्यतिकै आवश्यक छ । अबको भेटेरिनरी सेवा भनेको विज्ञतामा आधारित हुनु पर्छ । भेटेरिनरी विषयमा स्नातक गर्ने बित्तिकै एउटा मान्यता प्राप्त डाक्टर पदबी हासिल गरिएको हुन्छ भने सेवाग्राहीले विश्वास गर्नको लागि फिल्ड वा कार्यक्षेत्रमा खरोरुपमा प्रस्तुत हुनुको लागि निम्नानुसारको विषयमा विज्ञता लिनु पनि त्यतिकै आवश्यक छ-
| Anesthesiology and analgesia | Animal welfare | Avian practice |
| Bacteriology and mycology | Beef cattle practice | Behavior |
| Canine and feline medicine | Cardiology | Dairy practice |
| Dentistry | Dermatology | Exotic animal medicine |
| Emergency and critical care | Equine medicine | Epidemiology |
| Laboratory animal medicine | Orthopaedics | Internal medicine |
| Pathology | Pharmacology | Poultry medicine |
| Reproductive medicine | Radiation oncology | Radiology |
| Shelter medicine | Surgery | Swine health management |
| Toxicology | Virology | Zoological medicine |
दर्तावाल पशु चिकित्सक बाहेकका पशु स्वास्थ्यकर्मीहरुले पनि त्यहीँ विषयहरु प्रारम्भिक शिक्षाको रुपमा अध्ययन गरी आएका हुन्छन् ।कहिले काँहि गुरु भन्दा चेलाहरुले अथक मेहेनत गर्दा “गुरु गुर, चेला चिनी” भई दिदा हाम्रो पशु चिकित्सा क्षेत्रमा कार्यरत अधिकाँश दर्तावाल पशु चिकित्सकहरु चेलाहरुबाट तर्सिनु पर्ने मनोगत रुपमा कमजोर भएको कुरा कताकता भान भएको देखिन्छ । पशुपालनमा अनुसन्धानसम्म अध्ययन गरेका लाइभस्टक समूहको जनशक्ति घाँस विकास तथा आहारा, गाई पालन, भैँसी पालन, बंगुर पालन, कुखुरा पालन, भेडा पालन, कुकुर पालन आदि विषयमा विज्ञ भए पनि चिकित्सकहरुले सबै कामकार्वाही आफुले मात्र गर्न पाउने गरी ऐन निर्माण गर्न लगाएका छन् । नेपाल सरकारले मनन गर्नु विषय के हो भने पशु चिकित्सक भनेका रोगका विशेषज्ञ भएका हुँदा उनीहरुलाई चिकित्सकीय कार्यमामात्र केन्द्रित गरी भेटेरिनरी डाक्टर संसारको सबै भन्दा ठुलो डाक्टर हो भन्ने कुरालाई विशेष जोड दिनु पर्दछ । अध्ययन गरेर आर्जन गरेको ज्ञान, सीप तथा योग्यता क्षमता अनुसारको काम गर्नको लागि क्षमता जाँच गर्ने अधिकारीक निकाय भनेको पेशागत परिषद नै भएकोले योग्यता, क्षमता अनुसारको कामको स्पष्ट डिमार्केशन गरी पेशा व्यवसायको कामलाई अधिकारिकता दिनुको विकल्प छैन्।दर्तावाल पशु चिकित्सक र अन्य पशु स्वास्थ्यकर्मीहरु बीच नङ र मासुको जस्तै सुमधुर सम्बन्ध स्थापित हुन्छ ।Team work and group Dynamic को माध्यमबाट पशुपालनमा संलग्न कृषक तथा उद्यमीहरुले प्रभावकारी र गुणस्तरीय सेवा उपलब्धताको सुनिश्चिता हुन गई पेशामा संलग्न सबै पक्षको इज्जत, प्रतिष्ठा तथा मान सम्मान प्राप्त हुन्छ । अव ७५३ वटा स्थानीय तहमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको संरचना र सबै वडाहरुमा पशु चिकित्सकको दरबन्दी हुने गरी सेवा केन्द्रहरु रहने गरी पशु चिकित्सा क्षेत्रमा कार्यरत सबै पेशागत संघ संगठनहरु एक जुट हुनु आवश्यक छ । नकारात्मक द्वन्द्वले कसैको हित गर्दैन । दर्तावाल तथा दर्ता नभएका पशु स्वास्थ्य कर्मीहरु एउटै जहाजका यात्री हौं भन्नेकुरालाई विर्सन मिल्दैन। एक पक्षले अर्को पक्षलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारमा सकारात्मक सोचका साथ अगाडि बढ्दा मात्र दुबै पक्षको Win Win situation स्थापित गर्ने वातावरण सिर्जना गर्नु अपरिहार्य छ ।
कथित दर्तावाल पशु चिकित्सकको आन्दोलन यसकारण पनि अवैध छ कि पशुपालन विषयमा स्नातक, स्नातकोत्तर र अनुसन्धान गरी सकेका पशुपन्छी पालन विज्ञहरुको काममा बाधा अडचन पुग्नेगरी उनीहरुको अधिकार आफैले लिएका छन् । अहिलेको आन्दोलनमा नेपाल भेटेरिनरी एशोसिएसन (NVA) एकतिर र पशुपलान क्षेत्रमा क्रियाशील ३ वटा संगठनहरु (नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एशोसिएसन (NEVLA), नेपाल पशु स्वास्थ सेवा प्राविधिक संघ (NELTA) र नेपाल एनिमल साइन्स एशोसिएसन(NASA) एकताबद्ध भएर एउटै मोर्चामा एकताबद्ध भएका छन् । बौद्धिक वर्गले आफुलाई मर्का परेका बिषयमा विरोध गर्ने तथा संघर्ष गर्ने तरिका सभ्य, शालिनता, कानूनको शासनको पूर्णपालन हुने गरी गर्नु अपरिहार्य छ । नेभ्ला, नेल्टा, नासा र एनभिए एक अर्काका प्रतिस्पर्धी संस्था नभईकन परिपूरक संस्थाहुन भन्ने कुरा सधैं ख्याल राख्नु पर्दछ । एकले अर्कोलाई सदभावका साथ सहयोग र सम्मान गर्न सक्नु पर्दछ । संघर्षको लागि संघर्ष गर्नुको कुनै औचित्य हुदैन । कृषक तथा उद्यमीहरुलाई कसरी गुणस्तरीय तथा प्रभावकारी सेवा प्रभाव गर्न सकिन्छ भन्ने कुराको सदैव अध्ययन, चिन्तन र मनन गरी सदैव कृषकको सेवामा तल्तिन हुन सक्दा भोली हामीहरु संस्थागत संघर्ष गर्नुको सट्टा किसानहरुको जमात नै शासकहरुलाई घुडा टेकाउन स्वस्फुर्त रुपमा संघर्षमा उत्रने छन नकी कुनै अमुक संस्थाले भाडामा संघर्ष गर्न ल्याएका जमातले कति दिन संघर्ष गर्लान भन्नेकुरा पनि सोच्नु आवश्यक छ । बैतडेली भाषामा एउटा उखान छ “ सिकाएको स्यालले कति दिन पराल खान्छ” भनाइले सार्थकता नपाउला भन्न सकिदैन ।
अन्तमा,
विल रोजर्सका अनुसार संसारमा उत्तम डाक्टर भने कै पशु चिकित्सक हुन । तिनीहरु आफ्ना विरामीहरुलाई नसोधिकनै के भएको हो थाहा पाउछन् ।“The best doctor in the world is the veterinarian. They can’t ask their patients what is the matter – they’ve got to just know. ” Will Rogers भन्ने कुरा नेपालका पशु चिकित्सकको काँधमा पनि आएको छ प्रतिनिधि सभाद्वारा पारित गरिएको “पशु स्वास्थ्य तथा पशु सेवा विधेयक, २०७९” लाई राष्ट्रिय सभाबाट पारित गर्नको लागि एक्यवद्धता जनाएर विश्व सामु बौद्धिक वर्गको पहिचान हुने गरी प्रस्तुत हुन त्यतिकै आवश्यक छ । कवि शिरोमणी लेखनाथ पौड्यालले भने जस्तै “उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ” अवश्य पनि एक पटक सबैले अध्ययन, चिन्तन र मनन गरौं । ज्ञान प्राप्त हुनको लागि अध्ययन, चिन्तन र मनन अपरिहार्य छ यसको अलावा ज्ञान प्राप्त हुन सक्दैन समयमै बुझौं र बुझाऔं । एक अर्काको भडकावबाट सबै टाढा रहौं पशु चिकित्सा पेशाको मान सान राख्नमा हामी सबैले त्याग गरौं ! आज सम्म कसले कति त्याग गर्यो भन्ने कुरा पनि नविर्सौं ।
जय किसान ! जय पशुधन !
(लेखक २०५१ साल देखि नेपाल सरकारको पशु सेवा क्षेत्रमा कार्यरत हुदै हाल भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लगनखेल ललितपुरमा अधिकृतस्तर आठौं पशु विकास अधिकृत पदमा कार्यरत हुनु हुन्छ ।)